|

काठमाडौं : यतिखेर बंगलादेशका मेडिकल र डेन्टल कलेजमा चिकित्सा शिक्षा अध्ययन गरेर फर्किएका नेपालीको गुणस्तर र सीपका विषयमा प्रश्न उठ्न थालेको छ। नेपालबाट चिकित्सा शिक्षा पढ्न गएका धेरै विद्यार्थीहरूले त्यहाँका मेडिकल कलेजबाट चिकित्सा शिक्षाको प्रमाणपत्र किनेर ल्याउने गरेको भन्नेसम्मको आरोप लगाइँदै आइएको छ। यसै सन्दर्भमा बंगलादेशका मेडिकल र डेन्टल कलेजमा चिकित्सा शिक्षा पढेर फर्किएका केही चिकित्सकहरूसँग थाहाखबरकर्मी सविना खनालले त्यहाँको मेडिकल कलेजको पढाइ कस्तो छ? नेपाली विद्यार्थीको भविष्य कस्तो छ? भन्नेबारे गरेको कुराकानी प्रस्तुत छ।

डा. एकराज दाहाल

यतिखेर बंगलादेशको मेडिकल शिक्षा राम्रो छैन भन्ने धेरै कुरा आइरहेको छ। यसले बंगलादेशमा पुगेर दु:ख गरेर पढेर फर्किएकाहरूलाई धेरै असर गरेको छ। हुनत सबै मेडिकल कलेजहरूमा राम्रो पढाइ हुन्छ भन्ने होइन। तर राम्रो कलेज छानेर गएकाहरूले त्यहाँ राम्रो शिक्षा लिन पाउँछन्। हरेक दिन पढाइको जाँच हुन्छ। मैले २०७२ मा युनरभर्सिटी अफ टेक्नोलोजी साइन्स सिटगाउँबाट एमबिबिएस पूरा गरेको हुँ। त्यो कलेज बंगलादेशको पहिलो प्राइभेट मेडिकल कलेज हो।

त्यस कलेजमा हरेक दिन पढाइको जाँच हुन्थ्यो। पढ्ने विद्यार्थीका लागि पढाइ राम्रो छ। नेपालमा जस्तो प्राक्टिस भने कम हुन्छ, जसको एउटै कारण भाषा हो। भाषाले गर्दा प्राक्टिस थोरै कम हुन्छ तर अन्य हिसाबले त्यहाँको पढाइ राम्रो हुन्छ। यहाँ भनेजस्तो पढाइको प्रमाणपत्र किनेर ल्याउने होइन। तर यो कुरा सत्य हो कि जो आफैँले राम्रो कलेज नछानी दलालको भरमा पढ्न जान्छन्, उनीहरूले पक्कै दु:ख पाइरहेका छन्।

डा. राम थापा

मैले सन् १०१६ मा बगंलादेशको राजशाही युनभर्सिटीबाट एमबिबिएस पूरा गरेको हुँ। पछिल्लो समय गरिएको बंगलादेशको पढाइ नराम्रो हुन्छ भन्ने हल्ला एकदम गलत हो। यहाँको भन्दा त्यहाँको पढाइ एकदम फरक छ। यहाँ जस्तो वर्षमा एक दुई पटक परीक्षा हुने त्यहाँ हुँदैन। त्यहाँ त हरेक च्याप्टर पढेपछि परीक्षा दिनुपर्ने हुन्छ। अर्को कुरा, त्यहाँको मेडिकल कलेज सरकारी हुन् या प्राइभेट, परीक्षा सबैको एउटै हुन्छ। सबैभन्दा ठूलो कुरा बंगलादेशमा मेडिकल कलेज खोलेको पाँच वर्षपछि मात्र नेपालीले त्यो कलेजमा पढ्न पाउने व्यवस्था छ। त्यहाँको सैद्धान्तिक पढाइ धेरै राम्रो हुन्छ।

डा. सुजित श्रेष्ठ

पछिल्लो समय नेपालमा बंगलादेशमा चिकित्सा शिक्षा राम्रो हुँदैन, त्यहाँ पढाइको प्रमाणपत्र किन्न पाइन्छ भन्ने धेरै कुरा आइरहेको छ। यसले हामी जस्तो बंगलादेशमा दु:ख गरेर पढेर आएकाहरूलाई धेरै दु:ख लागेको छ। यहाँ हल्ला भएजस्तो त्यहाँको पढाइ सजिलो छैन। केही कलेज नराम्रो होलान् तर धेरै कलेजहरू त्यहाँ राम्रा छन्।

विशेषत: त्यहाँको पढाइ राम्रो हुनुको प्रमुख कारण त्यहाँ हरेक दिन मौखिक परीक्षा हुन्छ। यहाँ जस्तो वर्षमा एक पटक परीक्षा दिनुपर्ने व्यवस्था त्यहाँ छैन। एउटा च्याप्टर पढाएपछि त्यसको परीक्षा हुन्छ। यसरी दैनिक हुने परीक्षाको नतिजाले फाइनल रिजल्ट आउने हो। अर्को कुरा प्राक्टिकलको छ। जसले राम्रोसँग मैथिली र हिन्दी भाषा जानेको छ, तिनीहरूलाई प्राक्टिकलमा कुनै अप्ठ्यारो हुँदैन।

यहाँ बंगलादेशको पढाइ नराम्रो छ भन्नु त्यहाँ अबदेखि विद्यार्थी पढ्न नजाऊन् भनेर हो। म युनिभर्सिटी अफ टेक्नोलोजी साइन्स सिटगाउँबाट एमबिबिएस पूरा गरेर आएको हुँ। त्यस कलेजको पढाइ धेरै राम्रो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.