|

दाङ : राप्ती अञ्चल अस्पताल तुलसीपुरमा दरबन्दीअनुसार पदपूर्ति नहुँदा सेवा प्रवाहमा केही कठिनाइ भएको छ। अस्पतालमा विभिन्न सेवाहरु थपिँदै गए पनि दरबन्दी अनुसारको जनशक्तिको अभावका कारण सेवा प्रवाहमा समस्या भएको हो। त्यस्तै अस्पतालमा एक वर्षदेखि अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्‍टको पद रिक्त रहेको छ।

आठजनाको दरबन्दीमा पाँचजना मात्र कार्यरत

अस्पताल प्रमुख डा. भोलाराम  श्रेष्ठको मन्त्रालयमा सरुवा भएपछि करिब डेढ वर्षदेखि निमिक्त प्रमुखको भरमा सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनले दिएको जानकारीअनुसार अस्पतालमा २ जना करारसहित ८ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल ५ जना मात्र कार्यरत रहेका छन् भने ३ जनाको पद रिक्त रहेको अस्पताल प्रशासनले बताएको छ।

त्यस्तैगरी अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सकहरुको दरबन्दी रहेकोमा हाल छाला रोग, रेडियोलोजिस्‍ट, एनएन थेसोलोजिष्ट र नाक कान घाँटी रोग विशषेज्ञ डाक्टरको पद पनि रिक्त रहेको छ। अस्पतालमा बालरोग, महिला विशेषज्ञ, फिजिसीयन, मेडिकल जनरलजिस्‍टका चिकित्सकहरु भने कार्यरत रहेको अस्पतालका प्रशासन अधिकृत निम बहादुर वलीले बताए।

यस्तै हेल्थ असिस्टेन्टमा दुईजनाको दरबन्दी भए पनि एकजनाको पद रिक्त रहेको छ। अस्पतालमा ४ जना अनमीको दरबन्दीमा अहिले ३ जना मात्र, अहेबमा ४ जनाको दरबन्दी भए पनि अहिले ३ जना मात्र, स्टाफ नर्सहरुमा दरबन्दी अनुसारको पदपूर्ति नभएको प्रशासन अधिकृत वलीले बताए।

अस्पतालमा एनआइसियु सेवा सञ्चालन गर्ने भन्दै सामग्री लिएको महिनौँ समय बितिसक्दा पनि जनशक्तिको अभावमा सेवा सञ्चालन गर्न नसकिएको अस्पताल अधिकृत वलीले बताए। उनका अनुसार मेसिनहरु खरिद गरी ल्याए पनि सञ्चालनका लागि दक्ष जनशक्ति नहुँदा प्रयोगमा ल्याउन समस्या भएको छ। यस्तै अञ्चलस्तरीय अस्पतालको रूपमा विकास भएअनुसार १ सय बेडको हुनुपर्नेमा ५० बेडको मात्रै रहेको छ। पछिल्लो समयमा संघसंस्थाको सहकार्यमा अस्पतालमा क्यान्सर रोगसम्बन्धी सेवा विस्तार गरिने योजनासमेत रहेको छ।

अस्पतालबाट हाल नियमित रूपमा ओपिडी सेवा, इमर्जेन्‍सी सेवा, डाइलासिस सेवा, ल्याब सेवा, भिडियो एक्सरे, इण्डोर, डेन्टल, मातृ तथा शिशु कार्यक्रम सेवा, २४ सै घण्टा प्रसूति सेवा, विभिन्न प्रकृतिका क्षयरोग, दम, दीर्घरोग जस्ता बिरामीलाई नि:शुल्क औषधि उपलब्ध गराउनेलगायत सेवा दिँदै आएको अस्पतालले जनाएको छ।

सर्पदंशका बिरामीका लागि उपचार गर्ने भनेता पनि भेन्टिलेटर नहुँदा बिरामीलाई सामान्य उपचारबाहेक भरपर्दो सेवा दिन नसकिएको अस्पतालको भनाइ छ। तर, पनि अस्पतालले भएको जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी प्रभावकारी सेवा दिन आफूहरू लागिपरेको अस्पताल प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.