|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या हुनुको पछाडि सीमा पारीबाट हुने लागुऔषध तस्करी एवं प्रयोग र मदिरा सेवन रहेको बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूले उक्त बलत्कार र हत्याका विषयमा उठाएका प्रश्नहरूको सरकारका तर्फबाट जवाफ दिँदै मन्त्री थापाले उक्त घटना तथा अन्य बलत्कार र हत्याका घटनामा पनि लागुऔषध र मदिरा सेवन रहेको बताएका हुन्। उनले सांसद निरु पाललाई आएको धम्कीबारे पनि संसदमा उठेका प्रश्नहरूको प्रतिनिधिसभामा जवाफ दिएका छन्।

कञ्चनपुरको घटनाले देशलाई नै तरंगित पारेको गृहमन्त्री थापाले बताए। उनले गत साउन १० गते भीमदत्त नगरपालिकाकी छात्रा १३ वर्षीया निर्मला पन्तको हत्या भएको बताए। पन्तको शव ११ गते सोही नगरपालिकाको वडा नम्बर १८ मा रहेको ऊखुबारीमा भेटिएको बताए।

पन्तको हत्यामा संलग्न कैलालीका २२ वर्षीय जीवन घर्तीमगर र कञ्चनपुरका १७ वर्षीय दीपक नेगीलाई पक्राउ गरिएको पनि मन्त्री थापाले जानकारी दिए। दुवै अभियुक्तविरुद्ध मुद्दा दर्ता भएको र प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको पनि मन्त्री थापाले जानकारी दिए।

उनले भने, 'यस प्रकारका घटनाका कारकमा मदिरा सेवन र लागुऔषध तस्करी रहेको पाइएको छ।' उनले सीमा पारी भारतबाट नेपालमा हुने लागुऔषध तस्करीमा परेका युवा र मदिरा सेवन गर्नेहरूले महिलामाथि हिंसा गर्ने गरेको भनाइ राखे। मन्त्री थापाले सरकार महिलामाथि हुने हिंसा नियन्त्रण गर्न कठोर कदम चाल्न लागेको जानकारी दिए। उनले सरकारले लागुऔषध र मदिरा बिक्रि वितरणमा अंकुश लगाउने संकेत पनि गरेका छन्।

सांसद पालमाथि राजनीतिक आक्रमण!

प्रतिनिधिसभा सदस्य सांसद निरु पालमाथि मंगलबार भएको घटना राजनीतिक प्रकृतिको भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए। उनले भने, 'यसमा राजनीतिक प्रकारको बुझिन आएको छ। घटना घट्नासाथ प्रशासनले कदम चालेको थियो।'

गृहमन्त्री थापाले सांसद पालमाथि भएको घटनाको बारेमा सरकारले गम्भीर छानबिन गर्न गइरहेको जानकारी गराए। उनले भने, 'यसबारेमा गम्भीर छानबिन हुन गइरहेको छ र गर्न गइरहेका छौँ।' मन्त्री थापाले देश राजनीतिक स्थिरतामा गइरहेको बेला यस्ता घटना हुनु गम्भीर भएको बताए। यसका पछाडि रहेका व्यक्तिहरूबारे उनले भने, 'देशमा राजनीतिक स्थिरता नचाहनेहरू, अस्थिरता फैलाउन चाहनेले यो घटना घटाएको देखिन्छ।'

उनले देशका विभिन्न क्षेत्रमा साम्प्रदायिक, जातीय, क्षेत्रिय मुद्दा उठाएर अस्थिरता फैलाउन खोजिएको बताए। उनले भने, 'सरकारलाई आएका जानकारी अनुसार देशमा राजनीतिक अस्थिरता फैलाउनेहरूले प्रयास गरिरहेका छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.