तिज गीतमार्फत विमानस्थलको प्रचार

|

बागलुङ : २६ वर्ष पहिला हवाई सेवा बन्द भएको बागलुङको बलेवा विमानस्थल गत चैत महिनामा सञ्चालनमा आएपछि यसको विषयमा सकारात्म र नकरात्मक चर्चा गर्ने क्रम बढ्दै गएको छ। नगरपालिकाले दुई विमान कम्पनीलाई अपुग यात्रुको भाडा सोधभर्ना गर्ने गरी सञ्चालनमा ल्याएको विमानस्थलका विषयमा कसैले नगरलाई नै कंगाल बनाउने खेल भन्दै आएका छन् भने कसैले यसको व्यपाक प्रचारप्रसार गरेर विमानस्थल नियमित सञ्चालनको पहल गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
सामाजिक सञ्जाल, सञ्चारमाध्याम र सार्वजनिक सभा समारोहमा चर्चाको विषय बन्दै आएको विमानस्थललाई यहाँका एक गायक जोडीले यसपालिको तिज गीत नै बनाएर थप चर्चामा ल्याउने प्रयास गरेका छन्। बलेवा क्षेत्रको विकास र प्रवर्धनका लागि बागलुङे सर्जक जोडी पूर्ण परियार र सीता परियारले ‘बलेवामा हवाईजहाज सरर’ बोलको गीत बजारमा ल्याएका हुन्। 

पूर्ण परियारको लय शब्द र सीता परियार र पूर्ण परियारको स्वर रहेको बलेवामा हवाई जहाज सरर गीतमा विमानस्थल सञ्चालनमा आएपछि बागलुङवासीमा छाएको खुसी र त्यस क्षेत्रको पर्यटन तथा यातायात क्षेत्रको विकासमा पुग्ने योगदानको विषयमा चर्चा गरिएको छ। २०७५ सालको तिजको अवसर पारेर सार्वजनिक गरिएको गीतले बागलुङको पर्यटन विकासमा टेवा पुग्ने गायक तथा शब्द संकलक पूर्ण परियारले दाबी गरे। गीतको विमानस्थलमानै छायांकन गरिएको छ।

उक्त गीतमा पछिल्लो समय व्यापक रुचाइएका कलाकार प्रकाश सपूतको उत्कृष्ट नृत्य रहेको छ, सपूतलाई स्मृति खवासले साथ दिएकी छिन। एरेन्ज तारानाथ आचार्य, छायांकन गणेश सापकोटा, सम्पादन रमन माली, नृत्य निर्देशन शिव परियार र निर्देशन स्वयं पूर्ण परियारको रहेको छ।

तिजको मौका पारेर रत्यौली गाउनुको साटो पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने र प्रचारप्रसार हुने खालका गीतमा ध्यान दिइएको परियारले बताए। ‘गीत गाएर नाफा कमाउनभन्दा पनी आफ्नो ठाउँको प्रचारप्रसार र विकासमा टेवा पुग्ने गरी गीत बजारमा ल्याएका हौँ’ परियारले भने ‘आर्थिक समृद्धिको रटान रटेर मात्रै हुँदैन सबै क्षेत्रबाट त्यसको लागि लगानी गर्न जरुरी छ।’ परियार जोडीले हरेक वर्ष नयाँ नयाँ तिज गीत बजारमा ल्याउने गरेका छन्। 

हेर्नुस् भिडियाे :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.