|

दाङ : यातायात व्यवस्था कार्यालय राप्तीमा इन्जिनियर नहुँदा सवारी जाँच पास गर्ने मेसिन सञ्चालनमा आएका छैन। यातायात व्यवस्था विभागले सवारी जाँचपासका लागि पठाएको 'ग्यास एनालाइजर' र 'स्मोक मिटर' सञ्चालनमा अाउन नसकेको हो।

सरकारले मुलकभर चारपाङ्ग्रे सवारी साधनमा अनिवार्य रुपमा जाँचपास गराएर हरियो स्टिकर लिनुपर्ने नियम लागु गरेसँगै दाङमा पनि सवारी जाँचपास सुरु हुने भएको हो। त्यसका लागि यातायात व्यवस्था कार्यालय राप्तीमा सवारी जाँचपास यन्त्र आइपुगेको हो।

‘प्रदूषणको मुख्य कारणमध्ये सवारीसाधनको धुँवा पनि हो,’ कार्यालयका प्रमुख  मित्रलाल ढकालले भने, ‘हरियो स्टिकर अनिवार्य गरेमा प्रदूषण घट्ने अपेक्षा छ।’ प्रदूषण जाँचमा फेल भएका सवारीसाधनलाई रातो स्टिकर दिइन्छ।

नियमानुसार निजी सवारीधनीले वर्षको एकपटक तथा सार्वजनिक सवारीसाधनले ६\६ महिनामा प्रदूषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्छ। इन्जिनियरको दरबन्दी रहे पनि खाली रहेका कारण ती यन्त्र सञ्चालनमा ल्याउन नसकिएको उनले बताए। ‘यन्त्र चलाउन एक इञ्जिनियरको दरबन्दी खाली छ’ उनले भने ‘कर्मचारी आएपछि यन्त्र सञ्चालनमा आउँछ।’

इञ्जिनियर पठाउन पटक–पटक विभागमा दवाव दिईरहेको भन्दै केही समयमा पठाउने आश्वासन पाएको उनले बताए। सवारी जाँचपास यन्त्र प्रयोगमा आएसँगै कुन सवारी प्रयोग गर्न उपयुक्त छन्, कुन सवारी चलाउन अनुपयुक्त  छन, भन्ने बारेमा जानकारी हुने उनले बताए बताए। अत्यधिक प्रदूषणयुक्त तथा 'कन्डिसन' बिग्रिएका गाडीलाई  सञ्चालनमा रोक लगाउने प्रमुख ढकालले बताए।

डिजेल र पेट्रोलका सवारी साधन जाँच्न छुट्टाछुट्टै मेसिनहरू प्रयोग गर्नुपर्छ। पेट्रोलबाट चल्ने  सवारीसाधनले फ्याँक्ने धुवाँको मात्रा 'ग्यास एनालाइजर'मार्फत नापिन्छ, भने डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँको जाँच ‘डिजेल स्मोक मिटर’ मार्फत गरिन्छ।

सवारीसाधनमा धुवाँको मात्रा हजार पीपीएम र कार्बनमनोअक्साइडको मात्रा तीन प्रतिशत हुनुपर्ने तथा  धुवाँको मात्रा २.४४ एचएस्यु हुनुपर्ने मापदण्ड  छ। दुईपाङ्ग्रेका लागि प्रदूषण जाँच गर्ने व्यवस्था नभएकाले नियम लागू नहुने प्रमुख ढकालले बताए। रातो स्टिकर पाएका सवारीसाधन मर्मतका लागि वर्कसपसम्म मात्रै सञ्चालन गर्न पाइन्छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० (३) अन्तर्गत सवारी प्रदूषण मापदण्ड फेल हुने सवारी साधनलाई दुई सयदेखि एक हजार रूपैयाँसम्म जरिवाना गर्न सकिन्छ। चलाउन मिल्ने र नमिल्ने गाडीहरू जाँच गर्ने र प्राविधिकद्वारा 'भेरिफाई' गरिने उनले बताए।

कार्यालयमा यस  गत आर्थिक वर्षमा साना र ठूला साधन गरी मोटरसाइकल, स्कुटी तीन हजार २६९ र साना ठूला ८९७ गरी चारहजार १६६ गाडी दर्ता भएका छन्। आर्थिक वर्ष २०७३\७४मा मोटरसाइकल, स्कुटी तीन हजार ९८९ र साना ठूला गाडी एक हजार ५५ गरी  पाँच हजार  ४४ गाडी दर्ता भएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.