|

गोरखा : गत साउन १० गते जिल्लाको धार्चे गाउँपालिका- ६ स्थित काशीगाउँका ५२ वर्षका भीमकुमार गुरुङको मृत्यु भयो। उनको मृत्यु भएपछि गाउँका दुई जना ५५ वर्षकी आमा र २९ वर्षकी छोरीलाई गाउँकै रोशन गुरुङलगायतको समूहले बोक्सीको आरोप लगाए। ‘भीमकुमारको १० गते मृत्यु भएछ’, जिल्ला प्रहरी कार्यालय गोरखामा ठाडो निवेदन दिन आएकी सोममाया गुरुङले भनिन्, ‘बोक्सीले विष खुवाएर मारेको हो भन्दै उनीहरूले मृतक भीमकुमारको पेटभित्र छेपारो, सर्प, भ्यागुतो छ भन्दै ११ गते चिरेछन्।’ खुकुरी, चक्कुलगायतको धारीलो हतियारको प्रयोग गरी शव चिरिएको गाउँकै केही मानिसहरूलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय आइपुगेकी एक महिलाले जानकारी दिइन्।

भीमकुमारको पेट चिरेर हेर्दा पेटमा छेपारो, सर्प, भ्यागुतो केही नभेटेपछि गाउँलेहरूले ती आमाछोरीलाई जबर्जस्ती बोक्सीको आरोप लगाइएको थाहा लागेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताए। गाउँकै लामा झाँक्रीले मृतक भीमबहादुरको दाहसंस्कारसमेत गरिसकेका छन्। बोक्सीको आरोप लागेका आमाछोरीलगायत उनीहरूलाई अहिले स्थानीयले सामाजिक बहिष्कारसमेत गरिसकेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए। बोक्सी आरोप लागेका परिवारका सदस्यहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय गोरखामा रोशन गुरुङलगायतको नाममा ठाडो निवेदन दर्ता गरेका छन्। स्थानीयका अनुसार मृतक गुरुङ गत वर्षको मंसिरदेखि बिरामी थिए। 

बोक्सी भन्दै सामाजिक बहिष्कार

उनीहरूको परिवारका सदस्यलाई अहिले गाउँले सबैले बहिष्कार गरेका छन्। ‘हाम्लाई गाउँका सबैले सबै काममा बहिष्कार गरेका छन्’, राममाया गुरुङले भनिन्, ‘केही दिनअघि गाउँमा एक जना बुढी मरिन्। गाउँमा मान्छे मर्दा सबैले मानो चामल दिने चलन थियो। हाम्लाई त्यो पनि गर्न दिइएन। अहिले हाम्ले छोएको पानी पनि नखाने भनेको छ।’ सोही घटनापछि धार्चेमा सुरु भएको पाउरोटी उद्योगसमेत बन्द भएको छ। ‘बोक्सीका परिवारको उद्योग भन्दै पाउरोटी उद्योग नै बन्द भएको छ’, सोममायाले भनिन्। 

उनीहरूलाई प्रहरीमा उजुरी हाले ज्यान मार्ने धम्कीसमेत आएको छ। ‘हामीलाई प्रहरीमा उजुरी नदिन भन्दै धम्क्याएको छ’, सोममायाले भनिन्, ‘खबरदार! उजुरी देलास्, खबरदार भनेको छ।’ गोरखा प्रहरीले भने उक्त घटनाबारे निवेदन परेको र अनुसन्धानको प्रक्रिया अघि बढाइएको जनाएको छ। 

यसअघि नै मेलमिलाप 

गत वर्षको मंसिरदेखि बिरामी भएका भीमकुमारलाई तिनै आमाछोरी बोक्सी लागी बिष खुवाएको भनेपछि यसअघि नै घटना प्रहरी समक्ष पुगेको थियो। ती गाउँलेसँग अबका दिनमा बोक्सी नभन्ने भनेर मिलापत्र भएर टुंगिएको घटना फेरि व्यूँतिएको प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.