थाहा संवाद : स्थानीय सरकार

घरघरमा पर्यटकहरूको घुइँचो लाग्नेछ : नासो गाउँपालिका अध्यक्ष घले
SHARES

साउन २१, २०७५

    मनाङ जिल्ला भौगोलिक रूपले विकट भए पनि देश विदेशले चिनेको छ। यहाँका अग्लाअग्ला हिमशृंखला, हिमनदी, हिमताल पर्यटकका लागि आकर्षण हुन्। लमजुङ र मनाङको सिमानाबाट सुरु भएको मनाङको नासो गाउँपालिका ऐतिहासिक महत्त्वका साथै प्राकृतिक छटाले भरिपूर्ण छ। यस गाउँपालिकाले लमजुङको मर्स्याङ्दी गाउँपालिका र गोरखाको सामा गाउँ छोएको छ। अन्नपूर्ण पदमार्ग र मनासलु पदमार्गको मुख्य मार्ग नै यही गाउँपालिका भएकाले पनि पर्यटनको क्षेत्रमा महत्त्पूर्ण मानिन्छ। घना जंगल, जडिबुटी, वन्यजन्तु यहाँका सम्पति हुन्।

    साविकका ताचै, थोचे र धारापानी तीनवटा गाउँ विकास समिति मिलाएर बनेको हो यो गाउँपालिका। यसका हाल नौ वटा वडा रहेका छन्। दूधखोला र मर्स्याङ्दीजस्ता दुई ठूला नदीहरू यसै गाउँपालिकामा बगेका छन्। जिएमआरले गर्ने भनेको ६०० मेगावटको माथिल्लो मर्स्याङ्दीजलविद्युत आयोजना पनि यसै गाउँपालिकामा पर्छ। हाल चिनियाँ कम्पनीले ठेक्का लिएको १४० मेगावाटको जलविद्युत आयोजना पनि सुरु भएको छ। 

    विशेषगरी गुरुङ जातिको बाहुल्य रहेको यस गाउँपालिकामा घले, लामा, थकाली र दलितहरूको बसोबास रहेको छ। यस गाउँपालिकामा परम्परागत मृगा पूजा, कृष्णचरित्र, ध्वज्याङ, (तीर हान्ने) अरूङ्ग (स्यार्ग), सोरठीजस्ता नृत्यहरू प्रचलनमा छन्। दशैँ, तिहार, बुद्ध पूर्णिमा यहाँका महत्त्वपूर्ण चाडपर्वहरू हुन्। यस गाउँपालिकामा दुईवटा माध्यमिक विद्यालय र नौवटा आधारभूत विद्यालय रहेका छन्। गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा  नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित नौमध्ये पाँच वडा अध्यक्षसहित बहुमत सदस्य जितेको यस गाउँपालिकाका अध्यक्ष चन्द्र घलेसँग गाउँपालिकाका विकास निर्माणलगायतका विषयमा थाहाखबरकर्मी नवीन लामिछानेले गरेको कुराकानी प्रस्तुत छ। 

    निर्वाचित भएर आएको एक वर्षमा गाउँपालिकाको विकासका कामहरू केके सम्पन्न गर्नुभयो? 

    निर्वाचित भएर आएपछि जनताका इच्छाअनुसार धेरै कुराहरू हामीले गर्न सकेका छैनौँ होला। तर, नमुनाका रूपमा केही योजना छनोट गरेर काम गरेका छौँ। सबैभन्दा ठूलो नारामा सीमित पर्यटन प्रवर्द्धन हो। अन्नपूर्ण पदमार्गको मूल ढोकाको रूपमा रहेको यस गाउँपालिकामा पदमार्ग र मोटर बाटो सँगै हुँदा पदयात्रीहरूलाई कठिन भएको छ। यसका लागि ताल गाउँ हुँदै धारापानी आउने वैकल्पिक पदमार्गको सुरुवात भएको छ।

