स्रोत नखुलेकाले बेचविखन, लिलाम र फिर्ता पनि हुन सक्दैन : वन कार्यालय

|

भद्रपुर (झापा) : जिल्ला वन कार्यालय झापामा करिब डेढ करोड बराबरको रक्तचन्दन थन्किएको छ। भद्रपुरस्थित वन कार्यालयको दुई वटा कोठामा शिलबन्दी गरी राखिएको १९ हजार ८३२.२७ केजी परिणामको रक्तचन्दन विगत ११ वर्षदेखि थन्किएको हो। ११ वर्षदेखि कोठामै थन्काएकाले रक्तचन्दनको गुणस्तरमा समेत ह्रास आउने जानकारहरू बताउँछन्।

भारतबाट अवैध बाटो प्रयोग गरी नेपाल भित्र्याइएको उक्त परिणाम बराबरको रक्तचन्दनको आवश्यक स्रोत खुल्न नसकेकोले वन कार्यालयको कोठामा वर्षौंदेखि थन्किएको वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए।

‘११ वर्षदेखि कार्यालयको कोठामा राखिएको रक्तचन्दन लैजान पटक-पटक वन तथा वातावरण मन्त्रलायअन्तर्गतको वन विभागमा पत्रचार गरिसेकेका छौँ’ सहायक वन अधिकृत उप्रेतीले भने, ‘अहिलेसम्म मन्त्रालय तथा विभागले कुनै चासो देखाएको छैन। किनभने त्यहाँ लगिए पनि रक्तचन्दन थन्काएर राख्नुपर्ने हुन्छ। यसको स्रोत नखुलेकोले कानुनबमोजिम बेचविखन, लिलाम र फिर्ता पनि हुन सक्दैन।’ 

उनले थपे, 'रक्तचन्दनले गर्दा दुईवटा कोठा पनि प्रयोगमा ल्याउन सकेका छैनौँ। यसले गर्दा एउटै कोठमा खुम्चिएर कर्मचारीले कार्यालयको कामकाज गर्दै आएको छ।' रक्तचन्दनसहित पक्राउ परेका व्यक्ति अदालतबाट कैद सजाय भुक्तान गरी रिहा भइसकेका तर रक्तचन्दन जस्ताको त्यस्तै सुरिक्षत राख्नुपरेको वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताए। ‘रक्तचन्दनसँगै पक्राउ परेका व्यक्तिहरू अहिले छुटिसकेका छन्’ उनले भने, ‘मन्त्रलाय तथा विभागबाट हालसम्म कुनै पनि निर्णय भएको छैन। निर्णय भएपछि मात्र बरामद गरिएको रक्तचन्दनको समस्या समाधान हुन्छ।’ 

गिरिजाका पालादेखिको रक्तचन्दन अलपत्र

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा भारतबाट रक्तचन्दन तस्करी हुने ट्रान्जिट प्वाइन्टमध्ये झापा पनि एउटा जिल्ला मानिन्थ्यो। सोही बेला दक्षिणी झापाको सीमावर्ती नाकाबाट तीनपटक गरी ठूलो परिणाममा रक्तचन्दन बरामद भएको थियो।

वनस्पति तथा वन्यजन्तु संरक्षण ऐन तथा अन्त रष्ट्रिय कानुनबमोजिम एक देशबाट अर्का देशमा रक्तचन्दनको कारोबार गर्दा दुवै देशको सहमतिमा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ। सोही ऐन तथा अन्तराष्ट्रिय कानुनविपरीत चोरी निकासीको बाटो प्रयोग गरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याएको रक्तचन्दन झापामा बरामद भएको हो। 

रक्तचन्दन बरामद घटना 

घटना नम्बर १ : प्रहरीले २०६७ पुस २ गते दक्षिणी झापाको साविक कुमरखोद र टाघनडुब्बा गाविस हाल झापा गाउँपालिकाबाट भारतीय ट्रकमा लोड गरी नेपाल भित्र्याइएको ३६२ थान गोलिया आकारको ६० हजार ३०५.२७ केजी परिणामको रक्तचन्दन बरामद गरेको थियो। भारतको चेन्नई-अान्द्र प्रदेश -उरिसा हुँदै विहारको किशनगञ्ज जिल्लाबाट डिगलबैंक नाकाबाट भित्रिएको एपी २७ डब्लुओ ४०५ नम्बरको ट्रकबाट रक्तचन्दन बरामद भएको वन कार्यालय झापाले जनाएको छ।

