|

काठमाडौं : फिल्म 'होस्टेल रिटर्न्स'बाट चर्चामा आएका कलाकार हुन्, नाजिर हुसेन। त्यसअघि धेरै नाटक र एउटा फिल्ममा समेत काम गरेका उनलाई 'होस्टेल रिटर्न्स'को रामेश्वर यादवको भूमिकाले चर्चित बनायो। उनलाई धेरै कलाकारले रामेश्वर यादव भनेर नै चिन्ने गर्छन्।

अहिले चर्चामा रहेका वा व्यस्त बनिरहेका नाजिरको डेब्यु फिल्म 'पुन्टे परेठ' हो। 'पुन्टे परेठ'मा उनी एक कलेज पढ्ने युवाको भूमिकामा थिए। उनलाई त्यहाँ 'कमेडी' पात्रको रूपमा प्रस्तुत गरिएको छ।

फिल्मभन्दा पहिला नाटक

बारामा जन्मिएका नाजिर ११ कक्षाको परीक्षा दिएपछि भने डान्स सिक्ने उद्देश्यले काठमाडौं आए। डान्स सिक्दै गर्दा नाजिरलाई साथीहरूले नाटक खेल्न सुझाव दिए। 'तेरो एक्सप्रेसन पनि यति राम्रो छ। शरीर पनि मिलेको छ। किन थिएटर गर्दैनस्', धेरैले उनलाई भन्थे। 

नाजिरलाई पनि अभिनयमा रुचि थियो। कक्षा ६ पढ्दै गर्दा बारा पुगेका नाटक निर्देशक राजन खडिवडाले उनीहरूलाई नाटकबारे सिकाएका थिए। नाजिर काठमाडौंमा राजनलाई भेट्न मण्डला थिएटर पुगे। राजन, दयाहाङ राई, सिर्जना सुब्बाहरू नाटकघरको तयारी गर्दै थिए। नाजिरले त्यहीँ पुगेर भने, 'मलाई नाटक सिक्नु छ, सिकाइदिनु न !'

मण्डलाले 'चरनदास चोर' नामक नाटकको तयारी गर्दै थियो। त्यसमा कोरसमा रोल दिए नाजिरलाई। उनी सम्झिन्छन्, 'त्यस बेला मैले आफूलाई खुबै भाग्यमानी ठानेँ। केही दिनमा नै मैले नाटक गर्न पाउने भएँ भनेर हर्षित भएँ।' टिममा उनले गरेको कामको प्रशंसा नै भयो। त्यसपछि नाजिर गाउँ फर्किए। गाउँबाटै कक्षा १२ को पढाइ सिध्याए। फर्केर आएपछि मण्डलामा नै काम गर्न थाले। अब नाटकमा उनको यात्रा सुरु भयो।

यसरी आयो फिल्म अफर

नाजिर नाटक जगतमा स्थापित नाम बनिसकेको थियो। रंगमञ्चमा उनको एउटा छुट्टै क्रेज बनिसकेको थियो।

अनामनगरको मण्डला नाटकघरमा नाटक 'डिग्री माइला' चलिरहेको थियो। नाजिर पनि त्यसमा एक पात्र थिए। त्यही बेला फिल्म निर्माता सुवास कोइराला पनि नाटक हेर्न आएका रहेछन्। सुवासको नजरमा नाजिर परेछन्। सुवासले नाजिरलाई फिल्म ‘पुन्टे परेठ’का लागि अफर गरे।

दयाहाङ राईसँग निकट रहेका नाजिरले यो कुरा दयाहाङलाई सोधे। नाजिर भन्छन्, ‘मलाई अफर आउनेबित्तिकै दयाहाङ दाइलाई सोधेँ, दाइ मलाई यस्तो अफर आएको छ गरौँ, कि नाइँ?’ दयाहाङले नाजिरलाई काम गर्न सुझाव दिए।

दयाहाङको सुझावलाई स्वीकार्दै उनले फिल्ममा काम गरे। नाटकमा काम गरिरहेकाले पनि अभिनय गर्न उनलाई खासै गाह्रो भएन। नाजिर भन्छन्, 'क्यामेरा फेस गर्न अलिक गाह्रो भए पनि अभिनय गर्न भने गाह्रो भएको थिएन।'

तर नाजिरले अभिनय गरेको पहिलो फिल्म सफल भएन। फिल्म सफल नभए पनि उनले काम गर्न छोडेनन्। उनले त्यसयता पनि लगतार फिल्ममा काम गरिरहे।

'होस्टेल रिटर्न्स' टर्निङ प्वाइन्ट

प्रदर्शनको हिसाबले दोस्रो भए पनि उनले गरेकामध्ये तेस्रो फिल्म हो, ‘होस्टेल रिटर्न्स।’ होस्टेल रिटर्न्सबाट उनी धेरै दर्शकको रोजाइमा परे। उनको परिचय नै बदलियो। उनलाई नाजिरभन्दा पनि होस्टेल रिटर्न्सको रामेश्वर यादव भनेर चिन्ने धेरै भए। भन्छन्, ‘होस्टेल रिटर्न्स मेरो फिल्म यात्राको टर्निङ प्वाइन्ट बनिदियो।'

त्यसयता नाजिरले धेरै फिल्ममा काम गरेका छन्। उनले फिल्म 'गाँठो' र 'राज्जा रानी'मा मुख्य भूमिका पनि निर्वाह गरेका छन्। तर उनलाई दर्शकले मूख्य भूमिकामा भन्दा पनि सहायक भूमिकामा नै रुचाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.