|

काठमाडौं : शिवानी गिरी फिल्म क्षेत्रकी नयाँ अनुहार हुन्। उनी अभिनित फिल्म 'कहीँ कतै' साउन २५ गतेबाट प्रदर्शनमा आउँदै छ। उनले यसै फिल्मबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्।

उनी अभिनित फिल्मको ट्रेलर तथा गीत रिलिज भइसकेको छ। ट्रेलर तथा गीत हेरेका दर्शकले उनलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्। फिल्म क्षेत्रमा स्थापित हुने सोचसहित यस क्षेत्रमा आएको शिवानीको भनाइ छ।

उनले एक साप्ताहिक पत्रिकाका लागि खिचाएको तस्वीरले पनि उनको चर्चा निकै भयो। उनले त्यहाँ निकै हट पोजमा तस्वीर खिचाएकी थिइन्। उनलाई सुन्दरीसँगै ग्ल्यामरस नायिकाको पनि उपमा दिन थालिएको छ।

फिल्ममा रुचि

शिवानीलाई सानैदेखि ठूलो पर्दामा देखिने सोख थियो। उनका लागि फिल्म क्षेत्र सपना नै थियो। उनी भन्छिन्, 'मेरो सानैदेखिको सोच भनेको नै फिल्ममा अभिनय गर्ने नै थियो।'

शिवानीकी ममी नेपाली फिल्म क्षेत्रमा बोल्ड नायिकाको उपमा पाएकी नायिका उमा 'बेबी' गिरी हुन्। परिवारको मुख्य मान्छे नै फिल्म क्षेत्रमा भएका कारण पनि आफूलाई फिल्म क्षेत्रमा झनै चासो बढेको शिवानीको तर्क छ। 'ममी यही क्षेत्रमा हुनुहुन्छ। त्यसैले पनि मलाई यो क्षेत्रमा आउने इच्छा जागेको हो।'

सिक्किममा बसोबास गर्ने शिवानीले मिस भारतको उपाधि पनि जितेकी छन्। मिस भारतको उपाधि जितेकाले पनि फिल्म क्षेत्रमा काम गर्ने हैसला मिलेको शिवानी बताउँछिन्। भन्छिन्, 'जब मिस भारत जितेँ, त्यसपश्चात् झनै फिल्म क्षेत्रमा काम गर्ने इच्छा बढेर आयो।'   

आफ्नै व्यानरबाट डेब्यु

शिवानी आफ्नै ममीले निर्माण गरेको फिल्मबाट डेब्यु गर्दै छन्। धेरैले उनलाई किन आफ्नो व्यानरबाट डेब्यु गरेको भन्ने प्रश्न पनि गरिरहेका छन्। तर उनी आफ्नो र अर्काको व्यानरभन्दा पनि राम्रो काम गरेर दर्शकलाई आफ्नो बानाउने तर्क राख्छिन्। 'मलाई व्यानरले केही असर गर्छ जस्तो लाग्दैन', उनी भन्छिन्, 'म आफ्नो ट्यालेन्ट देखाएर अगाडि बढ्नेछु।'

ममी यही क्षेत्रमा भएका कारण फिल्म क्षेत्रमा आउन सहज भएको कुरामा उनी सहमत छन्। 'ममी यही क्षेत्रमा भएका कारण मलाई डेब्यु गर्न सजिलो भएको हो तर ममीको फिल्म भनेर अनुबन्धित भएको होइन', उनले भनिन्।

सरप्राइजसहित फिल्ममा अनुबन्धित

फिल्मको पटकथा तयार हुँदासम्म शिवानी यस फिल्ममा अनुबन्धित थिइनन्। फिल्मका लागि नायिकाको खोजी भइरहेको थियो। तर शिवानीले मिस भारत जितेपछि उनकी ममी अर्थात् कहीँ कतै निर्मात्री उमा बेबीले शिवानीलाई सरप्राइज तरिकाले फिल्ममा अनुबन्धित गराएकी थिइन्।

शिवानी सम्झिन्छिन्, 'म फिल्ममा आउने कुरा केही थिएन। पछि एक्कासि एउटा कार्यक्रममा म फिल्ममा भएको भन्नुभयो। म त सरप्राइज भएकी थिएँ।'

उनी फिल्म छायांकन सुरु हुनै लाग्दा फिल्ममा अनुबन्धित भएकी थिइन्। त्यसैले उनले फिल्मका लागि कुनै वर्कसप तथा ट्रेनिङ लिइनन्। तर फिल्ममा राम्रो काम गरेकामा उनी विश्वस्त छन्। 'मैले वर्कसप पनि लिएको छैन। तर छायांकनको क्रममा मैले मेरोतर्फबाट शत प्रतिशत काम गरेको छु', उनी भन्छिन्, 'आशा छ दर्शमले मेरो काम मनपराइदिनुहुन्छ होला।'

शुद्ध उच्चारणमा समस्या

सिक्किममा बसेर नेपाली फिल्ममा काम गर्दा हुने गाह्रो के रहेछ? थाहाखबरको प्रश्नमा मुस्कुराउँदै शिवानी भन्छिन्, 'शुद्ध उच्चारण गर्न नसक्नु नै मुख्य समस्या रहेछ। अरू त सबै ठीकै छ। सायद उता (भारत) बसेकाले पनि होला, शुद्ध नेपाली बोल्न गाह्रो भएको अब त्यो पनि सुधार हुनेछ।'

कुरा गरिरहँदा पनि उनलाई नेपाली बोल्न छेवैमा बसेकी उनकी ममीले सिकाइरहेकी थिइन्। यही देखेर पनि हामीले उनलाई यो पश्न गरेका थियौँ।

आशावादी छन् शिवानी

यस फिल्मबाट आशावादी छन् शिवानी। फिल्ममा राम्रो काम गरेकाले पनि दर्शकले फिल्मलाई रुचाउने उनको तर्क छ। आफ्नो पहिलो फिल्म भए पनि डरभन्दा पनि उत्साह बढी भएको उनी बताउँछिन्। भन्छिन्, 'ममा डरभन्दा पनि उत्साह बढी छ। कारण, राम्रो काम गरिएको छ। पक्कै दर्शकको राम्रो साथ पाउनेछौँ।'

शिवानी नेपाली फिल्म क्षेत्रमा स्थापित हुने सोचसहित आएकी बताउँदै भन्छिन्, 'म अभिनय गरेर नै फिल्म क्षेत्रमा स्थापित हुन चाहन्छु।' शिवानीले एक नयाँ फिल्ममा पनि काम गरिसकेकी छन्, जुन फिल्मको हाल पेस्ट प्रोडक्सनको काम भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.