|

विराटनगर : गुणस्तर कायम गर्न नसक्ने भएकाले नयाँ मेडिकल कलेजहरूलाई तत्काल सम्बन्धन नदिन डा. गोविन्द केसीको मागसहितको १५औँ अनसन समाप्त भएको केही दिनमै संचालनमा रहेको मेडिकल कलेजको बदमासी बाहिर आएको छ। मोरङको बुढीगंगा गाउँपालिका- १ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलको फार्मेसीले नक्कली औषधि बिक्री गर्ने गरेको पाइएको छ। 

डा. ज्ञानेन्द्रमानसिंह कार्की संचालक रहेको विराट मेडिकल कलेजको फार्मेसीले नक्कली र नेपालमा प्रतिबन्धित औषधि बिक्री गरिरहेको पुष्टि भएको हो। तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीका भाइ डा. ज्ञानेन्द्रले अख्तियारको प्रभाव र नेपाली कांग्रेससँगको निकटताका कारण बिना मापदण्ड चोर बाटोबाट मेडिकल कलेज संचालनको अनुमति पाएको विषय उठिरहँदा कलेजको फार्मेसीको बदमासी बाहिर आएको हो।

विराटनगरका ठूला अस्पतालहरूले खुलेआम नक्कली औषधि बिक्री गर्ने गरेको सूचनाअनुसार छापा मार्दा प्रहरीले त्यस्ता औषधिसहित विराट मेडिकल कलेजभित्र रहेको महुली फार्मेसी र सोही कलेज मातहतको विराटनगरस्थित विराट अस्पतालभित्रको मेड प्लस फार्मेसीमा पनि नक्कली र अवैध औषधि बिक्री हुने गरेको पाइएको जनाएको छ। प्रहरीले मेड प्लसका संचालक सप्तरी महुली- ५ का ३० वर्षीय प्रशान्तकुमार चौधरीलाई पक्राउसमेत गरेको छ। आइतबार राती प्रहरीले उनलाई पक्राउ गरेको हो।

लामो समयदेखि नक्कली अाैषधिको कारोबार गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेपछि मानव स्वास्थ्यसँग जोडिएको अाैषधि ठूला अस्पतालका फार्मेसीबाटै बिक्री गर्ने गरेको पाइएको थियो। नक्कली अाैषधि बिक्री गर्ने गरेको सूचना प्रहरीले पाएपछि विराट मेडिकल कलेजसहित पाँचवटा अस्पतालका फार्मेसीहरूमा छापा मारेको थियो। छापा मार्ने क्रममा ठूलो परिमाणको नक्कली र अवैध औषधि फेला पारेको प्रहरीले बताएको छ। नक्कली र अवैध औषधिको कारोबार गर्ने धरान उपमहानगरपालिका- ४ बस्ने ३२ वर्षीय जीवन अग्रवाललाई पक्राउ गरेपछि उनले त्यस्ता औषधि सप्लाई गर्ने फार्मेसीमा प्रहरीले छापा मारेको थियो।

प्रहरीले नक्कली अाैषधि बिक्री गर्ने दुई जना फार्मेसीका संचालकलाई समेत पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए। प्रहरीले विराटनगरको महेन्द्रचोकमा रहेको म्याक्स हस्पिटलभित्र रहेको लङलाइफ फार्मेसीका संचालक विराटनगर- १० का ३३ वर्षीय दीपककुमार राय र विराटका चौधरीलाई पक्राउ गरेको हो।

भारतबाट अवैध रूपमा ल्याएको अवैध तथा नक्कली अाैषधि फार्मेसीहरूले खुलेआम बिक्री गर्दै गरेको सूचनाअनुसार छापा मारिएको थियो। विराटनगर हस्पिटल चोकमा रहेको गोल्डन हस्पिटलमुनिको गोल्डेन फार्मेसी (फेमेली), बुढीगंगा गाउँपालिका- १ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलभित्र रहेको महुली फार्मेसी, विराट अस्पतालभित्र रहेको मेडिप्लस फार्मेसी, न्युरोमा रहेको लाइफ सपोर्ट फार्मेसी र विराटनगरको महेन्द्रचोकमा रहेको म्याक्स हस्पिटलमुनिको लङलाइफ फार्मेसीमा प्रहरीले छापा मारेको थियो।

प्रहरीले पाँचवटा फार्मेसीबाट विभिन्न ६६ प्रकारका नक्कली अाैषधिहरू तीन हजार ४४ थान बरामद गरेको छ। ‘भारतबाट आयात गरिएको कम गुणस्तरको अाैषधि ल्याएर बिक्री गरेको पाइयो’, एसपी केसीले भने, ‘एउटा औषधिमा अर्कै लेभल लगाएर औषधि बिक्री गर्दा रहेछन्।’ बरामद गरेको अधिकांश अाैषधि आइसियुमा प्रयोग हुने महँगा अाैषधि हुन्। 

फार्मेसीले नक्कली अाैषधिमा लेभल लगाएर सक्कली बनाएर बिक्री गर्ने गरेको पाइएको छ। प्रहरीको अनुसार एउटा अाैषधिबाट फार्मेसीहरूले दोब्बर मुनाफा लिएर लिएर बिरामीहरूलाई बिक्री गर्दै आएको स्वीकारेका छन्। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि औषधि व्यवस्था विभाग, विराटनगर शाखामा पठाइएको मोरङ प्रहरीले जनाएको छ। यसअघि प्रहरीले गोल्डेन अस्पतालको फार्मेसीका संचालकलाई चर्को मूल्यमा औषधि बिक्री गरेको आरोपमा पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.