|

दार्चुला : भारतको बाटो प्रयोग गर्ने नेपालीहरूलाई वडा कार्यालयले निशुल्क जिप सेवा दिने भएको छ। व्याँस गाउँपालिकाका विभिन्न वडाबाट सदरमुकाम दार्चुला पुग्न भारतीय सडकको प्रयोग गरिन्छ। 

सदरमुकामसम्म आवतजावत गर्ने स्थानीयको यात्रालाई सहज बनाउन व्यास गाउँपालिका-३ ले निशुल्क जिप सेवा दिने निर्णय गरेको हो। प्रत्येक दिन स्थानीयले भारतीय बाटो र जिप प्रयोग गर्नै पर्ने बाध्यता र समयमा जिप नपाइने भएका कारण स्थानीयको यात्रालाई सहज बनाउन यस्तो निर्णय गरिएको वडाध्यक्ष उपेन्द्रसिंह धामीले बताए।

व्याँसका स्थानीयलाई भारतमा यात्रा गर्दा निकै असहज भएको भएकाले वडा कार्यालयले स्थानीयको आवत जावत सहजता प्रदान गर्न स्थानीयका लागि प्रत्येक आइतबार निःशुल्क यातायात सेवा सञ्चालन गर्ने वडा-३ का वडाध्यक्ष धामीको भनाई छ। स्थानीयका लागि भारतको बाटोमा आवत् जावतमा सहजताका लागि प्रत्येक हप्ताको आइतबार विहान ८ बजे धारचुलाबाट छुट्ने र विहान साढे १० बजे बर्तिघाँटबाट गाडी धारचुला फर्किने गरी निःशुल्क जीप सेवा सञ्चालन गरिएको वडाध्यक्ष धामीको भनाई छ।

दार्चुलाका व्याँस गाउँपालिका स्थानीयहरूले सदरमुकामसम्म पुग्न भारतीय सडक र सवारी साधनको प्रयोग गर्दछन्। नेपालको बाटो भएर सदरमुकाम पुग्ने बाटो गोरेटो मात्रै छ त्यो पनि प्रयोगविहीन र निक्कै समय लाग्ने। त्यसकारण ब्याँसीवासीले सदरमुकामसम्म पुग्न भारतीय बाटो नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय मानसिह कुवँर बताउँछन्। 

दार्चुला तिंकर सडकखण्डकाे काम पूरा भएपछि यो अवस्थाकाे अन्त्य हुने पनि उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.