|

काठमाडौं : देशमै उद्यमशीलता वृद्धि गर्नका लागि नेपालमा पहिलो पटक ‘क्रियटिभ विजनेस कप नेपाल’ अयोजना हुने भएको छ। कपमा सिर्जनशील उद्यमीका व्यावसायिक सोच प्रस्तुत गर्ने, लगानीकर्ताहरूसँग भेट्ने, नेटवर्क विस्तार गर्ने तथा सम्वद्ध देशको सरकार तथा व्यवसायीबीच भेट्ने महत्त्वपूर्ण अवसर हुने आयोजक अन्तर प्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

यस कपमा विज्ञापन, आर्किटेक्ट, डिजाइन, फेसन, फिल्म, भिडियो तथा फोटोग्राफी, म्युजिकलगायतका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन्। आयोजक कम्पनी अन्तर प्रेरणाका अनुसार आवदेन दिने कम्पनी बजारमा संभावना बोकेको, दर्ता भएको तथा व्यापारिक हुनुपर्नेछ। आवदेन दिन अगस्ट ५ सम्मको समय आयोजकले दिएको छ।

यस कपमा उत्कृष्ट हुने एक कम्पनीका प्रतिनिधिले नोभेम्बरमा डेनमार्कको कोपनहेगनमा हुने विश्वव्यापी उद्यमीबीचको प्रतिस्पर्धामा भाग लिने अवसर पाउनेछन्। कोपनहेगनको प्रतिस्पर्धामा समेत उत्कृष्ट भएमा सात हजार युरोका साथै अन्य पुरस्कार पाउन सक्नेछन्। अन्तर प्रेरणाका अध्यक्ष ओम राजभण्डारीले अहिले पनि जागिर र विजनेस दुवै एकैसाथ दिएमा युवाले जागिर नै रोज्ने परम्परा भएको बताए। 'हामी यो कपबाट उद्यमशीलतामा युवाहरूलाई प्रेरित गर्न चाहन्छौँ', राजभण्डारी भन्छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले नेपालमा पर्याप्त संभावना भएको र यसलाई विदेशमा पनि देखाउनु जरुरी भएको बताए। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएमा नेपाली प्रतिभामा अझ निखार आउने वैद्यको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.