फिचर

श्रम शोषणको मारमा सरकारी बगानका चिया मजदुर
SHARES

भन्छन्- राजनीतिक व्यवस्था फेरियो तर हाम्रो दुःख कहिल्यै फेरिएन

साउन २२, २०७५

    इलाम : इलाम नगरपालिका- १ साँखेजुङको हिमालय सांग्रिला टी प्रोड्युसर्सका श्रमिक ५५ वर्षीय जीवनकुमार राई दैनिक ५०० रुपैयाँ कमाउँछन्। सरदरमा दैनिक १५ किलो हरियो चियापत्ती टिप्ने उनलाई कम्पनीले प्रति किलो ३० रुपैयाँ दिन्छ। त्यस्तै, कन्याम चिया उत्पादक सहकारीमा काम गर्ने टीकाराम खड्काको कमाइ पनि दैनिक ५०० रुपैयाँभन्दा बढी नै छ।

    सरकारी स्वामित्वको कन्याम चिया बगानकी श्रमिक टेकमाया महतको कमाइ भने दैनिक २४१ रुपैयाँ मात्र छ। बगानमा बेत पुगेका चिया टिप्न व्यस्त उनले भनिन्, ‘राजनीतिक व्यवस्था फेरियो तर हाम्रो दुःख कहिल्यै फेरिएन।’ नेपाल सरकारले इलाम र झापाका सातवटा चिया बगान निजी कम्पनी त्रिवेणी सांघाइ ग्रुपले भाडामा लिएसँगै दुःखका दिन सुरू भएको महतले बताइन्।

    कन्याम चिया बगानमा ३१ वर्षदेखि मजदुरी गर्दै आएकी महतको भन्दा फरक अनुभव छैन सरकारी स्वामित्वको चिया बगानमा कार्यरत अन्य मजदुरको पनि। माई नगरपालिकाको दानाबारीस्थित त्रिवेणीले नै संचालन गरेको चिलिमकोट चिया बगानमा कार्यरत मजदुर बालगोविन्द मुण्डाले पनि दैनिक २३९ रुपैयाँका दरले मासिक सात हजार रुपैयाँको हाराहारी मात्र कमाउँछन्।

    मारमा मजदुर

    टेकमाया र बालगोविन्दले काम गर्ने दुवै बगान सरकारी स्वामित्वका हुन्। सरकारले २०५७ मा यीसहित इलामका चारवटा (कन्याम, इलाम, चिलिमकोट र सोक्तिम) बगान ५० वर्षका लागि संघाइ त्रिवेणी ग्रुपलाई भाडामा दिएको हो। यी चारवटा बगानमा काम गर्ने मजदुरको संख्या ५०० जनाको हाराहारीमा छ। तीमध्ये १२० जना स्थायी मजदुर छन्।

    त्रिवेणीले ती चिया बगान भाडामा लिएको समयमा यी चारवटा बगानमा प्रति बगान २०० देखि ३०० का दरले मजदुर कार्यरत थिए तर सेवा सुविधा नबढेपछि मजदुरहरू पलायन हुन थाले। ‘थर्मसदेखि डोको, नाम्लोसमेत पाएका छैनौँ’, मजदुर महतले दुखेसो पोखिन्, ‘बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म काम गर्दा पाउने दैनिक २४१ रुपैयाँले नानीहरू पढाउनु कि आफू बाँच्नु?’

    सुन्दर चियाबारीको जिल्लाको रूपमा परिचित इलाममा सरकारी स्वामित्वका चारवटासँगै निजी र सहकारीले संचालन गरेका कारखानासहित १०० वटाको हाराहारीमा बगान छन्। कृषकस्तरका चिया बगान सयौँ छन् तर ती बगानमा एउटै प्रकृतिका चियापत्ती टिप्ने काममा खटिने मजदुरको ज्यालादर भने फरक फरक छ। निजी उद्योगमा काम गर्ने मजदुरले बढी ज्याला पाउने गरेका र सरकारी स्वामित्वको उद्योगमा काम गर्ने मजदुरले कम ज्याला पाउने गरेका छन्।

    सरकारले मजदुरको ज्याला ३०८ रुपैयाँ तोकेर राजपत्रमा प्रकाशन गरेको छ तर इलाम, सोक्तिम, कन्याम र चिलिमकोट चिया बगानका मजदुरले तोकिएको ज्याला कहिल्यै पाएका छैनन्। मजदुरहरूका अनुसार इलाम चिया बगानका मजदुरलाई २३५, चिलिमकोटकालाई २३९, सोक्तिमकालाई २३४ रुपैयाँ र कन्यामकालाई २४१ रुपैयाँका दरले दैनिक ज्याला उपलब्ध गराइँदै आएको छ।

