|

सिन्धुपाल्चोक : ०७१ साउन १७ गते जुरेमा गएको विनाशकारी पहिरोमा परिवारको दुई जना सदस्यसहित सबै सम्पत्ति गुमाएकी राम्चे–५ की ५१ वर्षीया निमा डोल्मा तामाङको परिवार अहिलेसम्म अरुको खेत भाडामा लिएर बसिरहेको छ। 

खेतीपाती गरेर जीवन चलाइरहेको तामाङको परिवार पहिरोले आफ्नो थाथलो गुमेपछि न गरिखाने ठाँउ छ, न त बस्ने आवास नै छ। आयआर्जन गर्ने अवस्थासमेत नभएको तामाङको परिवारको आफू बस्दै आएको खेतको भाडा तिर्ने अवस्था नभएको गुनासो गरिन्।

‘थाकथलो गुमाएको चार पूरा भयो। अहिलेसम्म हाम्रो नाममा जम्मा भएको रकम समेत पाएका छैनौँ’, त्रिपुरासुन्दरी–६ की पुर्णकुमारी खत्रीले भनिन्,‘सर्वस्व गुमाएर बाँचियो तर घर न घाटको भएका छौँ।' उनले एकीकृत बस्ती बसाउने निर्णय भए पनि अहिलेसम्म कतैबाट सुरु नभएको गुनासो गरिन्।

बलेफी–८ की कन्या तामाङको परिवार नेपाल ओरियन्ट म्याग्नेसाइडको जग्गामा आश्रय लिएर बसेका छन्। 'पटक–पटक जग्गा छाड्न भने पनि आश्रय लिने ठाँउ नहुँदा पीडा सहेर बस्नु परेको छ', उनले भनिन्, 'बस्ने ठाउँ भए काम गरेर खाने बाटो आफैँ खोज्थ्यौँ।' 

‘घर भए कमाएर खान्थ्यौँ, आफ्नो टेक्ने जमिन छैन।’ बलेफी–८ का तोकबहादुर तामाङले भने, 'घर बनाउने जग्गा छैन, न त हाम्रो नाममा आएको पैसा नै पाएका छौँ। त्यही पैसा पाए मात्र पनि हामी जसोतसो खोजखाज गरेर एउटा टाउको लुकाउने टहरो बनाएर बस्ने भन्ने योजना थियो। तर, अहिलेसम्म सरकारी निकायबाट कतैबाट पहल नभएको उनको गुनासो छ।' 

देशमा तीन तहमा सरकार बनिसकेका छन्। तर, आफ्नो लागि कुनै सरकारले पनि वास्ता नगरेको पहिरो पीडितको भनाइ छ। 

जहाँ १४५ जनाको मृत्यु भएको थियो

०७१ साउन १७ गते जुरेमा विनाशकारी पहिरो गएको थियो। पहिरामो परी १४५ जनाले अकालमै ज्यान गुमाएका थिए। पहिरो १४५ जनाको ज्यानको साथमा अर्बौँको भौतिक क्षति पुगको थियो। पहिरोले सुनकोशी खोलालाई २४ घण्टासम्म थुनेको थियो। जुरेपहिरोबाट सुरु भएको सीमाक्षेत्रमा विपद अझै रोकिएको छैन। 

पीडितको नाममा संकलन भएको रकम जिल्ला दैविक प्रकोप उद्धार समितिको खातामा अल्झिएर बसेको छ। पीडितको लागि एकिकृत बस्ती निर्माण हुने निर्णय ४३ महिनापछि भएपनि अझै बस्ती निर्माणको काम सुरुवात गरिएको छैन।  जुरे पीडितको सहभागितामा भएको छलफलबाट पहिरो पीडितलाई एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने निर्णय भएको थियो।  

पहिरो पीडितको नाममा दुई करोड २४ लाख रुपैयाँ सहयोग हातबाट प्राप्त भएको थियो। सो रकम अहिलेसम्म कुनै निर्णय हुन नसक्दा जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा अड्किएर बसेको थियो। १४५ जनाको ज्यान जानेगरी आएको विशाल पहिरोले विस्थापित भएकाहरूको अवस्था अहिलेसम्म पनि फेरिएको छैन। 

पहिरो नआउने ठाउँ हेरेरे सडकभन्दा करिब ५०० मिटर माथिको क्षेत्रमा बस्ती बसाउने तयारी भएको बलेफी गाउँपालिका–८ का वडाध्यक्ष चरिबहादुर तामाङले बताए। बस्ती निर्माण गर्न जुरे पहिरोका पीडितहरूबाट कृष्ण लामाको संयोजकत्वमा संयोजन समिति गठन भएको थियो। समितिले पीडितहरूको गुनासो सम्बोधन गर्ने बताए पनि बस्ती निर्माणको काम अझै अगाडि बढेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.