|

काठमाडौँ : सत्तारुढ नेकपा माओवादी केन्द्रले भदौ ११ गते बोलाएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक दुई पटक स्थगित गर्दै मंसिर २ र ३ गते पुर्‍याएको छ। 

शुक्रबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले यसअघि कात्तिक ११ र १२ गतेका लागि बोलाइएको राष्ट्रिय भेला पछाडि सार्दै मंसिर २ र ३ गते गर्ने निर्णय गरेको हो। यसअघि भदौ ११ गते भृकुटीमण्डपमा गर्ने तय भएको बैठक तयारी नपुगेको भन्दै कात्तिक ११ र १२ गतेलाई सारिएको थियो। 

किन सर्‍यो राष्ट्रिय भेला

आकांक्षीहरुको संख्या बढ्दै जाँदा संगठन विस्तार लगायत सांगठनिक काम कारबाहीमा असर परेको निश्कर्ष निकाल्दै माओवादी केन्द्रले २५ सय सदस्यीय महाधिवेशन आयोजक समिति घटाएर सानो आकारको समिति बनाउन भन्दै असोज ८, ९ र १० गते हेडक्वार्टर बैठक बोलाएको थियो। तर बैठकमा सिनियर जुनियर विवादले उग्र रुप लिएपछि राष्ट्रिय भेलामार्फत सानो आकारको केन्द्रीय समिति बनाउने सहमतिसहित माओवादी केन्द्रले कातिक ११ र १२ गतेका लागि राष्ट्रिय भेला बोलाएको थियो। 

एकताअघिको एमाओवादी र एकतामा आएका अन्य माओवादीबीचमा सिनियर र जुनियर विवाद भएपछि संगठन समायोजन समिति संयोजक वर्षमान पुनको प्रस्तावमा राष्ट्रिय भेला बोलाउन माओवादी केन्द्रका हेडक्वार्टर सदस्य सहमत भएका थिए। 

पुन नेतृत्वको टोलीले सानो आकारको केन्द्रीय समिति बनाउने विषयमा आन्तरिक रुपमा छलफल समेत थालेको थियो। छलफलबाट पनि निष्कर्ष ननिस्केपछि माओवादी केन्द्रले फेरि गृहकार्यमा जुट्ने भन्दै राष्ट्रिय भेलाको मिति सारेको स्रोतको दावी छ। नेता पुनले भने अनौपचारिक वा औपचारिक रुपमा भेला, तयारी र अन्य सांगठनिक विषयमा छलफल जारी नै रहेको बताए। छलफलले निष्कर्ष नपाउँदा भेला स्थगित भएको भन्ने भनाईमा भने उनले सहमति जनाएनन्। 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टीभित्रको समस्याका कारण नभई मुलुकको राजनीतिक अवस्थाका कारण भेला सारिएको बताइन्। मधेस केन्द्रित दल, आदिवासी जनजाति र थारु समुदायले उठाएका माग संबोधन गर्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न छलफलमा जुट्नुपर्ने भएकाले भेला स्थगित गरेको उनको भनाइ छ। ‘पार्टीका शीर्ष नेतृत्व जनजाति, मधेसी, थारु लगायत प्रुमख प्रतिपक्षी एमालेसँग संविधान संशोधनका विषयमा घनिभूत छलफलमा जुट्नुपर्ने छ। त्यसले गर्दा भेलाका लागि समय अपुग हुने भएकाले भेला स्थगित भएको हो’ भुसालले भनिन्। 

के छ माओवादीको तयारी?

राष्ट्रिय भेलामार्फत सानो आकारको केन्द्रीय समिति बनाई संगठन विस्तारमा लाग्ने माओवादीको तयारी छ। स्थानीय तहको निर्वाचनको तयारी र प्रचारप्रसारमा पार्टीका सबै कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने भएकाले सानो आकारको केन्द्रीय समिति बनाउन पार्टी लागि परेको माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटा बताउँछन्।

‘चैतमा सम्भव नभए वैशाख पहिलो सातासम्ममा स्थानीय तहको निर्वाचन हुन्छ र गर्नुपर्छ, त्यसैले ठूलो आकारको केन्द्रीय समिति हुँदा संगठन विस्तारमा केही अप्ठ्यरो परेकाले हामी सानो आकारको केन्द्रीय समिति बनाउन लागि परेका छौं, भेलामार्फत हामी सानो चुस्त दुरुस्त संगठन निर्माण गर्छौं’ उनले भने।

भेलामार्फत ४ सय ९९ जनाको केन्द्रीय समिति बनाउने माओवादी केन्द्रको तयारी छ। यद्यपी एकताअघिको एमाओवादी समूहले ४ सय ९९ जनाको केन्द्रीय समिति बनाउने प्रस्तावमा सहमति जनाएका छैनन्। 

के-के हुन्छ भेलामा?

माओवादी केन्द्रको शुक्रबार बसेको हेडक्वार्टर बैठकले आगामी मंसिर २ र ३ गते काठमाडौंस्थित भृकुटीमण्डपमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। भेलामा सहभागी हुन मंसिर १ गतेभित्र सम्बन्धित सबैलाई सम्पर्कमा आउन सम्बन्धित सबैलाई परिपत्र गरिसकेका नेता सापकोटाको भनाई छ। 

भेलामा पार्टीको आगामी कार्यनीति तथा रणनीतिका साथै सांगठनिक प्रतिवेदन अध्यक्ष प्रचण्डले पेश गर्नेछन्। अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि दुई दिनसम्म छलफल भएपछि पार्टीको केन्द्रीय समिति सदस्य कति जनाको बनाउने भन्ने विषयले निष्कर्ष पाउने उनको भनाई छ। भेलामा २४ सय ८३ जना महाधिवेशन आयोजक समिति सदस्य सहभागी हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.