    विगतका केही वर्षदेखि मनाङ आउने विदेशी तथा आन्तरिक पर्यटकले होटलहरूमा ठाउँ नपाउने हुँदा घरबासको अवधारणा ल्याई घरबास अर्थात् होमस्टे संचालन गरिएको छ। यसले गर्दा गाउँवासीको आयआर्जनमा वृद्धि भएको छ। त्यस्तै, नासो गाउँपालिकाका सबै वडा जोड्ने चक्रीय पदमार्ग निर्माण गर्ने योजना रहेको छ। यसले यस गाउँपालिकाअन्तर्गत रहेका ताल, धारापानी, ओडारगाउँ, घ्यलनचोक, बगरछाप, ताचै, तिल्चे, गुवा, भीमथाङ, नाचे हुँदै पुनः तालगाउँ जोड्ने लक्ष्य रहेको छ। 

    मोटर बाटोको स्तरोन्नतिसँगै सबै गाउँमा मोटर बाटोले पनि जोड्ने काम भएको छ। विद्युत, खानेपानीजस्ता विषयलाई प्रदेश सरकार र केन्द्रीय सरकारको साझेदारीमा योजनाहरू तय गरी काम गर्ने पहल भइरहेका छन्।

    यो एक वर्षको तपाईंको अनुभव कस्तो रह्यो?

    सबै गर्भबाटै कसले जानेर आएको हुन्छ र! कामले काम सिकाउने त हो। त्यसैले सिकाइसँगै एउटा अवसरको रूपमा यो समयलाई लिएको छु। जनताको सेवा गर्ने अवसर पाएको छु। जनताले चाहेर हाम्रा लागि काम गर्छ भनेर विश्वासको मत दिनुभएको छ।

    यो नै अवसर हो र यो अवसरमा आफूप्रति आएका चुनौतीको सामना गरेर जनताको इच्छालाई पूरा गर्नेछु। चुनौतीका थुप्रो छन्। कर्मचारीहरू रूपान्तरण, जनप्रतिनिधिहरूको संरचना, नीति, नियमका कुरामा केन्द्र र प्रदेशका कुराहरू बाझिनुले अलि अन्योल सिर्जना भएको छ। तर, अवसरसँगै चुनौती पनि छ, आत्तिनु हुँदैन।

    निर्वाचनका समयमा तपाईंले नासोवासीसँग गरेका बाचाहरू कतिको पूरा गर्न सफल हुनुभयो?

    निर्वाचनका समयमा जनताका घरघरमा गएर जुन प्रतिवद्धता व्यक्त गरेका थियौँ, ती सबै एकै वर्षमा पूरा गर्न सक्दैनौँ। हामीले अल्पकालीन र दीर्घकालीन योजनाहरू भनेर पेस गरेका थियौँ, जसअनुसार नमुना योजना छनोट गरेर जनताले अनुभूति गर्ने गरी काम थालेका छौँ। गाउँपालिकाको विभागीय संरचनालाई पुनर्गठन गरेका छौँ। यसका लागि दुईवटा महाशाखा गठन गरेका छौँ। प्राविधिक तथा योजना महाशाखा र प्रशासनिक महाशाखा। यिनै दुईवटाले काम गर्दै आएका छौँ।

    यिनै जडिबुटीको सदुपयोग गर्न सके पनी मनग्य आम्दानी गर्न सकिन्छ। अर्को पाटो भनेको पर्यटन हो। पर्यटन प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकबाट गाउँको आर्थिक उन्नति गर्न सकिन्छ। जडिबुटी, पर्यटन व्यवसाय, कृषि र जलविद्युत आयोजना नै यस गाउँपालिकाको आर्थिक समृद्धिका आधारहरू हुन्।

    शिक्षा क्षेत्रमा विद्यार्थीको चाप कम भएकाले आगामी शैक्षिक सत्रबाट पूर्ण आवासीय काम सुरु गरेका छौँ। अर्को महत्त्वपूर्ण परिवर्तन भनेको जनताको अधिकार सुनिश्चित होस् भनेर प्रत्येक वडामा वडा सचिवलगायत प्राविधिक कर्मचारीको व्यवस्था गरेका छौँ। सेवाग्रहीको चाप गउँपालिकामा भन्दा वडामा बढी हुन थालेको छ। विकेन्द्रीकरणको सिद्धान्तअनुसार वडावडामा अधिकार प्रत्यायोजन गरेका छौँ।

    नासो गाउँपालिकालाई आर्थिक रूपमा समृद्ध बनाउने आधारहरू केके छन्?

