विमानस्थलमै यात्रु अलपत्र

|
उडान रद्ध भएपछि सुनसान जुल्फा विमानस्थल

जुफाल(डोल्पा) : वर्षायाम सुरु भएसँगै पश्चिमका पहाडी जिल्लाहरुमा निरन्तर वर्षात भइरहेको छ। निरन्तको वर्षातका कारण विभिन्न जिल्लाहरु जोड्ने सडक मात्रै अवरुद्ध भएका छैनन् पश्चिमका जिल्लाहरुको भरपर्दो यातायातको साधन हवाई उडानसमेत अवरुद्ध हुने गरेको छ।

झन्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि हुने पचास प्रतिशतभन्दा धेरै उडानहरु रद्ध हुने गरेको नेपालगञ्ज विमानस्थलले जनाएको छ। निरन्तर वर्षात र बाग्लो हुस्सुका कारण जहाजको रुट बन्द हुने गरेपछि पश्चिम भेगका हवाई उडानहरु प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले जानकारी दिए।

'अहिले नेपालगञ्ज विमानथलमा विभिन्न एअरलाइन्सका छ वटा जहाज छन्,एउटा जहाजले दैनिक पाँचवटासम्म उडान गर्छन्, तर आजभोलि मुस्किलले दशदेखि बाह्रवटासम्म मात्रै उडान हुन्छ' अधिकारीले भने, 'हवाई उडान अनियमित हुनुमा अरू कुनै कारण नभई बिग्रँदो मौसम नै हो' उनले थपे।

मौसमकै कारणले नेपालगञ्ज विमानस्थलदेखि उडान भइसकेको जहाजहरु समेत विमानस्थलमा अवरतरण गर्न नसकेर फर्कने गरेका उनले बताए। आज मात्र जुम्ला, हुम्ला, मुगु, बाजुरालगायतका विमानस्थलमा केही उडानहरु भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

दैनिक पचास प्रतिशतसम्म उडान रद्ध हुने गरेपछि पश्चिमका सिमिकोट, जुफाल, जुम्ला, ताल्चालगायतका विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका छन्।

विमानस्थलहरुमा दैनिक यात्रुहरु थपिने तर उडान भने नहुने भएपछि यात्रुहरुको चाप दिनप्रतिदिन बड्दै गएको कर्णालीका नागरिक उडड्यन कार्यालयहरुले जनाएका छन्। राष्ट्रिय सडकसञ्जालको पहुँच पुग्न नसकेका डोल्पा र हुम्लाका बिमानस्थलमा यात्रुहरुको चाप झन धेरै बढेको छ।

अवतरण नगरेरै फर्किन्छन् जहाज

दैनिक मौसम बिग्रने गरेपछि नेपालगञ्जदेखि उडिसकेका जहाज पनि अवतरण नगरेरै फर्कने गरेका छन्। आजभोलि जहाज उडान भए पनि उडान भएको केही समयभित्रै बाक्‍लो हुस्सुले हवाई रुट बन्द हुनुका साथै विमानस्थल पूरै हुस्सुले ढाक्ने गरेपछि विमानस्थल पुगेका जहाजहरू पनि अवतरण नगरेरै फर्किने गरेको विमान कम्पनीहरुले जनाएका छन्।

शुक्रबार बिहान मात्रै नेपालगञ्ज विमानस्थलदेखि कर्णालकिा विभिन्न बिमानस्थलकालागि उडेका तारा एअरको जहाजहरु अवतरण गर्न नसकेरै फर्केका थिए।

जुफाल विमानस्थल पाँच दिनदेखि बन्द

डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल बिमानस्थल पाँच दिनदेखि बन्द भएको छ। खराव मौसमका कारण दैनिक हवाई उडान अवरुद्ध हुने गरेपछि पाँचदिन देखि एउटा पनि उडानहुन नसकेको जुफाल बिमानस्थलले जनाएको छ।

मौसम बिग्रँदै गएका कारण आजभोली हप्ता दश दिनमा पनि उडान नहुने भएपनि तीन–चारवटा उडानमात्रै हुनेगरेको जुफालमा उडान भर्दै आएका बिमान कम्पनीले जानकारी दिए। जुफाल बिमानस्थलमा जहाज आउन छाडेपछि कतिपय सर्वसाधारण हप्ता दिन जहाज कुरेर जोखिमपुर्ण पैदलयात्रा गरेर गन्तब्यमा पुग्न बाध्य भएका छन्।

जहाज आउन छाडेपछि जुफालमा बिरामिहरु अलपत्र परेका छन्। 'दैनिक बिहान विमानस्थल आउछौँ जहाजमा उड्नका लागि तर जहाज आँउदैन' त्रिपुरा सुन्दरी नगरपालिका १ बस्ने स्थानीय भावना कठायतले गुनासो गरिन्। 'यसैगरी बिहान घण्टौँ हिँडेर आउने जाने गरेको तीन दिन भयो तर जहाज आँउदैन् हिँडेर जाऊँ भने बाटो जोखिमपूर्ण छ,दुर्गममा यस्तै समस्या झेल्नुपर्दो रहेछ' उनले थपिन्।

पाँच दिनदेखि जहाज नआएकाले जुफाल विमानस्थलमा यात्रुहरुको चाप दिनप्रति दिन बढ्दै गएको तारा एअर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिए।

'दैनिक जहाज आउँदैन, मान्छे मात्रै थपिन्छन्, उडान भइहालेमा टिकटका लागि यात्रुहरु दैनिक झगडा गर्ने गर्दछन्' भण्डारीले भने। जुफाल विमानस्थलमा मात्रै चारवटा फ्लाइटबराबरका विमानस्थलमा यात्रुहरूले जहाज कुरिरहेको भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.