|

डडेल्धुरा : किसान नेता शहीद भीमदत्त पन्तको ६६औँ स्मृति दिवस बिहीबार (आज) मनाइँदै छ। विविध कार्यक्रम गरी पन्तको सम्झनामा दिवस मनाउन लागिएको हो।

किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो। सोही सम्झनामा शहीद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउँदै आएको छ।

स्मृति दिवसको अवसरमा बिहान ७ बजे डडेल्धुरा बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गएिको छ भने साढे ७ बजे उपक्षेत्रीय अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गएिको छ। 

यस्तै, मध्याह्न १२ बजे होटल माउन्टेन भ्यूमा अन्तक्र्रिया र बेलुकी साढे ७ बजे पन्तको शालिक बागबजारमा दीप प्रज्वलन गर्ने कार्यक्रमको रहेको शहीद भीमदत्त स्मृति प्रतिष्ठानका कार्यवहाक अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए।

केही वर्षयतादेखि प्रतिष्ठानले नियमित रूपमा यस्ता कार्यक्रमहरू गर्दै आएको छ। प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भए पनि वि.सं. २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो।

को थिए भीमदत्त?

नेपाली किसान आन्दोलनका शहीद भीमदत्त पन्त डडेल्धुराको अमरगढी– २ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मिएका हुन्। 

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक चेतना बढायो। सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए भीमदत्त पन्त।

‘ठालु खान्ना आलु गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए पन्तले। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्त्वपूर्ण विद्रोही नाम पनि हो। ‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए उनले।

यसरी गरे किसान आन्दोलनको सुरुवात

अन्याय, सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरे। त्यस बेला उनलाई भीमदत्त कांग्रेस भन्ने गरिन्थ्यो। अन्याय गर्नेलाई दण्ड सजाय दिने हुनाले ठालुहरू डराउँथे। कसैलाई भीमदत्त पन्तले कारवाही गरेको थाहा पाइएमा ‘फलानोको घरमा कांग्रेस पस्यो’ भनी गाउँमा सन्देश फैलिन्थ्यो। 

कसैसित धेरै रिसाएर गाली गर्‍यो भने ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्ने पनि चलन थियो। गरिब, दलित, जनजाति, किसानहरूलाई संगठित गरी राणाविरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रह्यो। तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहार उनलाई मनपरेन।

उनले क्रान्ति पूरा भएको छैन भनी राणासित मिलेर बनाएको सरकारको विरोध गरेको अमरगढी– २ कारीगाउँका उनका भाइ  यदुनाथ पन्तले बताए। पन्त अन्याय अत्याचारको विरोधी रहेको उनले सुनाए। ‘उहाँले गरिबको साथ लिएर आन्दोलनमा होमिनुहुन्थ्यो। अन्याय अत्याचारको नहोस्, बलात्कार नगरौँ, कुकृतिहरू नगरौँ भनेर उहाँले आन्दोलन गर्नुभएको थियो’, उनले भने, ‘शोषण नगरून्, गरिबलाई नसताऊन् भन्ने उहाँको धारणा थियो।’ 

खास गरेर भीमदत्तले दलितको साथ लिएर अगाडि बढेका उनी बताउँछन्। सबैभन्दा पहिला दलित समुदायको हातको पानी भीमदत्तले नै खाएको उनले थाहाखबरसँगको कुराकानीमा सुनाए। दलित समुदायको हातको पानी खायो भनेर त्यतिबेलाका ठूलाठालुहरूले उनलाई मार्ने कोसिस गरेको उनको भनाइ छ।
परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारूहरू संगठित गरी मुक्ति सेना गठन गरे। नेपालगंजका गौरीलाल र रूपसिंह दुई जना सेनाका कमान्डर थिए। दक्षिण भारत पंजाबका एक जना विद्वान् कृष्ण स्वामी एंगर योजनाकार थिए। गर्बु थारू र लवरा थारू मन्त्री थिए। उनीहरूले भान्सामा दलितहरूलाई सहभागी गराउन थाले। 

किसानहरूलाई बेदखल गर्ने उनीहरूको नाममा जाली तमसुक बनाउने, श्रम शोषण गर्ने ठालुहरूलाई कारवाही गर्न थाले। उनीहरूलाई दलितको भान्सामा खाना खान लगाउँथे। यस व्यवहारबाट कुँडिएका ठालुहरू उनलाई पागल भन्थे। पछि भीमदत्त आफैँ पनि ठालुहरूलाई परिचय दिँदा ‘पागल पन्त’ भन्ने गर्थे।

कांग्रेससित वैचारिक भिन्नता आएपछि उनले अभिवादन गर्दा ‘जय नेपाल’ भन्न छोडेर ‘जय जनता’ भन्न थाले। केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए। उनले भन्ने गर्थे– ‘म अहिले जे गर्दै छु, भोलि यस्तै हुन्छ। त्यसैले आजैदेखि अन्याय अत्याचार छोड्नुपर्छ।’ उनको काम क्रान्तिको विरोध गर्ने र कारवाही गर्नेमा मात्र सीमित थिएन। गरिबहरू संगठित हुनुपर्छ। अन्न खेर फाल्नुहुँदैन। उत्पादन बढाउनुपर्छ। अनावश्यक खर्च घटाउनुपर्छ। प्रकृति बिग्रिने काम गर्नुहुँदैन भन्ने जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए उनले।

