|

तनहुँ : देशैभरका निजी इन्स्टिच्युटमा हुने प्राविधिक शिक्षाको परीक्षा स्थगित भएको छ। आइतबार प्रश्नपत्र हराएपछि देशैभरका निजी इन्स्टिच्युटमा हुने प्राविधिक शिक्षाको प्रवेश परीक्षा स्थगित गरिएको हो।

सोमबार बिहान सीटीइभीटीले वेबसाइटबाट सूचना प्रकाशित गरी परीक्षा स्थगित भएको जानकारी गराएको छ। दमौलीको गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरमा ल्याइदै गरेको प्रश्नपत्र बाटोमै हराएपछि परीक्षा स्थगित गरिएको सीटीइभीटीले जानकारी दिएको छ।

सोमबार हुने परीक्षाका लागि आइतबार सेन्टरका शिक्षक प्रेमचन्द्र यादवले प्रश्नपत्र लिएर आउँदै गर्दा आफू दुर्घटनामा परेको बताएका थिए। आइतबार डुम्रे नजिकैको पृथ्वी राजमार्गमा दुर्घटनामा परेको बताएका यादवले प्रश्नपत्र रहेको झोला समेत हराएको भनेपछि खोजी गरिएको थियो।

सोमबार बिहानसम्म पनि प्रश्नपत्रको झोला खोज्न प्रहरी परिचालन गरिएको भएपनि नभेटिको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए। घाइते भनिएका यादवले मोटरसाइकल दुर्घटनालगत्तै अस्पताल जानु परेको र पछि घटनास्थलमा जाँदा प्रश्नपत्र हराएको बयान दिएको शाहले बताए । प्रश्नपत्रको खोजीका लागि प्रहरीले टोली खटाएको थियो।

दिउँसो २ बजे सुरु हुने परीक्षाका लागि बिहानसम्म प्रश्नपत्र नभेटिएपछि सीटीइभीटीले वेबसाइटमा सूचना जारी गरेर परीक्षा स्थगित गरेको जनाएको छ। देशैभर दिउँसो २ बजे पूर्ण शुल्कीयतर्फ सीएमए, एएनएम, एग्रीकल्चर, जेटिए लगायतका प्राविधिक विषयका लागि प्रवेश परीक्षा लिने तयारी गरिएको थियो। निजी इन्स्टिच्युटमा सोमबार सञ्चालन हुने प्राविधिकतर्फको प्रवेश परीक्षा स्थगित भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.