|

गोरखा : गोरखा नरपालिका- ३ रातमाटेमा सामान्य किसान परिवारमा जन्मिएका एक युवा, जसले सानो छँदा गाउँका हुनेखाने भनेर कहलिएका परिवारका छोराहरू आर्मीमा जागिर खाएको, बेलाबेलामा छुट्टीमा गाउँघरमा आउँदा क्यासेटको चक्का हालेर घनघनी क्यासेट घन्काउँदै आएको देख्दा सोच्थे, ‘म पनि ठूलो भएपछि आर्मीमा जागिर खान्छु। साहुबाको छोराले जस्तै क्यासेट किन्छु अनि घन्काउँदै गाउँघरका सबैलाई नचाउँछु।’

यस्तैयस्तै सपना बुन्दै गाउँको राष्ट्रिय माविमा कक्षा ९ सम्म पढे भीमबहादुर कुमालले। २०५९ सालमा कक्षा ९ को परीक्षा पनि दिए तर परीक्षामा फेल भएपछि उनको पढ्ने अवसर गुम्यो। बाबुसँग खेतबारी र मेलापातमा उनको दिन बित्न थाल्यो। आर्मीमा भर्ती हुने रहर भने उनको मनबाट कहिल्यै टाढा हुन सकेन। 

२०६१ सालतिरको कुरा हो, लगनखेलमा सेनामा भर्ती खुलेको कुरा भीमले मेलापातमा सुने। उनी पनि भर्तीका लागि त्यहाँ पुगे। पहिलै प्रयासमा उनको सपना पूरा भयो अर्थात् उनी नेपाली सेनामा भर्ती भए।

जब उनी जागिरे भए, वृद्ध बाआमालाई लाग्यो, अब दुःखका दिन गए। छोराले कमाउँला र दुई छाक खानकै लागि मेलापात    नगरी नहुने दिन जाला भन्ने सपना बुने। आफ्नो र वृद्ध बाआमाको सपना साकार पार्न भीम लगनखेलको तालिममा गए।

उता देशमा सरकार र माओवादीको युद्ध चर्किंदै थियो, यता लगनखेलमा सात महिनाको सैनिक तालिम सकिनेबित्तिकै उनको गण इटहरीमा सर्‍यो। देशका विभिन्न ठाउँमा युद्धमा    परी हजारौँ सैनिक मरेको खबर आउने गर्थ्यो।

यत्तिकैमा एक दिन उनको गणमा रक्षा मन्त्रालयबाट पत्र आयो, ‘गणबाट ६९ जना जवानहरू भोजपुरको हथुवागढीमा जानुपर्ने’ व्यहोराको। जानुपर्नेमा उनको नाम पनि रहेछ। ‘भोजपुरमा माओवादीको बलियो किल्ला छ भन्ने सुनेको थिएँ। कतै  बाआमाको सपना यत्तिकै तुहिने पो हो कि भन्ने कताकता डर पनि लागेको थियो तर नगई सुखै थिएन’, उनी सम्झन्छन्, ‘देश र जनताका लागि ज्यानको बाजी लगाउनुपरे पनि पछि हट्नेछैन भनेर कसम खाएकाले नगई सुखै थिएन, गएँ।’ 

२०६२ कार्तिक महिनामा उनको गणबाट ६९ जना सेना र ११ जना प्रहरीको गरी ८० जनाको टोली भोजपुर पुगे। ‘भर्ती भएर तालिममा आएदेखि घर जान नपाएको, पहिलो पटक परिवारसँगै दशैँ मनाउन नपाउँदा मनमा खिन्नता त छँदै थियो। तर पनि मनमा एउटा सानो सपना पालेको थिएँ, दशैँमा नपाए पनि तिहार घर जाउँला’, उनले बिगत सम्झँदै भने। भोजपुर पुगेदेखि नै ‘यो इलाका छाडेर जाऊ, नत्र हामी कडा प्रतिवाद गर्नेछौँ’ भन्दै माओवादीले गणमा पटक पटक पत्र पठाउँथेँ। तर सरकारले खटाएको सेना जो परे, आफूखुसी गर्न कहाँ पाउँथे र! बरु युद्धका लागि तयार भएर बस्न थाले। 