यस्ता दुःख भोगे भीमदत्तले

क्रान्तिमा लागेकाले भीमदत्त घरको काममा समय दिन सक्दैनथे। गाउँका ठालुहरू सबै विरोधी थिए। घरको जिम्मेवारी धर्मपत्नी पार्वती पन्तकै हुन्थ्यो। नाबालक दुई छोरा थिए। 
बिरामी पर्दा उपचार गर्न नसकेर पाँच वर्षको उमेरमा जेठो र अढाई वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो। त्यसपश्चात् पनि घरको पर्वाह नगरी क्रान्तिमै लागिरहे उनी। दुवै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीकी छोरीसित अर्को विवाह गरे। कान्छी श्रीमतीबाट छोरी जन्मिइन्। उनको पनि ७–८ वर्षकै हुँदा मृत्यु भयो। छोरीको मृत्युपछि कान्छी श्रीमतिले अर्को विवाह गरिन्। भीमदत्तका विरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट उनी विचलित भएनन्। 

उनले गरिबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मनपरेको थिएन। यही बेला अन्यायविरुद्ध संगठित भई लड्ने उद्घोषका साथ २००९ बैशाख २ गते डडेल्धुराको घटालथानमा भेला बोलाए। गाउँका ठूलाठालुहरूलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गरे। सबैलाई जय दासको हातको पानी खान लगाए।

भीमदत्तले गरेको आन्दोलन 

गरिबहरूलाई संगठित गर्न भीमदत्त गाउँ भ्रमण गर्न जान्थे। तल्कालीन सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लाहरूमा भ्रमण गर्दा गरिबहरूले नुनसमेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे। काचनपुरको ब्रह्मदेवमा भएको गोदामबाट गरिबहरूलाई नुन, कपडा वितरण गरे। यस घटनाका दिन गरिबहरूको ठूलो जनमासले भीमदत्त पन्तको स्वागत गरी ‘भीमदत्त पन्त जिन्दावाद’ भनी नाराबाजी गरे।

यही बेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगंज पुर्‍याइयो। भागेर ज्यान बचाई काचनपुर आए उनी। धेरै जनालाई महाकालीमा फाले। त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुबालाई ‘तपाईं पनि सामन्त हो’ भनी घरमा भएका तमसुकहरू च्याते। बिष्टहरूको घरमा भएका तमसुकहरू संकलन गरी बोरामा हालेर जलाइदिए। मालअड्डामा भएका मोठहरू जलाइदिए। त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसे। क्रान्तिमा सहयोग गर्नेहरूलाई कर्मचारी बनाए। चार महिनासम्म उनले शासन चलाए।

‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरे। बेलौरीमा बैंक कब्जा गरी त्यहाँबाट लिएको पैसा सेनालाई तलब दिएर बाँकी रहेकोमध्ये कमैया र हलियाहरूलाई सहयोग गरे। ‘उठ जाग रे नेपाली नवजवान जाग रे! नेपालमा तम म नेपाल देशलाई स्वतन्त्र बनाऊँ रे!’ भन्ने उनको देशभक्ति गीत प्रार्थना थियो। ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आया ठालुको काल आयो’ उनको चर्चित गीत थियो। यसबाट बुझ्न सकिन्छ कि भीमदत्त पन्त देशलाई स्वतन्त्र बनाउने, गरीबहरूलाई ठालुहरूको कब्जाबाट मुक्त गराउने अभियानमा थिए।

यसरी भयो भीमदत्तमाथि दमन

भीमदत्त पन्तले गरिबको पक्षमा गरेको काम नै गाउँका ठालुहरूलाई मनपरेको थिएन। त्यसमाथि दलितहरूको घरमा खाना खाने, तमसुक जलाउने बेदखली गर्नेलाई कारवाही गर्ने व्यवहारले उनका विरोधी बढ्दै गएका थिए। सरकारी अड्डाले उनको विषयमा झुटो रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरू गाउँमै षड्यन्त्र गरिरहेका हुन्थे। उनीहरूले भीमदत्तलाई मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाई पैसासमेत दिएको बताइन्छ।

सरकारले भीमदत्त पन्तलाई पटक पटक जेल हाल्यो। त्यसबाट पनि भीमदत्त विचलित नभएपछि मार्ने षड्यन्त्र गरेर भारतीय सेनासमेत बोलायो। भीमदत्त पन्त बेलौरी कब्जा गरी धनगढी कब्जा गर्ने तयारीका साथ हिँडिरहेका बेला भारतीय सेनाले घेरामा पार्‍यो। 

