|

बैतडी : जंगली जनावरले बाली नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन्। जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरुलाई धौधौ परेको छ।

जंगली बदेँल, बाँदर र दुम्सीले बैतडीका विभिन्न ठाउँमा  समस्या उत्पन्न गरेका हुन्। दिउँसोमा बँदेल, बाँदर र राति दुम्सी तथा जंगली बँदेलका कारण किसानहरूलाई मकैबाली जोगाउन सकस परेको हो। मुख्य खाद्यबालीका रूपमा रहेको मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।

जिल्लाको सिगास गाउँपालिका–५ को कफटुडामा बर्खेबाली मकै दुम्सीले सखाप पारेको स्थानीय भानबहादुर बोहराले बताए। मकैको घोका लाग्ने लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेको उनको भनाई रहेको छ।  दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ । 

राति पहरा दि एपनि मकैबाली जोगाउन मुस्किल भएको सुर्नया गाउँपालिका–६ का भवानीदत्त अवस्थीले बताए। टहरा बनाएर राति पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको सुर्नया गाउँपालिका ४ का कालु चन्दले बताए। जिल्लाका सबैजसो क्षेत्रमा मकैबाली जंगली बँदेलले नष्ट गर्न थालेको किसानहरूले बताए। 

दोगडाकेदार गाउँपालिकामा बादँरले मकै लगायत अन्नबाली नष्ट पारिदिन थालेको छ। वडा १ को रिम लगायतका ठाउँमा बादँरले अन्नबाली नष्ट गरिदिँदा किसानहरू चिन्तित छन्। बादँर धपाउन सबै काम छोडेर  गोठालो लाग्नुपरेको स्थानीय वीरेन्द्र धामीले बताए। 'बादँरले मकैसँगै आँप, अनारलगायत फलफूल पनि नष्ट पारेको छ',उनले भने, 'बादँरको आतंक बढ्दै गएकाले नियन्त्रणका लागि स्थानीय तह गुहारेका छौँ।' स्थानीय तहबाट अहिलेसम्म केही जानकारी नअाएको उनले बताए। 

जिल्लाको तल्लो स्वराडस्थित शिवनाथ गाउँपालिका वडा नम्बर ३, ५ र ६ मा बदेलले आतङक मच्चाउन थालेको छ। यो क्षेत्रको मुख्य खाद्यान्न बाली मकै  बँदेलले सखाप पार्न लागेको वडा  ६ का किसान केशवसिंह धनाडीले बताए। 

यस्तै मेलौली नगरपालिका वडा २ र ३ मा जगंली बँदेलले मकै खान थालेपछि कृषक राति खेतबारीमै पहरा बस्ने गरेका छन्। जंगलबाट आएका बँदेलले २० रोपनीमा लगाएको मकै जरा उखेलेरै खान थालेपछि पहरा बस्नु परेको स्थानीय हरिराम पार्कीको दुखेसो छ। बादँरले दिनमै पनि मकै खान थालेका छन्। 'जंगलनजिक टहरो बनाएर बस्ने गरेका छौं', उनले भने। 

रातभरि खेतमै बस्नु परेपछि बाजागाजा लगेर नाचगान गर्नेगरेको स्थानीय रमेश बिसीले बताए। पाक्ने समय हुन लागेका मकै बदेँलले मकै सखाप पारेको स्थानीय लोक बहादुर चन्दले जानकारी दिए। 

पाटन नगरपालिका वडा ५ का  किसानको मकै बाली बदेँलले नष्ट गरिदिँदा किसानहरू समस्यामा परेको दिएको स्थानीय हिरा पाण्डेले बताए। बँदेल धपाउन उनीहरू वर्षाको पर्वाह नगरी रातभर मकै बारीमा बस्न बाध्य छन्। 'बँदेलको डरले गर्दा घाँसदाउरा गर्न ज‌ंगल जानसमेत समस्या भएको छ', उनले भने।

वर्षेबाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू भोकमरी समस्या अाउनसक्ने भन्दै चिन्तामा छन्। पानी समयमा नपर्दा धेरै ढिला गरी मकै लगाएका यहाँका किसानहरू अहिले बँदेलले नष्ट गर्दा झनै चिन्तामा परेका छन्। 

बैतडीमा १४ हजार ९०० हेक्टर क्षेत्रफल जमीनमा मकैखेती गरिँदै आएको छ। जंगल नष्ट भएका कारण जनावर खेतबारीमा पस्ने गरेको वनकर्मीहरुको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.