‘२०६२ पुस १५ गते करिब ५ बजे, खाना खाने तरखरमा थियौँ सबै फौजी। म सुत्ने ठाउँबाट खान खान जान मात्रै लागेको थिएँ। झमक्क साँझ परेकाले नजिकै पुगेर बत्ती नबालेसम्म मान्छे चिन्न गाह्रौ पर्ने बेला। एक्कासि चर्काे आवाज आयोे, भटटटट, ड्याङड्याङ’, भीम सम्झन्छन्, ‘मैले झ्यालबाट बाहिर हेरेँ, माओवादी सेनाले आक्रमण गरेका रहेछन्। हत्तपत्त सिरानीमा भएको एसएलआर हातमा लिएँ र फायर गर्न थालेँ।’

यसै अँध्यारो, झन् बम र बारुदले त्यहाँ अन्धकार भयो। दोहोरो भीडन्त चर्कियो। ‘भटटटट, ड्याङड्याङ’का आवाजसँगै ‘मरेँ आमा, मलाई बचाऊ, ऐया! मरेँ नि बा’ भन्दै मान्छेको चिच्चाहट पनि सुनिन्थ्यो। 

‘साँझ ५ बजेदेखि लगातार बिहान करिब ३ बजेसम्म दोहोरो भीडन्त चल्यो। भीडन्त सकिएपछि २६ जना माओवादी र दुई जना नेपाली सेनाको लास भेटियो’, कुमालले भने। 

गोलीलाई जित्न नसकेको त्यो क्षण

गोलीलाई जित्न सकेनन् उनले। २०६२ पुस १५ कुमालले पहिलो पटक युद्धको सामना गर्नुपर्‍यो। त्यतिखेर उनले आफ्नो फौजका दुई साथी गुमाए। कुमाल भन्छन्, ‘अझै पनि मलाई रगताम्यै भएका ती जमिन, जमिनमा मुढा ढलेजस्तै लडिरहेका मेरा साथीहरू अनि भटटटट, ड्याङड्याङको आवाज निकाल्दै पड्किएका बन्दुकले तर्साइराख्छ।’ त्यो घटनापछि माओवादी सेना भोजपुरको इलाका छाडेर भागेको उनी बताउँछन्।

त्यो दिनको युद्धपछि उनले आफू पूर्ण सुरक्षित ठाने। आफू चोखो रूपमा बचेको ठाने। यस्तै सोच्दै भोलिपल्ट बिहान उनी र चार जना साथी मिलेर, क्याम्प सफा गर्दै थिए। साथीहरू झार पन्छाउँदै कोदालोले माटो खन्दै थिए। ‘युद्ध जितेका हामी पाँच भाइले त्यही युद्धका गोलीलाई जित्न सकेनौँ। युद्धको बेला हानिएको बम त्यही माटोमा रहेछ। सफा गर्दा गर्दै एक्कासि पड्कियो’, त्यो भयावह क्षण सम्झँदै उनले भने, ‘मसँगैका चार जना साथी मरे तर म खुट्टा गुमाएर भए पनि बाँच्न सकेँ।’ 

डाक्टरको बोलीले दिलायो बाँच्ने आश

चैत महिनामा शीतल छाहारीमुनि माटोका ढिस्का मिलाउँदै क्याम्प सफा गरिरहेका पाँच जनालाई एउटै बमले आकाशमा उछिट्याइदिएको १० दिनपछि उनको होश खुल्यो। ‘होश खुल्दा मेरा आँखाभरि आँसु थिए। बाआमाको याद आयो अनि भक्कानो फुटेर आयो। दायाँबायाँ हेरेँ, मामाका छोरा पर्शुराम रहेछन्’, उनले भने, ‘उनले मेरा हात समाउँदै नरो कान्छा अब केही हुँदैन। नआत्ती सबै ठीक हुन्छ भने।’ 

