|
फोटो : विवेक बस्याल

काठमाडौं : फिल्म 'प्रसाद'को छायांकन सकिएको छ। आइतवार ललितपुरमा रहेको राजु पेन्टर स्टुडियोमा चलचित्र पत्रकार संघ, नेपालका उपाध्यक्ष दिनेश सिटौलाले फिल्म छायांकनको इन्डक्ल्याप ठोकेका थिए। दिनेश राउत निर्देशित फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ।

इन्डक्ल्याप कार्यक्रममा निर्देशक राउतले फिल्म छायांकनमा सहयोग पुर्‍याउने सम्पूर्णलाई धन्यवाद दिए। उनले फिल्म निर्माण तथा छायांकनमा कुनै कसुर बाँकी नराखेको दावी गरे। निश्चल बस्नेतले यस फिल्ममा आफु केही फरक भूमिकामा प्रस्तुत हुन लागेको बताए। उनले भने, 'कलाकार भएर यस फिल्ममा मैले केही नाैलो भूमिका निर्वाह गरेको छु, जुन भूमिकामा मलाई विलकुलै फरक पाउनु हुनेछ।'

त्यस्तै, नायिका नम्रता श्रेष्ठ पनि यस फिल्ममा नयाँ चुनैती लिएको बताउँछिन्। उनी यस फिल्ममा एक गृहणीको भूमिकामा छिन्। इन्डक्ल्याप कार्यक्रममा फिल्मको अर्का मुख्य कलाकार विपिन कार्की भने उपस्थित भएनन्। उनी कार्यक्रमको औपचारिकता सकिएपछि मात्र देखिए।

इन्डक्ल्याप कार्यक्रममा नै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ। यस फिल्मले मंसिर २१ लाई आफ्नो प्रदर्शन मिति तोकेको छ।

पत्रकार सुशील पौडेलले लेखेको फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ। फिल्ममा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्।

फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.