|

गोरखाराज्य एकीकरण गर्न पृथ्वीनारायण शाहलाई विशेष सल्लाह दिने बिसे नगर्चीको सालिक स्थापना गरिएको छ। गोरखा नगरपालिका- ६ स्थित सातधुरेमा गोरखा नगरपालिका र परियार समाज नेपालको पहलमा स्थापना भएको नगर्चीको सालिक शुक्रबार गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अनावरण गरेका हुन्। 

गोरखा नगरपालिकाको पाँच लाख र परियार समाजको १० लाख रुपैयाँको लगानीमा नगर्चीको सालिक स्थापना गरिएको सालिक निर्माण समितिका सचिव सोमबहादुर अछामीले जानकारी दिए। ‘नगर्चीको अर्धकदको सालिक राखियो’, गोरखा नगरपालिकाका प्रमुख पन्तले भने, ‘सालिक राखियो अब यसलाई हामी पार्ककै रूपमा विकास गर्छाैं।’

करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण अघि बढाउन लागेको उनले बताए। पार्कलाई व्यवस्थित बनाउन र पूर्वाधार निर्माण गर्न नगरपालिकासँग मिलेर योजना बनाउने सचिव अछामीले जानकारी दिए।

लडाइँमा पृथ्वीनारायण शाहलाई आर्थिक अभाव हुँदा उनै नगर्चीले अर्थ संकलनको उपाय सुझाएका थिए। गोरखा राज्यभित्र रहेका एक हजार २०० घरधुरीबाट एक एक रुपैयाँ उठाएर खर्चको जोहो गर्न उनले पृथ्वीनारायण शाहलाई सुझाव दिएको बताइन्छ। पृथ्वीनारायण शाह बाइसे चौबीसे राज्यलाई एकीकरण गर्दै आधुनिक नेपाल बनाउने व्यक्तित्व हुन्। उनलाई राज्य एकीकरणमा सघाउने पाण्डे, पन्त, खनाल, अर्याल र भट्टराईको थरअनुसारको नमुना घर बनाउने लक्ष्य राखिएको समितिले जनाएको छ। उक्त सालिकले गोरखाको पर्यटन क्षेत्रको विकास र ऐतिहासिक विकासलाई टेवा पुग्ने विश्वास आफूले लिएको नगर प्रमुख पन्तले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.