होश आएपछि विस्तारै आफ्नो शरीरतिर हेरे। देब्रे खुट्टाको घुँडामुनि पूरै हड्डी देखिने गरी छियाछिया भएको देखे। त्यो दिन सम्झँदै उनले भने, ‘म मर्छु अब, कसरी बाँचूँ भन्दै भक्कानिँदै थिएँ, डाक्टर आएर मेरो हात समातेर भने– धैर्य गर्नुहोस्। तपाईंको खुट्टा काटेपछि आनन्दले बाँच्न सक्नुहुनेछ, अरूले जस्तै हिँड्न सक्नुहुनेछ, मात्रै अरूले जस्तै दौडने र भारी बोक्ने काम गर्न सक्नुहुन्न।’ डाक्टरको आश्वासनले उनको आँसु खस्न छाड्यो। आफ्ना बाआमालाई भेट्न जाने उनले पहिलो प्रस्ताव गरे। डाक्टरले जान सक्ने जवाफ दिएपछि मात्र उनी आफ्नो खुट्टा काट्न राजी भए। 

नेपाल आर्मीमा भर्ती भएर देश र जनताको रक्षा गर्न उनको भाग्यमा दुई वर्ष मात्रै लेखेको रहेछ। उनी भर्ती भएको दुई वर्ष नबित्दै एउटा खुट्टा गुमाउन पुगे। 
त्यसपछि अहिले उनी बैशाखीको भरमा गाउँकै पाखा पखेरा  चहार्ने गर्छन्। घरमै परिवारसँग हाँसी खुसी जीवनयापन गरिरहेका  छन्।

साथीको फोनले बने राष्ट्रिय खेलाडी

भर्ती भएको दुई वर्षमै देशको सेवा गर्ने शौभाग्यसँगै आफ्नो देब्रे खुट्टा गुमाएका कुमाल विगत १३ वर्षदेखि आफ्नै गाउँमा रमाउँदै आएका छन्। विगत दुई वर्षदेखि त झन उनी नेपालको पारा स्विमिङको राष्ट्रिय खेलाडी बन्न पुगेका छन्। 

‘२०७४ असारमा, पानी झमझम परिरहेको थियो। फोनको रिङटोन बज्यो। नम्बर हेर्दै नहेरी फोन उठाएँ। ‘गुड मर्निङ मलाई चिन्नुभयो? भन्ने आवाज आयो। नम्बर दोहोर्‍याएर हेरेँ। पल्टनका साथी रहेछन् अनि उत्तर दिएँ अरे दोस्त, किन नचिन्नु!’

साथीले राष्ट्रियस्तरको प्यारा स्विमिङ प्रतियोगिता हुँदै गरेको र आफूलाई पौडी खेल्न आउँछ कि आउँदैन? भनेर सोधेको उनले सम्झिए। उनले भने, ‘आउँछ, बरु कहाँ र कहिले हुने हो?’ 

साथीले खेलको विषयमा उनलाई सम्पूर्ण जानकारी दिए। त्यही भरमा कुमाल २०७४ असारमा राष्ट्रिय पारा स्विमिङमा भाग लिन काठमाडौंको जोरपाटी पुगे।

‘सानैदेखि दरौँदीमा पौडी खेलेको बानी’, कुमालले भने, ‘म खुट्टा गुमाएर फर्किएपछि पनि विरक्त लाग्दा त्यही दरौँदीको पानीमा हाम्फालेर मन शान्त पार्ने मान्छे! पौडी खेल्नु मेरा लागि कुनै नौलो कुरा थिएन।’ जोरपाटीमा भएको खेलमा उनले चार जनालाई पछाडि पार्दै प्रथम स्थान हासिल गरे। 

अर्थात् नेपालकै पारा स्विमिङअन्तर्गतका प्रथम खेलाडी बन्न पुगे उनी। उनी आउँदो असोज महिनामा अन्तर्राष्ट्रिय पारा स्विमिङ खेल्नकै लागि इन्डोनेसिया जाने तयारीमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.