|

बागलुङ : जिल्लामा जनता आवास कार्यक्रम प्रभावकारी बन्दै गएको छ। आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा संचालित कार्यक्रममार्फत कुमाल र दलित समुदायले लाभ लिन पाएका छन्। 

जनता  आवास  कार्यक्रममार्फत बागलुङमा ११७ परिवारको घर बनाइएको हो। शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको अगुवाइमा खोलामा माछा मारेर निर्वाह गर्दै आएका खरवाङका कुमालदेखि घरवारविहीन भएका दलित समुदायमा पनि यो अभियान चलाइएको हो। आवास कार्यक्रममार्फत घर बनाउन पाएपछि उनीहरूको खुसीको सीमा छैन। बडिगाड २ का हिराबहादुर रानाले भने, ‘बिहान खाए बेलुकी के खाउँ छ। घर बनाइएला भन्ने सोचेको थिइन्। अहिले जस्ता पाताले छाएर बस्न पाइयो।’ 

खरको झुपुडी बर्षातमा चुहिन्थ्यो। सबै परिवार एकै ठाउँमा सुत्नु पथ्र्यो। पानी चुहिएपछि रातभर प्लाटिक ओठेर बसेको उनको तितो अनुभव छ। एउटै स्थानमा पकाउने, खाने सुत्ने र सामान राख्ने भएकोले सास्ती खेपेर बसेको रानाको झुपडी भत्काएर नया“ र भूकम्प प्रतिरोधी घर बनेको छ। एक वर्षदेखि संचालनमा आएको जनता आवास कार्यक्रमले बडिगाढ-२ खरवाङमा मात्र १५ घर निर्माण थालिएको हो। केही घर सम्पन्न भएका छन् भने केही निर्माणाधीन छन्। नयाँ घर पाएपछि कुमालवस्तीमा खुसीयाली छाएको छ। 

बालुवा बोक्ने र माछा मार्ने काम गरेका कुमालहरूलाई आफ्नै पक्की घर बनेपछि वर्षातमा धेरै राहत मिलेको छ। ‘खाना पकाउने अन्न र दाउरा समेत जोगाउन सकिएको थिएन’ रानाले भने,‘अहिले ठूलो घरमा बस्न पाइयो।’ उनीहरूले घरकै छेउमा शौचालय समेत बनाएर सरसफाई अभियान समेत चलाएका छन्। डिभिजनले बागलुङका लोपोन्मुख, दलित र अल्पसंख्यकहरू मध्ये ११७ परिवारको लागि भूकम्प प्रतिरोधी घर निर्माणको काम गरी दिएको छ। केही घर निर्माण सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुने क्रममा छन्। ‘जनता आवास कार्यक्रम’ मार्फत डिभिजनले आफ्नै प्राविधिक खटाएर भवन निर्माण भएको हो। त्यस्तै त्यसका लागि प्रतिपरिवार दुई लाख रुपैयाँ नगद र प्राविधिक सहयोग जुटेकाे छ भने उपभोक्ताले पनि लगानी र श्रमदान गर्नुपर्छ। उनीहरूले ज्यालादारी काम गरेको केही रकम र नियमित श्रम खर्चेर घर निर्माण सम्पन्न गरेका छन्।

आबास बनेपछि खरवाङकी रेवती कुमाल सबैभन्दा खुसी भएकी छन्। दशवर्ष अघि श्रीमानको निधन भएकोले छोराछोरी हुर्काउन उनले ठूलो सास्ती खेप्नु प¥यो। खरको छाना समेत छाउन सकेकी थिइनन्। कमाईगर्ने श्रीमानको निधनपछि उनले वर्षभरि मजदुरी गरेर दुई छाक खान्थिन्। खरको छाना चुहिएको थियो। 

अहिले जस्तापाताले छाएको र सिमेन्ट लगाएको घरमा बस्न पाएको सपना जस्तै भएको बताइन्। ‘अर्काको घर देखेर चित्त बुझाएकी थिए। अहिले फराकिलो र ठूलो घरमा बस्न पाइयो’ उनले भनिन्,‘अब सबै छोराछोरी जुटेको दिन रमाइलो गरेर बस्न सकिने भयो।’ उनले घरमा अटाउन समेत नसकेपछि छोरीहरूलाई साहू महाजनको घरमा काम गरेर खान पठाएकी थिइन्। केही छोरीले साहूको घरमा काम गरेर पनि पढेका छन्। ठूलीकान्छी धनमायाले साहूकै घरमा बसेर कक्षा १२ सम्म पढेको बताइन्। ‘अब त सुरक्षित घर बनेको छ। अब आमासँगै बस्ने योजना बनाएकी छु।’

जिल्लाभरका बिपन्न र लोपोन्मुख मध्ये बडिगाड २ मा मात्र १५ घर कुमालहरू आवास कार्यक्रमको छनाेटमा परेका थिए। ‘यहाँ अझै घर बनाउन नसक्नेहरू धेरै छन्’ डिभिजन प्रमुख प्रकाश अर्यालले भने, ‘पहिलो चरणमा १५ जना छनोटमा परेका हुन्। अर्को वर्षको कार्यक्रममा बाँकी समावेश हुन्छन्।’ आवास निर्माण भएका परिवारलाई घर हस्तान्तरण गरिएको छ।

परंपरागत पेशा माछामार्ने भए पनि आजकल पुरानो पेशाले पालिन छाडेपछि कुमालहरूको आर्थिक अवस्था निकै कमजोर भएको छ।  यहाँका अधिकांश कुमालका बालबालिकाहरू होटल, रेष्टुरेन्ट र साहूको घरमा बसेर काम गर्न बाध्य छन्। काम गरेर बचेको समयमात्र विद्यालय जाने गरेका छन्। उनीहरूका लागि स्थानीय तह र विद्यालयहरूले छात्रवृत्तिको कार्यक्रम राखी दिएकोले विद्यालय भने जान थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.