|

काठमाडौं : महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण सुरु गरेको छ। मंगलबार महालेखा परीक्षक टंकमणि शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटगरी आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षणको काम आजैबाट सुरू गरिएको जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीकै अग्रसरतामा महालेखा परीक्षकको कार्यालयको लेखा परिक्षण योजनासम्बन्धि बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजना गरिएको हो।  बैठकमा महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण कार्य योजना सार्वजनिक गरेको छ।

 माघ मसान्त भित्र सम्पन्न हुने गरी लेखा परीक्षणको काम सुरु गरिएको महालेखा परीक्षक शर्माले बताए। चैत्र मसान्तभित्र राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश हुनेगरी महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणको काम सुरु गरेको कार्य योजनामा उल्लेख गरिएको छ।

महालेखा परीक्षकको कार्यालयले लेखासम्बन्धि सबै विवरण दुरुस्त राख्न उत्तरदायी लेखा अधिकृतको रुपमा रहेका सबै मन्त्रालयका सचिव र सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ। २०१६ सालमा स्थापना गरिएको महालेखा परीक्षकको कार्यालय लेखा परीक्षण गर्ने मुलुकको सर्वोच्च संवैधानिक निकाय हो। यसले हरेक वर्ष मुलुकका सबै सरकारी निकायको लेखा परीक्षण गरी यसको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्दछ। महालेखा परीक्षकको कार्यालयले बेरुजु नहुने गरी खर्च गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.