|

काठमाण्डौं : फोटो पत्रकार क्लब (पिजे क्लब)द्वारा आयोजित आइएमई-ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता, २०७५ मा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। 

नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि सुरु भएको फोटो प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन्। प्रदर्शनी १६ गते बुधबारबाट २१ गते सोमबारसम्म जम्मा छ दिन चल्नेछ। 

फोटो प्रदर्शनीमा एक्सपरिएन्स नेपाल, कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम, नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस, डेली लाइफ, अर्घाखाँची सिमेन्ट, न्यूज फोटो, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिसहोम, एक्सन स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उकृष्ट १६० फोटोहरू रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिए।

प्रमुख अतिथि मन्त्री अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल, २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्त्वपूर्ण रहने बताए। उनले भने, ‘नेपाल पर्यटकीय देश हो। यहाँका मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटोमार्फत् विश्वमा प्रचार प्रसार गर्न सकिनेछ।’ मन्त्री अधिकारीले फोटो पत्रकारलाई अहिले विकास भइरहेको प्रविधि र सोसल मिडियाले चुनौती बढाएको उल्लेख गर्दै फोटोपत्रकारले आफूलाई पनि उत्कृष्ट सावित गर्दै राम्रा फोटो खिच्न सुझाव दिए।

मन्त्री अधिकारीले भिजट नेपाल, २०२० लाई सफल बनाउन र नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पिजे क्लबसँग सहकार्य गर्ने बताए। उनले भने, ‘भिजिट नेपाल ,२०२० मा लिइएको लक्ष्य पूरा गर्न हामी पिजे क्लबसँग सहकार्य गर्न तयार छौँ। उहाँहरूले खिचेका तस्बीरमार्फत् हामी नेपालको प्रचार प्रसार गर्छौं।’ उनले फोटो पत्रकारलाई व्यावसायिक बनाउन आफू लागिपर्ने पनि बताए। उनले भने, ‘फोटो पत्रकार साथीहरूले फोटो खिच्नुहुन्छ तर त्यसको मूल्य पाउनुहुन्न तर हामी अब फोटोलाई उचित रकम दिएर व्यावसायिक बनाउनेछौँ।’

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकाले फोटो पत्रकारहरूले फोटोमार्फत् पर्यटन प्रवर्द्धन गर्न आग्रह गर्नुभयो। 
कार्यक्रममा अध्यक्ष ढकालले पिजे क्लबसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिवद्धता दोहोर्‍याए। उनले भने, ‘फोटो प्रतियोगितामा हामी विगत केही वर्षदेखि साथै छौँ। आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने विश्वास राखेको छु।’

कार्यक्रममा क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास कार्कीले फोटो प्रतियोगिता अबदेखि निरन्तर हुने बताए। उनले नेपालमा मात्रै नभई दक्षिण एसियालाई नै समेट्नेगरी ‘साउथ एसिया प्रेस फोटो कन्टेष्ट’ कार्यक्रमको आयोजना गर्ने तयारीमा क्लब रहेको जानकारी गराए। उनले भने, ‘यस खालको ठूलो प्रतियोगिता गर्न हामीलाई धेरै बजेट आवश्यकता पर्छ। यसका लागि सरकारले सहयोग गर्न सक्छ।’

उहाँले दक्षिण एसियालाई समेटेर गरिने प्रतियोगिताले नेपालको ब्रान्डिङ हुने बताउनुभयो। उहाँले जसरी नेदरल्यान्ड्समा विश्वभरका फोटो समेटेर 'वर्ल्ड प्रेस फोटो’ प्रतियोगिता गराएर नेदरल्यान्ड्सको प्रचार गरिन्छ, नेपालमा पनि दक्षिण एसियालाई समेटेर फोटो प्रतियोगिता गर्दा नेपालको प्रवर्द्धन हुने बताए।

यसैगरी कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रूपैयाँ फुदन सदालाई हस्तान्तरण गरे। फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बीरमा देखिएका मृतक कमल सदाका बुबा हुन्। सदाले आफू पाएको रकमले चार कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बताए। उनले भन्नुभयो, ‘मैले रकम पाएको छु। छोरा बितेर गइगयो। अब यो पैसाले म जमिन भाडामा लिएर तरकारी खेती गर्छु, जसले जीवन धान्न सजिलो होला भन्ने आशा लिएको छु।’ उनले कार्यक्रममा आफ्नो नाममा जग्गा नै नभएको बताए।

फोटो अफ दि इयर बन्न सफल श्रेष्ठको तस्बीरले एक लाख रूपैयाँ जित्न सफल भएको थियो। ७० हजार रुपैयाँ सदा परिवारलाई र बाँकी ३० हजार रुपैयाँ केही समयअघि निधन भएका पत्रकार यादव थापलियाको परिवारलाई हस्तान्तरण गरे।

यस्तै, कार्यक्रममा अग्रज फोटो पत्रकारहरूलाई सम्मान तथा प्रतियोगिताको निर्णायक मण्डललाई टोकन अफ लभ दिइएको थियो।

काठमाडौंमा नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिएका फोटोहरूकोे काठमाडौंबाहिर भने विराटनगर, भैरहवा, पोखरा, नेपालगंज र धनगढीमा प्रदर्शनी यसै वर्ष सम्पन्न गरिने बताइएको छ।

प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ। यस प्रतियोगितालाई आईएमएस, अर्घाखाँची सिमेन्ट, शिखर इन्स्योरेन्स, डिसहोम र नेप्टोसले विधागत प्रायोजक गरेका छन् भने साहस स्पोर्ट्स, विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, सिटी एक्सप्रेस, सियाट टायर, एडभेन्चर स्पोर्ट्स, भाएनेट, राष्ट्रिय खेलकुद परिषद्लगायतका संस्थाहरूले सहयोगीको भूमिका निर्वाह गरेका छन्। 

प्रतियोगिताका मिडिया पार्टनरमा कान्तिपुर दैनिक, दि काठमाडौं पोष्ट, नागरिक दैनिक, रिपब्लिका अंग्रजी दैनिक, शुक्रबार साप्ताहिक, अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका दैनिक, कारोबार राष्ट्रिय आर्थिक दैनिक, आर्थिक अभियान दैनिक, हिमालय टाइम्स, आर्थिक दैनिक, पोखरा हटलाइन, पश्चिम टुडे, दैनिक नेपालगंज र क्यापिटल बिजनेस म्यागजिन छन्।

यसैगरी टेलिभिजन पार्टनरमा कान्तिपुर टेलिभिजन, एपी वान टेलिभिजन, इमेज च्यानल, हिमालयन टेलिभिजन, एबिसी टेलिभिजन र जनता टेलिभिजन छन्। अनलाइन पार्टनरमा ईकान्तिपुर डटकम, नागरिक न्युज डटकम, माईरिपब्लिका डटकम, अनलाइन खबर डटकम, अन्नपूर्ण पोस्ट डटकम, ईनयाँपत्रिका डटकम, पहिलोपोस्ट डटकम, बाह्रखरी डटकम, माईसन्सार डटकम, नेपालखबर डटकम, नेपाललाइभ डटकम, देशसंचार डटकम, थाहाखबर डटकम, विजमान्डु डटकम, सदृश्य डटकम, क्लिकमान्डु डटकम, रातोपाटी डटकम, लोकान्तर डटकम, माइन्युजनेपाल डटकम, क्यापिटलनेपाल डटकम, हाम्राकुरा डटकम, मेरोलगानी डटकम, कर्पोरेटनेपाल डटकम छन्। उज्यालो नेटवर्क र सिटिजन एफएम रेडियो पार्टनर रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.