|

धनगढी : कैलालीमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापनमा हुनुपर्ने माग राख्दै स्थानीय कृषकले आन्दोलन गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशका पाँच जिल्लामा मात्र पशु ज्ञान केन्द्र स्थापनाको निर्णय गरेपछि कैलालीका कृषक, पशुपालक तथा कृषि र पशुव्यवसायीहरू आन्दोलित भएका हुन्। उनीहरूले कृषिको उर्भर भूमिमा कृषि र पशु ज्ञान केन्द्रको माग गरेका छन्।

आइतबार भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्थापनको माग गर्दै धनगढीमा र्‍याली निकाले। जिल्ला प्रशासन कार्यालय, मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालय र भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै नाराबाजी  गरे।  

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्थापना संघर्ष समितिका संयोजक दिनेश लम्सालले सबै भन्दा बढी कृषि पेशा अंगालेको जिल्लामानै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नहुनु दुखद भएको बताए। 

‘प्रदेश सातमा आर्थिक रुपमा ७०, उत्पादनमा ८०,  लगानीमा ९० प्रतिशत र उपभोगमा ६० प्रतिशत हिंसा ओगटेको कैलाली जिल्लामा एउटा पनि भेटेरीनरी अस्पताल नहुनु दुखद हो, ’उनले भने, ‘ यो त खाना पकाउने मान्छेले नै खान नपाउने जस्तो भयो।’ विशेषज्ञ सेवा नहुँदा राज्यले ५ वर्षमा दोब्बर गराउने अर्थ नीतिमा प्रभाव पर्ने उनले बताए। कैलालीमा हाल १६० भन्दा बढी बोइलर फार्म, १०० वटा भन्दा बढी ब्यवसायिक गाई, भैंसी फार्म ,२०० बाख्रा फार्म, १७० बंगुर फार्म रहेका छन्। संघर्ष समितिका सचिव धनबहादुर चौधरीले भेटेरीनरीअस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नहुँदा सर्वसाधरण ब्यवसायी तथा कृषकहरू समस्यामा पर्ने बताए।  

 गत ३२ असार गते संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश ७ कञ्‍चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा र बझाङमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापनका लागि सिफारिस गरीएको छ। कृषि ज्ञान केन्द्र पनि कैलाली बाहेकका प्रदेश ७ का ६ जिल्लामा स्थापनाको लागि संघीय सरकारले प्रदेश सरकारलाई पत्राचार गरेको छ। 

कृषि ज्ञान केन्द्रको लागि कंचनपुर, डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरा रहेका छन्। संघीय सरकारको नीतिअनुरुप कैलाली डोटी र दार्चुलामा कृषिसम्बन्धी कुनै पनि कार्यालय स्थापनको सिफारिस गरिएको छैन। संघीय सरकारको नीतिले प्रदेश ७ को भूगोल समेट्न नसकेको भूमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख यज्ञराज जोशीले बताए। 

‘कैलालीमा ९० हजार हेक्टर भूमिमा खेती हुन्छ कंचनपुरमा ४५ हजार  हेक्टरमा खेती हुन्छ अनि यो बेला कैलालीमा राखिनु पर्ने हो तर त्यसो भएन’ कृषि विकास महाशाखा प्रमुख यज्ञराज जोशीले भने। डडेल्धुरा भन्दा डोटीमा बढी उत्पादन रहे पनि केन्द्रले डोटीमा नभइ डडेल्धुरामा भेटेरीनरीअस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापनका लागि पत्र आएको बताए। 

संघीय सरकारले ६ जिल्लामा कृषि ज्ञान केन्द्र र ५ जिल्लामा भेटेरीनरीअस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापनाको नीति लिएपनि प्रदेश सरकारले भने सबै जिल्लामा दुबै कार्यालय राख्ने तयारी गरेको भूमिब्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले बताइन्। 

प्रदेश सातमा संघीय सरकारले सहकारी प्रशिक्षण केन्द्र र सहकारी डिभिजन केन्द्र स्थापनाको लागि कुनै तयारी गरेको छैन। भूमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने कैलालीमा सहकारी प्रशिक्षण केन्द्र र बैतडी, डोटी र कंचनपुरमा सहकारी डिभिजन केन्द्र स्थापनाको लागि प्रदेश मन्त्री परिषद्मार्फत संघीय सरकारलाई आग्रह गर्ने बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.