    ‘श्रम विभाग र मजदुरहरूबीचको सहमतिअनुसार सरकारले राजपत्रमा तोकेको ज्याला हामीले पाएका छैनौँ’, मजदुर बालगोविन्दले भने, ‘सामाजिक सुरक्षा कोष कहाँ छ थाहा छैन।’ सरकारले तोकेअनुसार ज्याला माग गर्दा साविकमा गरिरहेको भन्दा काम धेरै गर्नुपर्ने बगान व्यवस्थापन पक्षले सर्त राख्ने गरेको बालगोविन्दले बताए। ‘दैनिक २७ किलो पत्ती टिपिरहेकाले ३५ किलो र एक ड्रम विषादी छिटिरहेकाले दुई ड्रम पुर्‍याए मात्र ज्याला बढाइदिन्छौँ भन्छ’, मुन्डाले सुनाए, ‘तोकिएको ज्याला माग्दा कामबाटै हटाइने डर हुने भएकाले चुपचाप काम गर्नुको विकल्पै छैन।’

    श्रम ऐनको बेवास्ता

    श्रम ऐन, २०७४ को दफा ३६ मा ‘वार्षिक तलब वृद्धि (ग्रेड) पाउने शीर्षकमा एक वर्षको सेवाअवधि पूरा गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलब वृद्धि पाउने उल्लेख छ। ऐनको दफा ३७ मा चाडपर्व खर्च पाउने शीर्षकमा आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था पनि छ।

    तर जिल्लाका चारवटै सरकारी चिया बगानमा कार्यरत मजदुरलाई ऐनका सेवासुविधा दिनु त परै जाओस, त्यसअघि नै राजपत्रमा तोकिएको ज्यालासमेत नदिएको मजदुर नेता विष्णुप्रसाद भट्टराई बताउँछन्। उनले भने, ‘व्यवस्थापनले चाडपर्व खर्चवापत एक महिना बराबरको तलब दिनुपर्नेमा गएको दशैँमा एक हजार ८०० देखि दुई हजार ७०० रुपैयाँ मात्र खर्च दियो।’

    सरकारले २०७२ पुस २९ मा चिया मजदुरको दैनिक ज्याला साविकमा २७ रुपैयाँ थप गरी २५३ रुपैयाँ पुर्‍यायो। सरकारको उक्त निर्णय २०७२ माघ १८ को राजपत्रमा सार्वजनिक गरियो। कारखानाभित्र काम गर्ने कामदार, सरदार, नाइके र चौकीदारलाई त्यसमा दैनिक ३० रुपैयाँ भत्ता थप हुने त्यही राजपत्रमा उल्लेख छ। यो व्यवस्था २०७३ साउनदेखि २०७४ असार मसान्तसम्मका लागि थियो।

    तर राजपत्रमा दुई वर्षभित्रमा कार्यान्वयन हुने सूचना मात्र प्रकाशित गरिने भएकाले त्यसअघि नै २०७२ मंसिर २ मा श्रम विभागका महानिर्देशक रवीन्द्रमोहन भट्टराईको संयोजकत्वमा बसेको मजदुर, उद्योगीसहितको बैठकले ०७४ साउन १ देखि ०७५ असार मसान्तसम्मलाई नयाँ ज्याला कायम गर्ने निर्णय गरेको थियो। बैठकले मजदुरको दैनिक ज्याला २७८ तोकेको थियो भने यो ज्यालामा ३० रुपैयाँ भत्ता थप गरी दैनिक ३०८ रुपैयाँ दिने निर्णय गरेको थियो। त्यही बैठकले मासिक ज्याला पाउने श्रमिकलाई सात हजार ७७५ रुपैयाँ दिने तर उसलाई चाहिँ भत्ता रकम नथप्ने निर्णय गरेको छ। तर अहिले सरकारी स्वामित्वमा रहेका बगानले नै कम ज्याला दिँदै छन्।

    श्रम विभागका महानिर्देशक, उद्योगी र मजदुर नेताबीच भएको सहमतिअनुसार ०७४ साउन १ देखि २०७५ असार मसान्तसम्म मजदुरलाई दिइने ज्याला कार्यान्वयन हुन नसकेको मजदुर नेता भट्टराई बताउँछन्। सरकारले मजदुर, उद्योगी र सरकारको संयुक्त बैठक बोलाउँदा उद्योगीहरू प्रायः बैठकमै नआउने गरेको उनको गुनासो छ। बैठकमा आइहाले पनि ‘नोट अफ डिसेन्ट’ लेखेर हिँड्ने गरेको उनले बताए।

    चिया बगान व्यवस्थापन पक्षको प्रशासन शाखा प्रमुख लोकनाथ दंगाल भने इलामका चारवटै बगान घाटामा रहेकाले मजदुरलाई न्युनतम ज्याला दिन नसकेको स्वीकार्छन्। मजदुरकै सहमतिमा नयाँ ज्यालादर तोकिएको उनको दाबी छ। ‘चारै बगानमा उत्पादन कम भएकाले हामीलाई घाटा छ’, उनले भने, ‘न्यूनतम ज्याला कार्यान्वयन गर्न नसकेकाले मजदुरको सहमतिमा अर्काे ज्यालादर कायम गरिएको हो।’ पुरानो ज्यालादर कायम गर्दा बगान नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ।

नमीन ढकाल

ढकाल थाहाखबरका इलाम संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]