सामुदायिक वनमा सालक सर्भेक्षण

|

चितवन : चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको एक अध्ययनले देखाएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ वटा सामुदायिक वनमा गरेको अध्ययनमा सामुदायिक वनमा सालकको उपस्थिति राम्रो पाइएको कोषका संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिए। चितवनको पाँच, मकवानपुरको ७ र गोरखाको ४ वटा सामुदायिक वनमा अध्ययन भएको थियो।

 हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा ती सामुदायिक वनमा गएको फागुन ९ गतेदेखि वैशाख २० गतेसम्म सालकको अध्ययन गरिएको थियो। अहिलेसम्म सालकको अध्ययन न्यून भइरहेकाले अवस्था के छ भनेर पत्ता लगाउन यसरी अध्ययन गरिएको भट्टराईले बताए।

अध्ययन प्रतिवेदनबारे जानकारी दिँदै उनले नेपालमा पाइने तामे र कालो सालकमध्ये क्यामेरामा भने कालो सालक मात्रै फेला परेको बताए। पूर्वी नेपालमा कालो सालक पाइन्छ भने पश्चिम नेपालमा तामे सालक पाइन्छ। चितवन मकवानपुर र गोरखा आसपासमा दुवैथरीका सालक पाइने भए पनि यसपटकको सर्वेक्षणमा भने कालो मात्रै फेला परेको जनाइएको छ।

क्यामेरा ट्रापिङ विधिअन्तरगत गरिएको अध्ययनमा ६ वटा सामुदायिक वनमा म्यामेरामा कैद भएको र अन्य क्षेत्रमा भने सालकको गतिविधि प्रशस्त पाइएको छ। कतिपय स्थानमा तस्करहरूले सालक बस्ने दुलो खनेर निकाल्ने गरेको पाईएकाले संरक्षणमा चुनौती रहेको पुष्टि भएको संरक्षण अधिकृत भट्टराईले बताए।

यसका लागि जनचेतना फैलाउनु जरुरी रहेको अध्ययनको निष्कर्ष छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल सालक बढी तस्करी हुने प्रजाति भएकाले संरक्षण, अध्ययन र सचेतनामुलक सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिन्छन्।

कतिपय स्थानमा स्याल र वन बिरालोले समेत आक्रमण गर्ने गरेको र कुनैबेला एउटै दुलोमा दुम्सि र कुनैबेला सालकसमेत बस्ने गरेको अध्ययनमा पाइएको छ। 'हामीले मुख्यगरी संख्या कति छन्, भन्दा पनि अवस्था अध्ययन गर्न खोजेका हौँ, भट्टराईले भने, अब नियमित अध्ययन गर्ने र सचेतना फैलाउने काममा लाग्छौँ।'

लजालु स्वभावको स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा अवैध व्यापार हुन्छ। यसको नेपालमा खासै अध्ययन भएको छैन। विश्वमा ८, एसियामा ४ प्रजातिका सालक पाइन्छ। नेपालमा भने कालो र तामे सालक पाइन्छ। एक वर्षमा यसले ७ करोड किरा धमिरा खाने हुनाले पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न भूमिका खेल्छ।

सालक तस्करप्रति चिन्ता

अध्ययनका क्रममा सालकको वासस्थान(दुलो) खनेरै तस्करी हुने गरेको पाइएपछि संरक्षणकर्मीहरूले चिन्ता प्रकट गरेका छन्। मुख्य गरी सालकको खबटा गरगहना तथा सजावटका लागि तस्कर हुने गरेको भन्दै गाउँगाउँमा सचेतना फैलाउन जरुरी रहेको संरक्षणकर्मीहरूले बताएका छन्।

केही महिना अघि मात्रै चितवनको खैरहनीमा बेवारिसे सालक भेटिएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई उक्त सालक पनि तस्करी नै गरेको यहाँसम्म आइपुगेको तर कुनै सुरक्षा चुनौती देखेपनि छाडेको अनुमान गर्छन्। साउनको पहिलो साता पनि चितवन प्रहरीले जिउँदो सालकसहित मानिस पक्राउसमेत गरेको थियो।

मुग्लिन बजारको बाटो हुँदै सालकको ओसारपसार भई रहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्‍युरो काठमाडौं र इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले पाल्पाका  प्रेमबहादुर थापा र गोरखा आरुघाटका टेकबहादुर गुरुङलाई जिउँदो सालक सहित पक्राउ गरेको थियो। यो घटनालेपनि सालकको तस्करी पुष्टि भएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकाल बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.