ट्रकको माथि धानको भुस कुहिएको माछाको आन्द्रा र तल रक्तचन्दन राखेर भित्र्याइएको ट्रकमा सवारमा भारत चेन्नई मद्रास बस्ने यम भाष्कर र सोही ठाउँका यम राजुसमेत पक्राउ परेका थिए। पक्राउ परेका दुवै जनालाई वन ऐन २४९ को दफा ४९ (घ) को कसुरमा सोही वन एेन २०४९ को दफा ५० (१) (घ) ४ बमोजिम दफा अनुसार झापा जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकेकाे थियाे।

अदालतले जनही प्रति व्यक्तिले तीन लाख १८ हजार ७६३ रुपैयाँ ५० पैसा र एक वर्ष कैद सजाय तोकेको थियो। बरामद गरिएको ट्रक लिलामी प्रक्रियाबाट बिक्री भइसकेको छ भने पक्राउ परेका व्यक्ति जरिवाना रकम तिरी हाल छुटिसकेका छन्। 

घटना नम्बर २ : तत्कालीन वन मन्त्री मातृका यादव टोलीसहित २०६३ असार १३ गते झापा आएका थिए। वन मन्त्री यादव आएको सोही दिन राति साढे ११ बजे वन कार्यालय झापाका तत्कालीन प्रमुख श्यामप्रसाद शर्मा र प्रहरी, प्रशासनको प्रमुखसहितको टोली लिएर झापाको टाघनडुब्बा गएका थिए। टाघनडुब्बा-२ निवासी गुलाम रसुल मियाको घरमा छापा मारेर १६८७ केजी रक्तचन्दन बरामद गरेको थियो। मियाको घरमा लुकाइ-छिपाइ राखेको अवस्थामा उक्त टोलीले छापा मारेर रक्तचन्दन बरामद गरेको थियो।

घटनामा संलग्न मियालाई नियन्त्रणमा लिए पनि सोही घटनामा संलग्न मेचीनगर-१० निवासी श्याम थापा अझै फरार रहेको वन कार्यालय झापाले जनाएको छ।अदालतले वन ऐन २४९ को दफा ४९ (घ) को कसुरमा सोही वन एेन २०४९ को दफा ५० (१) (घ) ४ बमोजिम दफाअनुसार दुवैजनालाई २६ लाख ९९ हजार २०० रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएका थिए।  

घटना नम्बर ३ : मियाको घरबाट रक्तचन्दन बरामद भएपछि उसैको बयानको आधारमा तत्कालीन वन मन्त्री यादवसहितको टोली त्यसको भोलिपल्ट अर्थात् २०६३ असार १२ गते फेरि टाघनडुब्बा पुगेको थियो। टोलीले टाघनडुब्बा गाविस-४ बस्ने उपेन्द्र चौधरीको फुसको घरमा छापा मार्यो। उपेन्द्रको घरमा छापा मार्दै ३९९ थान अर्थात् ११७७० केजी परिणामको रक्तचन्दन बरामद गरेको सहायक वन अधिकृत नथुनी गोहिवार (यादव) ले जानकारी दिए। उनकाअनुसार भारतबाट चोरी निकासी गरी ल्याएको रक्तचन्दन उपेन्द्रको घरमा राखिएको विशेष सूचनाको आधारमा छापा मारिएको थियो।

घरधनी फेला नपरेपछि घरमा रहेका अविनाश चौधरी, सुवास चौधरी र रामजतन चौधरीलाई नियन्त्रणमा लिएको थियो। पछि उपेन्द्रलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। यता, झापा अदालतले वन ऐन २४९ को दफा ४९ (घ) को कसुरमा सोही वन एेन २०४९ को दफा ५० (१) (घ) ४ बमोजिम दफाअनुसार पक्राउ परेका चारैजनालाई एक करोड ८८ लाख ३२ हजार रुपैयाँ जरिवाना र चार वर्ष कैद सजाय सुनाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.