    मनाङका अरू गाउँपालिकाभन्दा यो गाउँपालिका आफैँमा समृद्ध छ। जिल्लाको अन्न भण्डारको रूपमा रहेको यो गाउँपालिका कृषि, पशुपालन, पर्यटन र ऐतिहासिक व्यापारिक केन्द्रको रूपमा प्रख्यात छ। यहाँका वनजंगलमा पाइने जडिबुटी यर्सागुम्बा, जटामसी, वन लसुन, नीरमसी, पाँचऔँले, सतुवाजस्ता महत्त्वपूर्ण जडिबुटी आयआर्जनका प्रमुख स्रोत हुन्।

    यिनै जडिबुटीको सदुपयोग गर्न सके मनग्य आम्दानी गर्न सकिन्छ। अर्को पाटो भनेको पर्यटन हो। पर्यटन प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकबाट गाउँको आर्थिक उन्नति गर्न सकिन्छ। जडिबुटी, पर्यटन व्यवसाय, कृषि र जलविद्युत आयोजना नै यस गाउँपालिकाको आर्थिक समृद्धिका आधारहरू हुन्।

    स्थानीय तह संचालनका लागि नीतिगत तथा व्यावहारिक समस्यहरू कतिको भोग्नुभयो?

    यसमा धेरै समस्यहरू आए। देश संघीय संरचनामा प्रवेश गरेसँगै स्थानीय तह गठन भयो, जुन हाम्रा लागि नितान्त नयाँ प्रयोग भयो। ऐनका समस्यहरू आए। संघीय सरकारबाट आउनुपर्ने नीतिगत व्यवस्थाहरू प्रष्ट नआउने, आए पनि संविधानले प्रदान गरेका अधिकारसमेत कटौती गरेर आउने काम पनि भयो। यी कुराहरूमा बहस गर्दै अधिकारका लागि संघर्ष गर्दै स्थापित गर्दा अन्योल रह्यो। हाल आवश्यक केही नियमहरू आएका छन्। प्रदेशबाट बन्ने ऐनहरू धमाधम बन्ने क्रममा छन्। त्यस अर्थमा केही सहज हुँदै गएको छ।

    यस गाउँपालिकामा देखिएका समस्याहरू केके छन्? यसको समाधानका लागि के कस्तो कदम चाल्नुभएको छ? 

    भौगोलिक विकटताका कारण समयमा निर्माण सामग्री जुटाउन कठिन भएको छ भने अर्को ठेकेदार कम्पनीहरूले समयमा काम सम्पन्न नगर्ने समस्या छ। सडक, पुलको अभाव, जनसहभागिता हुँदाहुँदै पनि सडकमा पर्ने खोलाहरूमा पुल निर्माण हुन नसक्दा अन्य विकास निर्माणका कामहरू पनि अलपत्र परेको छ। एउटै कम्पनीले दश ठाउँमा हात हाल्दा सबै ओझेलमा परेको छ। त्यस विषयमा विचार गर्दै छौँ।

    अबको चार वर्षपछि नासो गाउँपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ?

    यहाँ घरघरमा पर्यटकहरूको घुइँचो लाग्नेछ। प्रत्येक टोलमा सडक, बिजुली बत्ती, खानेपानी, हरियालीसहित व्यवस्थित वनजंगल, व्यावसायिक खेतीपातीको व्यवस्था हुनेछ भने गाउँपालिका आधुनिक र व्यावसायिक बन्नेछ। पर्यटकीय नमुना गाउँपालिका बन्नेछ।

नवीन लामिछाने

पत्रकार लामिछाने थाहाखबरका मनाङ समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]