|

काठमाडौं : 'यदि तपाईं राजधानीको चक्रपथ क्षेत्रभित्र हुनुहुन्छ र गन्तव्यमा पुग्न ट्याक्सीको जरुरत परे ०१४२१७१७१ मा फोन गर्नुहोस्। केही समयभित्र तपाईंको यात्रालाई सहज बनाउन सारथिको ट्याक्सी हाजिर हुन्छ', सारथिका प्रमुख प्राविधि अधिकृत घनश्याम खनालले दाबी गरे। यात्रु लिन चक्रपथभित्र जहाँ पनि पुग्ने गरे पनि सारथिले यात्रु पुर्‍याउन चक्रपथबाहिर भने चार-पाँच किलोमिटरसम्म मात्र पुग्ने गरेको छ।

हाल काठमाडौंमा ५० बढी ट्याक्सी संचालनमा ल्याएको सारथिको सुरुवात भएको एक वर्ष पनि भएको छैन तर यसको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ। विशेष गरेर रातको समयमा बिचल्लीमा परेका यात्रुका लागि सारथि बढी प्रिय रहेको पाइएको छ। मिटरमा हिँड्न नमान्ने तथा बढी भाडा तिर्नुपर्ने समस्यालाई निरुत्साहित गर्नु नै सारथिको मुख्य अभियान भएको बताउँछन् खनाल। सरकारले निर्धारण गरेको मिटर शुल्क लिने सारथिले ट्याक्सी चढेका ग्राहकलाई बिल अनिवार्य दिने गरेको छ। 'यसबाट यात्रु ठगिने घटना रहँदैन', खनाल भन्छन्, 'अझ थप प्रविधिमैत्री बनाउन हामीले बैंक कार्ड प्रणाली ल्याउन प्रयास गर्दै छौँ।'

ड्राइभर पेसा आफैँमा जिम्मेवार पेसा हो। आम जनमानससँग जोडिएको ड्राइभर पेसालाई त्यति मर्यादित र सम्मानयोग्य पेसा मान्न मान्छेहरू तयार छैनन् आजका दिनसम्म पनि। यही कुरालाई मध्यनजर गर्दै सारथिले ट्याक्सी चालकलाई संगठित बनाएर विभिन्न तालिमहरू दिने गरेको छ। सारथिले चालकलाई ग्राहकलाई बोल्ने भाषा र गर्ने व्यवहार सिकाएर मात्र ट्याक्सी चलाउन सुरु गरेको बताउँदै उपत्यकामा बढ्दो ट्राफिक असुरक्षालाई न्यूनीकरण गरेर सुरक्षाका हिसाबले पनि सारथिका ट्याक्सी सुरक्षित हुने खनाल बताउँछन्।

ग्राहकसँग ट्याक्सीको नम्बर र फोन नम्बर दुवै हुने हुनाले यात्रा गर्दा कुनै सामान छुटेमा हराउने डर सारथिमा नहुने अर्को सकारात्मक पाटो भएको खनालको भनाइ छ। यस्तै, ट्याक्सीमा जिपिएस जडान गरिएकाले कुन ट्याक्सी कहाँ गएको छ भन्ने थाहा हुन्छ, जसले गर्दा चालकलाई पर्ने आकस्मिक समस्याहरू तत्काल समाधान गर्नसमेत सकिन्छ।

चालकहरूलाई मर्यादित र यात्रुमैत्री बनाउन तथा व्यक्तिगत आचरणको मूल्यांकन गर्दै बेलाबेलामा पुरस्कृत गर्दै आएको छ। खनाल भन्छन्, 'यसरी पुरस्कृत गर्दा चालकहरूमा उत्प्रेरिणा हुन्छ।'

सारथिको सुरुवातचाहिँ कसरी भयो त? उनी भन्छन्, 'ट्याक्सी चढ्दा देखिएको अनगिन्ती समस्याबाट सारथि जन्मिएको हो।' प्रकाश न्यौपाने र रवि सिंघालको चिया गफबाट सुरु भएको हो सारथि। सुरुवातमा अध्ययन गर्दै जाँदा सुरुवात चरणमा यात्रुहरू बढी मर्कामा परेको देखिए पनि ड्राइभरहरू पनि पीडित हुने कुरामा सारथिका अध्ययन टोलीले थाहा पाए। ड्राइभरहरूको पीडा खास गरेर सुरक्षा, यात्रु नभेटाउने चिन्तालगायतका देखेपछि संगठन बनाएर सारथिको काम अघि बढेको खनाल बताउँछन्।

सुरुवात तीनवटा ट्याक्सीबाट सुरु भएकामा आजका दिनसम्म ५० बढीले सेवा दिइरहेका छन्। खासमा सारथिले यात्रु र ट्याक्सीबीचको पुलको काम गरिरहेको छ। कमाइको १० प्रतिशत सारथिले राख्छ भने बाँकी रकम ड्राइभर र ट्याक्सी मालिकलाई दिने गरेको छ। 'हामीले सुरुवात गर्दा यति धेरै लोकप्रिय होला भन्ने सोचेका थिएनौँ', खनाल भन्छन्, 'अब राजधानीका तीन हजार ट्याक्सीलाई सारथिमा आवद्ध गर्ने लक्ष्य रहेको छ।'

राजधानीमा मात्र होइन, देशको अर्को ठूलो शहर पोखरामा पनि यसको शाखा विस्तार गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ सारथिले। शुक्रबार सारथिको सेवा लिँदै गर्दा भेटिएका दाङ घर भई हाल कलंकी बस्ने नेपाल कमर्श क्याम्पसका विध्यार्थी प्रदीप गौतमले सारथिको सेवा विश्वसनीय रहेको बताए। 'आफूलाई चाहेको बेला फोन गर्‍यो, तत्काल रेस्पोन्स गर्छ नै, त्योभन्दा बढी मिटरमा हिँड्ने भएकाले भाडामा कचकच गर्नुपर्दैन।'

तर अर्की सेवाग्रही कीर्तिपुर बस्ने विनिता महर्जनले भने फरक मत राखिन्। उनले चक्रपथभन्दा बाहिर यात्रु लिन नआउनुले आफूलाई त्यति प्रभावकारी नलागेको बताइन्। उनी भन्छिन्, 'सारथिको सेवाले हामीलाई केही सहज अवश्य भएको छ तर अब चक्रपथभन्दा बाहिर पनि यात्रु लिन आइदिने भए अझ प्रभावकारी हुने थियो।'

खनाल भन्छन्, 'हामीले यस विषयमा पनि सोचेका छौँ। यात्रुको बढ्दो चापसँगै छिट्टै चक्रपथबाहिर पनि हाम्रो सेवा विस्तार हुनेछ।' बिरामीको हकमा भने सारथि चक्रपथबाहिर पनि पुग्ने गरेको खनालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.