|

काठमाडौं देश संघिय संरचनामा गएसँगै सशस्त्र प्रहरी बलले पनि आफ्नो संरचनामा परिवर्तन गर्ने भएको छ। सशस्त्र प्रहरी बलले अब देशभरका ७७ वटै जिल्लामा आफ्नो स्थायी कार्यालय स्थापना गर्ने र सातवटै प्रदेश र उपत्यकामा गरी ८ वटा बाहिनी स्थापना गर्न लागेको हो। हाल सशस्त्र प्रहरी बलको ४१ जिल्लामात्रै स्थायी कार्यालय र पाँचवटा बाहिनी रहेका छन्।  

२७ जेठको मन्त्रिपरिषद् बैठकले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण– २०७५’ पारित गरेपछि सशस्त्र प्रहरीले देशभर आफ्नो सक्रियता बढाउन लागेको हो।

सीमा सुरक्षा कार्यालय थप्ने

हाल सशस्त्र प्रहरी बलको २३७ स्थानमा मात्र रहेको सीमा सुरक्षा कार्यालयलाई बढाएर ६२१ बनाउने भएको छ। त्यस्तै सीमा सुरक्षा तथा निरीक्षणका लागि परिचालन हुने बोर्डर आउट पोस्ट (बीओपी) को संख्यालाई समेत बढाउने भएको छ। हाल ८७ स्थानमा रहेको बिओपीलाई गणबाट परिचालन हुने गरि आवस्यकता अनुसार थपिने सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले बताए। 

बाहिनी प्रमुखमा डिआइजी प्रमुख

सशस्त्र प्रहरीले हाल कायम रहेको ५ वटा बाहिनीको संख्यालाई बढाउने भएको हो। ७ वटै प्रदेशमा बाहिनी र उपत्यकामा १ गरी देशभर ८ वटा बाहिनी रहनेछन्। बाहिनीको नेतृत्व सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले गर्नेछन्। यस अघि सशस्त्रको प्रदेशमा रहने बाहिनीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) रहने की डिआइजी रहने भन्ने टुङ्गो लागेको थिएन्। हाल सशस्त्रमा १६ जना डिआइजी रहेका छन्। जिल्लामा रहने गु्ल्ममा भने प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रमुख रहेने छन्।

त्यस्तै सशस्त्र प्रहरी बलले सबै प्रदेशमा तालिम केन्द्र समेत राख्ने तयारी गरेको छ। सशस्त्र प्रहरीले लैङ्गिक समावेशीतालाई आधार मानेर केन्द्रीय कार्यालयमा महिला कर्मचारीको मात्रै छुट्टै गुल्म राख्ने योजना अगाडि सारेको छ। 

हालसम्म सरुवा प्रकृया समेत परिवर्तन गरेर अबदेखि युनिट सरुवा प्रणाली लागू गर्ने सशस्त्रको तयारी छ। यसअघि सशस्त्रमा व्यक्तिगत रूपमा सरुवा हुने गरेको थियो। 

३७ हजारमध्येबाट पद पूर्ति गरिने

सशस्त्र प्रहरीमा हाल कुल ३७ हजार १ सय १७ जना कार्यरत रहेका छन्। तर तत्कालका लागि हाल रहकै जनशक्तिलाई नयाँ संरचनामा रूपान्तरण गरिने सशस्त्र प्रहरी बलले जनाएको छ। प्रहरीले सीमा सुरक्षा तथा व्यवस्थापन, विपद् व्यवस्थापन, दंगा तथा विद्रोह नियन्त्रण, पृथकतावादी तथा आतंकवादी गतिविधि नियन्त्रण, विशिष्ट व्यक्तिको सुरक्षा, औद्योगिक क्षेत्र र नेपालस्थित कूटनीतिक नियोगहरूमा सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.