|

डडेल्धुरा : महाकाली नदीको किनारामा रहेको परशुराम धाम बर्सनिको बाढीले संकटमा पर्दै गइरहेको छ। डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिका–५ मा पर्ने परशुराम धाम संकटमा परेको हो।

२०५६ मा परशुराम धाम क्षेत्रभन्दा दुई किलोमिटरमाथि परिगाउँ क्षेत्रबाट महाकालीको भंगालो गाउँ पसेपछि तटबन्ध निर्माण गरिएको थियो। तीन वर्षयता निरन्तरको कटानले प्रसिद्ध तीर्थस्थल संकटमा पर्न थालेको छ। परशुराम धाम मात्र नभई तटबन्ध पुनर्निर्माण नहुने हो भने परिगाउँ क्षेत्रमा समेत महाकाली पस्न सक्ने खतरा देखिएको छ।

परापूर्व कालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित परशुराम धाम महाकाली नदी कटानको उच्च जोखिमा रहेको परशुराम धाम क्षेत्र विकास समितिका पूर्वअध्यक्ष कैलाश कुमार पाण्डेयले बताएका छन्।

‘परशुरामलाई पवित्र तीर्थकारुवमा मानिएको छ। तर, अहिले यो तीर्थ जोखिममा रहेको छ।’  उनले भने, परशुराम क्षेत्र महाकाली नदी कटानको उच्च जोखिमा रहेको अवस्था छ।’

उनका अनुसार ५/६ वर्ष अगाडि यहाँ हालिएका तारजालीहरु नष्ट भइसकेको र ढुंगा खस्किसकेको अवस्था छ। महाकाली नदीमा व्यवस्थितरुपमा तटबन्ध भए मात्रै परशुराम धामको संरक्षण हुने उनको बुझाइ छ। विगतमा निर्माण भएको तटबन्ध महाकालीको बाढीले कटान गरेर बगाउँदै लगेको र अहिले आएर कुनै पनि सरकारको ध्यान जान नसक्दा परशुराम धाम क्षेत्र समस्यामा पर्दै गएको हो।

महाकालीले धामको माथिल्लो क्षेत्रबाट कटान सुरु गरिसकेको यहाँका स्थानीय बताउँछन्। डेढ दशकअघि महाकालीको भंगालो गाउँ फर्किएको क्षेत्रमा पनि तटबन्ध आधाभन्दा बढी बगाएको छ। जालीभित्र ढुंगा भरेर झारो टार्ने किसिमले बनाइएको तटबन्ध महाकालीले बगाउन सुरु गरेको हो।

व्यवस्थितरुपमा तटबन्ध निर्माण नहुँदा यहाँ रहेको मन्दीर पनि बाढीले बगाउने खतरा रहेको स्थानीय गणेश धामीले बताएका छन्। संरक्षणको अभावमा खतरामा रहेको परशुराम धामको संरक्षणका लागि प्रदेश सरकारले पनि विषश ध्यान दिनुपर्ने उनको भनाइ छ। 

‘परशुरामधाम एकदमै खतरामा परिसकेको अवस्था छ। यहाँको मन्दिर पनि कुन दिन महाकालीले बताउँछ।’ उनले भने, यसको तुरुन्तै प्रदेश सरकारले व्यवस्थापन गर्नु पर्दछ।’

डेढ दशकअघि एक करोड बढी लगानीमा निर्माण गरिएको तटबन्ध महाकाली नदी छेउबाट ढुंगा निकालिएका कारण पानीको बहाव परशुराम धाम क्षेत्रतिर फर्किन थालेपछि भत्कन थालेको हो। तटबन्ध गरिएको अधिकांश क्षेत्रमा महाकालीले कटान सुरु गरिसकेको छ। भारतीय सिमानातिर नदीको भाग अग्लो भएपछि महाकालीले परशुराम धाम क्षेत्र कटान गर्न सुरु गरेको छ।

विगतमा गरिएको तटबन्धको विभिन्न क्षेत्रमा महाकालीले कटान गरिसकेको छ भने परिगाउँ क्षेत्रबाट गाउँ पसेको भंगालो पनि पुनः फुट्न सुरु भएपछि महाकाली गाँउ पस्ने डर र भारत तिर पर्नेमा स्थानीय त्रसित भएको परशुराम नागरपलिका–४ परीगाउँका बलबहादुर खत्री बताउँछन्। वर्षातको समयमा पहाडबाट तीव्र वेगमा तराईमा खस्ने महाकालीको पानीले यस पटक ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.