|

सुर्खेत : उच्च अदालत सुर्खेतको मातहतमा रहेका सुर्खेतसहित पाँच वटा अदालतले तोकेका चार करोड १४ लाख ४१ हजार ६८ रुपैयाँ जरिवाना असुल्न बाँकी रहेको छ। 

उच्च अदालत सुर्खेतको कार्यक्षेत्रअन्तर्गत रहेका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमका अदालतले फैसला गरेको जरिवाना रकम असुल्न बाँकी रहेको हो। सुर्खेतमा दुई करोड ६० लाख ४१ हजार ३१ रुपैयाँ, दैलेखमा २८ लाख ८८ हजार ३९, जाजरकोटमा ६४ लाख ९१ हजार ६९९, रुकुममा ३१ लाख ७४ हजार ४२ र सल्यानमा २८ लाख ४६ हजार २५६ रुपैयाँ असुल्न बाँकी रहेको छ।

यसै उक्त अदालतहरुले विभिन्न समयमा गरेको फैसलाबाट दोषीले कैद भुक्तानी गर्न पनि बाँकी रहेको रहेको छ । सुर्खेत जिल्ला अदालतबाट भएका फैसलामा एक हजार ३६८ वर्ष आठ महिना साढे २९ दिन, दैलेख जिल्ला अदालतको फैसलामा ४८१ वर्ष तीन महिना १० दिन, जाजरकोट जिल्ला अदालतबाट ४१७ वर्ष एक महिना १५ दिन, सल्यान जिल्ला अदालतबाट ८१६ वर्ष छ महिना सात दिन र रुकुम जिल्ला अदालतबाट       ४८० वर्ष ११ महिना छ दिन कैद भुक्तान हुन बाँकी रहेको उच्च अदालतले जनाएको छ।

अदालतले कैद फैसला गरेको तर दोषी फरार रहेकाले पक्राउ गर्न प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरे पनि अपेक्षाकृत सफलता पाउन नसकेको उच्च अदालत सुर्खेतका प्रमुख न्यायायाधीश हरिकुमार पोखरेलले जानकारी दिए।

प्रमुख न्यायाधीश पोखरेलका अनुसार कैद कार्यान्वयन तथा जरिवाना रकम असुल गर्न समस्या भएको बताए। विभिन्न समयमा अदालतबाट फैसला भई सजाय तोकिएका दोषीहरू लामो समयदेखि फरार रहेकाले कैद र जरिवाना रकम असुल गर्न समस्या भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.