|

गोरखा : देशैभर बाढी पहिरोले वितण्डा मच्याइरहेको बेला जिल्लाको धार्चे गाउँपालिका-७ स्थित लापुको खानीगाउँ पनि पहिरोको उच्च जोखिममा परेको छ। खानीगाउँको ७२ घरधुरी खानी खोलाको कटानसँगै पहिरोको जोखिममा परेको स्थानीय सुशिल गुरुङले जानकारी दिए।

शनिबारदेखि गाउँभित्रका जमिन चिरा चिरा पर्न थालेको गुरुङले जानकारी दिए। ‘गाउँलाई नै घेरेर पहिरो गएको छ’ गुरुङले भने, ‘बर्खायाममा यहाँ सधैँ पहिरो गइरहन्थ्यो। तर अहिले त गाउँभित्रै जमिन चिरा चिरा पर्न लागेको छ। गाउँलेहरू डराएका छन्। गाउँलेहरू कहाँ जाने भनेर आत्तिन थाल्या छन्।’ खानीगाउँ २०७२ बैशाख १२ को गोरखा भूकम्पपछि पहिरोको उच्च जोखिममा परेको हो। उक्त गाउँ भूकम्प लगत्तै जिल्ला दैवी प्रकोप उद्धार समिति कहाँ गाउँलेले गाउँलाई नै अन्यत्रै सार्न माग गरेका थिए।

गाउँका ११ घरधुरी राति अरुकै घरमा गएर सुत्न थालेको हप्तौँ भएको उनले जानकारी दिए। ‘हिजोसम्म केही थिएन’ उनले भने, ‘पहिरोले घेरेर गाउँले यसै डराई रहेको थियो। बिहान गाउँको भित्रै पनि जमिन चिरा चिरा परेको देखेपछि झन् डराएका छन्।’ पहिरो रोक्न स्थानीयले जिल्ला भूसंरक्षण कार्यालयबाट ग्याबिन तार लगेर भरे पनि उक्त तारजाली नै पहिरोले पुरिदिएको सुशिलले बताए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले गाउँमा पहिरो घटना जानकारीमा आएकोले संवन्धित निकायलाई जानकारी गराइसकेको बताए। प्रजिअ भट्टराइले भने, ‘यसबारे विभिन्न क्षेत्रबाट जानकारी आएको छ। हामीले स्थानीयवासी, प्रहरी र सराेकारवाला निकायलाई परिचालन गरी धार्चे खानीगाउँका स्थानीयलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेबारे कोशिस गरिरहेका छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.