चारैतिर भारतीय सेनाले घेरा हालेको र पानी परी हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाइ थियो। त्यस अवस्थामा पनि भीमदत्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निगाली सहजपुर हुँदै बुडर पुगे। सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना त्यहाँ मारिए। २०१० साउन १७ गते आलिताल गाउँपालिका– ४ गल्लेक भन्ने ठाउँमा उनकै मित लालबहादुर थापाले उनलाई धोका दिएर मारे। ‘मलाई पक्राउ गर, गोली नहान्’ भन्दा मानेनन्। 

भीमदत्तलाई आलिताल गाउँपालिकाको गल्लेक भन्ने ठाउँमा मारेको हो भन्ने सुनेको आलिताल गाउँपालिका– ४ गल्लेकका वृद्ध पदमसिंह बोहरा बताउँछन्। ‘यहीँ गल्लेक भन्ने ठाउँमा मारेको हो भन्ने मैले पनि सुनेको हो बुढापाकाबाट। टाउको काटेर डडेल्धुरा सदरमुकाम लगे भन्थे’, उनले भने, ‘ढाड काटेर कहाँ यतै फालेको भन्ने सुनेको हुँ।’ 

गोली लागेर छटपटाइरहेका बेला भीम दियालले उनको टाउको काटिदिए। टाउको लगेर बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाइयो। काटेको टाउको ७२ घण्टासम्म बाँसको टुप्पोमा झुण्ड्याई ‘राजद्रोहीलाई यस्तै हुन्छ’ भन्ने प्रचार गरियो। काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिइएन। उनलाई ३१ बुँदे सर्तमा औँठाछाप लगाएर मात्रै टाउको दिइयो। 

गाउँमा काजक्रिया गर्न बाहुन पाइएन। क्रिया पनि गर्न दिइएन। पानीको नाउलो छुट्याइयो। गौरा अलग गरियो। उनको परिवारलाई मेलापर्व, मन्दिर, पानीपँधेरोबाट वंचित गरियो। उनको टाउको धर्मदेव, सिद्धराज उप्रेती, सोबे सार्की, फकिरे दमाईंलागायतले घटालबाबाको मन्दिर छेउमा लगेर अन्त्येष्टि गरेका थिए।

गाउँमा क्रिया गर्नसमेत नपाइने भएपछि ४० तोलाको कल्ली, २२ रुपैयाँ तोला सुन, घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त, भीमदत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गई काजक्रिया गरेका थिए। काठमाडौंदेखि दिल्लीसम्मका सामन्तीहरूले उनको मृत्युको उत्सव मनाए। उनको हत्या गर्ने लालबहादुर थापालाई तत्कालीन बडा हाकिमबाट पाँच हजार रुपैयाँ पुरस्कार दिइयो।

सम्मान त पाए तर उनले उठाएका विषयको सम्बोधन कहिले?

शहीद भीमदत्त पन्तको नाम प्रयोग गरेर जनताको भोट तानियो तर उनले उठाएका मुद्दालाई कसैले पूरा गर्नतिर नलागेको यहाँका स्थानीय बताउँछन्। उनको मृत्यु भएपश्चात् पनि उनकै नाम जोडेर उनका परिवारका सदस्यलाई पार्टीमा भित्र्याएर जनताको भोट तान्न सफल भए विभिन्न पार्टीहरू। तर उनको सपना भने वर्तमानसम्म पनि पूरा हुन सकेको छैन।

कांग्रेसदेखि कम्युनिस्टसम्मले भीमदत्तको नाममा राजनीति गरेको तर उनले उठाएका विषयको सम्बोधन कुनै पनि पार्टीले नगरेको शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकराज पन्तले बताए। ‘भीमदत्तको नामलाई सबै पार्टीले उपयोग मात्रै गरे’, उनले भने, ‘तर उहाँले उठाएका विषयको सम्बोधन कसैले पनि गरेनन्।’

विशेषगरी नेपालका कम्युनिस्ट पार्टीहरूले भीमदत्त पन्तलाई आफ्नो आदर्श मान्दै आएका छन्। कम्युनिस्ट पार्टीकै नेतृत्वमा धेरै पटक सरकार बने। कम्युनिस्ट पार्टी एमाले नेतृत्वको सरकारले उनलाई औपचारिक रूपमा शहीद घोषणा भने गरेको छ।

वि.सं. २०७२ फागुन १९ गते बुधबारका दिन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई शहीद घोषणा गरेको हो। शहीद पन्तले देहावसान भएको झण्डै ६३ वर्षमा शहीदको सम्मान त पाए तर उनले उठान गरेका महत्त्वपूर्ण विषयहरू कसैले ख्याल गरेका छैनन्। भीमदत्तलाई शहीद घोषणा गरेर मात्र सम्मान भएको मान्न नसकिने उनलाई जान्नेहरूको भनाइ छ। ‘उनलाई सच्चा सम्मान गरेको तब मानिनेछ, जब उनले उठाएको विषय सम्बोधन हुनेछ’, प्रतिष्ठानका अध्यक्ष लोकराज पन्तले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.