शीर्ष नेतादेखि कुल घरानाका व्यापारी भएको समिति पहिलो बैठकमै बन्यो आक्रामक

|

काठमाडौं : सोमबार १० वटा संसदीय समितिको पहिलो बैठक सिंहदरबारमा एकै समय (दिउँसो ११) बजे राखियो। ११ बजे नै धेरै समितिको बैठक नबसे पनि केही समितिको बैठक २०/२५ मिनेटको अवधिमा बस्यो।

संसदको अर्थमसमितिको पहिलो बैठक भने तोकिएको समयभन्दा एक घण्टा ढिला गरी मात्रै सुरु भयो। तर, पहिलो बैठक नै  सशक्तरूपमा आफ्नो कार्यक्षेत्र भित्रका मन्त्रालय तथा बोर्डहरूमा देखिएका समस्याको विषयमा प्रवेश गर्‍यो। बजेट संशोधनदेखि अर्थ मन्त्रालयका कर्मचारीलाई अनुशासनमा राख्नेसम्मका कुराले बैठकमा प्रवेश पाए।

पहिलो बैठकमा अर्थसमिति

१. रोलनम्बर चारले चलाएको बैठक

अर्थसमितको पहिलो बैठक नै रोलनम्बर चारले चलायो। सभापति छनोट तथा निर्वाचित नभएसम्मका लागि ज्येष्ठ सदस्यले बैठक चलाउने प्रवधान रहेकोमा समितिमा रहेका सदस्यमध्ये ज्येष्ठ तीन सदस्ययको उपस्थिति देखिएन।

७५ वर्षीय सदस्य महन्थ ठाकुर,  ६३ वर्षीय  बाबुराम भट्टराई र ६३ वर्षीय विजयकुमार गच्छदारको अनुपस्थितिपछि रोलनम्बर चारमा पर्ने सदस्यबाट बैठकको सभापति भयो। सोमबारको पहिलो बैठब रोलक्रमका हिसाबमा चार अर्थात् ६२ वर्षकी कुमारीतुल्सी थापाले संचालन गरिन्।

२. शीर्षनेता पनि अनुपस्थित

अर्थमसितको बैठकमा ज्येष्ठ तीन सदस्यको उपस्थिति त भएन नै शीर्ष नेताहरू र पूर्वमन्त्रीहरूको उपस्थिति पनि देखिएन। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई उपस्थित रहेनन्। उमेर समूहका हिसाबले पनि उनीहरू पहिलो र दोस्रो हुन्। त्यस्तै कांग्रेस महामन्त्री शंशाक कोइराला तथा नेकपाका महासचिव विष्णु पौडेल पनि यही समितिमा छन्। यी दुवैजना पहिलो बैठकमा अनुपस्थित रहे।

त्यस्तै अर्थ समितिमा पूर्वप्रधानमन्त्रीसहित चारजना पूर्वअर्थमन्त्री रहेकोमा एकजनाको मात्रै उपस्थिति रह्‍यो। ती थिए पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे। तीबाहेकका पूर्वअथमन्त्री भट्टराई, पौडेल र ज्ञानेद्रबहादुर कार्की बैठकमा उपस्थित भएनन्।

ठूला घरानाका व्यापारीको रूपमा चिनिने दुई व्यापारी पनि यही समितिमा छन्। यी दुवैजना मोतिलाल दुगड र जुली महतो सोमबारको बैठकमा उपस्थित भए। दुगडले समितिलाई प्रभावकारी बनाउनसमेत आफ्नो राय राखे।

उमेर समुह, शीर्ष नेता, र पूर्वअर्मथन्त्री मात्रै होइन केही चर्चित युवा नेताहरू पनि यो समितिमा रहेका छन्। युवा नेतृ रामकुमारी झाँक्री बैठकमा अनुपस्थित रहिन् भने अर्का नेता महेश बस्नेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने मन्त्रालयमा भएको विकृति औँल्याउन भ्याए।

पूर्वअर्थमन्त्री पाण्डेले अर्थसमितिलाई प्रभावकारी बनाउन बैठकमा सधैँ उपस्थित हुनुपर्ने र छिटोछिटो बैठक राख्नुपर्ने धारणा राखे। तर, अर्थसमितिको पहिलो बैठकमा २५ मध्ये १० सदस्य उपस्थित भएनन्।

३.आक्रमक बन्यो बैठक

समितिको कार्यक्षेत्रसम्बन्धी छलफलमा समितिका सदस्यहरू आक्रामक रूपमा प्रस्तुत भए। पूर्वअर्थमन्त्री पाण्डेले समितिको महत्व र सरकारलाई प्रभावकारी काम गर्नका लागि समितिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे जनताका धेरै विषयमा जोडिने अर्थ मन्त्रालय र मातहतका निकाय आफ्नो कार्यक्षेत्रमा पर्ने भएको कारण समितिले प्रभावकारी काम गर्नुपर्ने  पाण्डेले बताए। 'कति मान्यहरू नयाँ हुनुहुन्छ होला तर म विगतमा पनि यही समितिमा छु हामीले प्रभावकारी काम गर्नुपर्छ, यसका लागि नियमित बैठकमा गहन छलफलमा लागि उपस्थिति प्रमुख पाटो हो' पाण्डेले भने।

बैठकमा पूर्व-उद्योगमन्त्रीसमेत रहेका महेश बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीमा देखिने प्रवृत्ति सुधार्न आवश्‍यक रहेको भन्दै समितिले प्रभावकारी काम गर्नुपर्ने बताए। साथै अर्थ मन्त्रालय पार्टी र सरकारको मान्यताविपरीत कर वृद्धि गर्दै अघि बढेकाले ठाउँमा लिनुपर्ने धारणा राखे।

'अर्थमन्त्रालयका कर्मचारी यहाँ हामीभन्दा जान्ने कोही छैन हामीले भनेपछि सबै हुन्छ भनेजसरी प्रस्तुत हुन्छन्, यस्तो प्रवृत्ति राखेर हुँदैन' बस्नेतले भने । उनले साइकलदेखि घोडासम्ममा कर वृद्धि गर्ने अर्थ मन्त्रालयको कदममाथि पनि हस्तक्षेप गर्नुपर्ने धारणा राखे। 'हाम्रो नीति एकातर्फ छ, यहाँ सोलारबाट चल्ने टेम्पोमा पनि कर बढाइएको, कतै साइकलमा पनि कर बढाएको कुरा सुनिएको छ, यसरी हुँदैन' बस्नेतले भने।

साथै उनले सरकारको भावनाविपरीत बजेट आएको सन्दर्भमा बजेट संशोधन गरेर अघि बढ्नुपर्ने धारणासमेत राखेका थिए। त्यस्तै समितिका अर्का सदस्य मोतिलाल दुगडले सरकारी क्षेत्रमा हुने भ्रष्टाचार न्यूनीकरणमा समितिले प्रभावकारी काम गर्नुपर्ने धारणा राखे। 'म पनि व्यापारिक समूहको मान्छे हो, तर यहाँ भ्रष्टाचार बढेको बढेकै छ, भ्रष्टाचार बढाएर सुशासन कायम हुँदैन न्यूनीकरणका लागि समितिले प्रभावकारी काम गर्नुपर्छ' महतोले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.