|

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका ५ रेडक्रस चोकस्थित उकालोमा फालेको फोहोर उठाउने विषयमा स्थानीय बासिन्दा र नगरपालिकाका कर्मचारीबीच भना भन भएको छ। बनेपा नगरपालिकाले नगरकाे फोहोर व्यवस्थापन गर्न नसक्दा चोक र गल्लीहरूमा फोहोरको डंगुर थुपारिएकाेले सडकमा आवत जावत गर्न समस्या परेको हाे। 

बनेपा नगरपालिका भवनको मुख्य गेट अगाडि नै फोहोर थुप्रेका कारण सेवाग्राहीहरू र कार्यरत कर्मचारीहरू समेत मुख थुनेर हिड्नुपर्ने अवस्था छ। स्थानीय बासिन्दाले बुधबार विहान सडकमा नै फोहोर थुपारेर बाटो नै बन्द गराएपछि शिर मेमोरियल अस्पताल र चण्डेश्वरी मन्दिर जाने सडकखण्डमा पनि बन्द गरी दिएका थिए। बाटो बन्द भएपछि वडा ५ अध्यक्ष बलराम अधिकारी लगायत नगरपालिकाका कर्मचारीहरूले फोहोर उठाउने विषयमा स्थानीय वासिन्दासँग गरिएको छलफलमा समाधान निकाल्नुको साटो थप विवाद चर्केको हो।

स्थानीय वासिन्दाले समयमा फोहोर उठाउने गाडी नपठाएको, गाडी पठाए पनि व्यवस्थित तरिकाले फोहोर नउठाएको र उठाउने काम निरन्तर नभएकाले बाटोमा हिडडुल गर्नेदेखि वरिपरिका बासिन्दाले सास्ती व्याेहोर्नु परेकाले बाटो बन्द गर्न बाध्य भएको बताएका छन्। वडा अध्यक्ष बलराम अधिकारीले भने समय समयमा फोहोर उठाउने कामलाई व्यवस्थित गर्न पहल भइरहेको बताए।

बलराम अधिकारीले भने, 'नगरपालिकाको तर्फबाट सकेको गरिरहेको छ। स्थानीय बासिन्दाले पनि आफ्नो टोल र वरिपरि सफा गर्ने दायित्वलाई विर्सन हुँदैन।'  नगर प्रमुख लक्ष्मी नरसिंह बादेले नगरभित्रको फोहोर उठाउनका लागि पब्लिक कम्पनीलाई अनुमति दिइसकेको बताए। उनले त्यसको लागि कम्पनीको फोहोर उठाउने स्रोत र साधनकाे व्यवस्था गरुन्जेल सम्मका लागि नगरपालिकाको तर्फबाट नै पहल गरी समस्याकाे समाधान गर्न लागेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.