|

बुटवल : त्रिभुवन विमानस्थलको विकल्पको रूपमा हेरिएको रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको छ। विमानस्थलको ६० प्रतिशत काम पूरा भएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ।

गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले हालसम्म समग्रमा ६० प्रतिशतको हाराहारीमा काम सकिएको जानकारी दिए। ९ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी काम भइरहेको उनले बताए। ‘धेरै समय लाग्ने खालका काम सकिन थालेका छन्, उनले भने, 'अब सबै काम छिटै नै सक्ने गरी काम भइरहेको छ।’ 

आयोजना प्रमुख शर्माका अनुसार पार्किङ क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी रहेको ३० प्रतिशत काम एक महिना भित्रमा पूरा हुनेछ। त्यसैगरी आगामी १५ दिन भित्रमा धावन मार्गको अन्य काम सम्पन्न भइसक्ने र त्यसपछि पिचको काम सुरू हुने उनले बताए। प्रशासकीय भवन, कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ। शर्माले सन् २०१९ सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवसको अवसरमा विमानस्थलबाट पहिलो उडान भर्ने गरी काम सक्न तीव्रताका साथ काम भइरहेको बताए। 

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थल निर्माण कार्य सुरु भएको थियो। विमानस्थलको जिम्मा लिएको चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले अहिले काममा तीबता दिएकाले समायावधि अनुरूप काम भइरहेको आयोजना प्रमुख शर्माले बताए। सन् २०१५ को जनवरीमा सुरू गरी सन् २०१७ डिसेम्बरमा सक्ने सम्झौतासहित एडीबीले लगानी गरेको थियो।

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको विमानस्थलमा एडीबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ। बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो। रकमका हिसाबले अहिलेसम्म दुई अर्ब ६ करोड खर्च गरिएको आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.