|

उदयपुर : उदयपुरको गाईघाटमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको चार वर्ष पुग्दा पनि सेवाग्राहीले  सुविधा पाउन सकेका छैनन्। 

साविकको सगरमाथा अञ्चलका विभिन्न पहाडी जिल्लाका सर्वसाधारणलाई सेवा दिन ०७२ सालमा सिरहाको लाहान यातायात कार्यालयको उपशाखाको रूपमा गाईघाटमा कार्यालय स्थापना भएको थियो।

कार्यालय प्रमुख सरोज आचार्यले कार्यालय स्थापना भएको चार वर्ष बितिसक्दा पनि सेवा दिन नसकेको स्वीकार गरे। ‘अहिले बिलबुक नवीकरण तथा सामान्य कर लिनेबाहेक अन्य सेवा दिन सकेको छैनौँ,’ उनले भने, ‘जुन सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, नामसारी दर्तालगायतका सेवाग्राहीका केही महत्त्वपूर्ण काम गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौँ।’

०७२ साउन ५ गते तत्कालीन नेपाल सरकारको मन्त्रिपरिषदबाट गाईघाटमा यातयात व्यवस्थापन कार्यालय स्थापना गर्ने निर्णय अनुसार साउन २२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रलाय, यातयात व्यवस्थापन विभागबाट स्वीकृत भई ०७२ चैतबाट कार्यालय सञ्चालनमा आएको थियो। 

कर्मचारीको अभाव : पुरानै रोग

कार्यालयमा प्रमुख एक, नायब सुब्बा दुई, मेकानिकल सुपरभाईजर एक, सहायक लेखापाल एक, खरिदार एक र कार्यालय सहयोगी दुई गरी जम्मा अाठ सरकारी कर्मचारीको दरबन्दी छ। कार्यालय प्रमुख आर्चालयले शाखा अधिकृत १, नायब सुब्बा एक जना, बाँकी कार्यालय सहयोगी एक गरी तीन कर्मचारी रिक्त रहेको जनाकारी दिए। कार्यालय प्रमुख समेत रहेका नायब सुब्बा आर्चाय , एक सहायक लेखापाल,  एक मेकानिकल सुपरभाइजर , एक खरिदार र एक कार्यालय सहयोग पाँच जना छन् ।

मधेस आन्दोलनको बेला सिराहको लहान स्थित सगरमाथा अञ्चल यातायात कार्यालय बन्द हुन थालेपछि उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखम्बुका सेवाग्राहीलाई सेवा दिन कार्यालय सञ्चालन गर्न सरकारसँग माग भई स्थापना भएको थियो।

नाम मात्रको सेवा कार्यालय 

गाईघाटमा यातयात व्यवस्थापन सेवा कार्यालय स्थापना भए पनि सेवाग्राहीले अझै सेवा पाएका छैनन्। सेवाग्राही प्रदेश २ को लाहान र  प्रदेश १ को इटहरी धाउन बाध्य छन्। कटारीका यातायात व्यवसायी सन्तोष कार्कीले सवारी साधनको लाइसेन्स नवीकरण गर्न, सवारीसाधन किनबेच गर्दा कागजपत्र गर्न तथा सवारी रुटको अनुमति लिन लाहान र इटहरी धाउनुपरेको गुनासो गर्छन्। ‘गाईघाटमा यातयात सेवा कार्यालय छ,’ यातयात व्यवसायी कार्कीले भने, ‘नविकरण र सामान्य कर मात्र लिने काम भइरहेको छ।’ सेवाग्राही कार्यालय पुगेर बुझेर लहान वा इटहरी जानुपर्ने अवस्था छ।

कार्यालयबाट सेवा लिन आउने सेवाग्राही कार्यालयको बोर्डमात्र हेरेर फर्किन बाध्य छन्। सवारी धनीहरूले कार्यालय सञ्चालन आए पनि सेवा नपाएको बताउँछन्। नियमित सवारी र चालक अनुमतिपत्र नविकरण नहुदाँ ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको कार्यालयमा भेटिएका सेवाग्राही शिव दाहालले बताए। 

'कार्यालयबाट सवारी साधन नविकरण, सवारी चालक अनुमतिपत्र नविकरण वा वितरण, अस्थायी रुट परमिट दिने, विभिन्न सवारी नियम उल्लघन गर्नेलाई जरिवाना गर्नेलगायतका कार्य सम्पादन हुनुपर्ने हो',कार्यालय प्रमुख सरोज आचार्यले भने, 'नविकरण मात्र गर्ने काम भइरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.