|

उदयपुर : साउन ७ गते कटारी नगरपालिका-२ गुराँसमा हंसबहादुर कार्कीका १० वर्षीय छोरा विपन कार्कीको सर्पको टोकाईबाट मृत्यु भयो। अनि गाउँनै शोकाकुल बन्यो। घरै हजुरआमासँग सुतेका बालकलाई सर्पले बेरेको हजुरआमाले राती १२ वजे देखिन्। सर्पले खुट्टा बेरर बसेको थियो।

सर्प घरभित्रै फेलापारी मारे पनि बालकले आफूलाई सर्पले नटोकेको दावी गरे। परिवारले हत्तार हतार कटारीकै बेलस्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा उपचारमा पुर्‍यायो। तर समयमै उपचार नभएपछि बालकको मृत्यु भएको मृतकका ठूलोबाबा मेघबहादुर कार्कीले गुनासो गरे। ‘सर्पदंश उपचार केन्द्रमा पनि दुई पटकसम्म भोमिटिङ गरेपछि एन्टीस्नेक भेन औषधि दिएको थियो,’ मेघबाहादुरले भने,‘राम्रो खालको औषधि परेन छ कि क्या हो। थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममाम बाटोमा मृत्यु भयो।’ यस्तै अर्को घटना पनि कटारीकै छ।

गएको साउन १६ गते कटारी नगरपालिका-२ स्थित गिद्धाबर घर भएकी २३ वर्षीय यशोदा कट्टेललको पनि सर्पकै डसाईबाट ज्यान गयो। घर लिपपोत गर्न माटो लिन गोठमा गएको बेला कट्टेललाई सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई कटारी-१स्थित बेल स्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा परिवारले लगे। तर उपचारको लागि पर्याप्त उपकरणहरू उपचार केन्द्रमा नभएपछि बाहिर लैजान सुझाव आयो। थप उपचारको लागि चोहर्वा आर्मी क्याम्पमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटोमै मृत्यु भयो। 

उदयपुरको कटारी नगरपालिकामा सर्पले डसेर दुई जनाको मृत्यु उदाहरणमा मात्र हुन्। उदयपुरको वेलका, चौदण्डी, त्रियुगा र कटारी नगरपालिकामा सर्पको टोकाईबाट विरामी परेर उपचार नपाइन अकालमा ज्यान गुमाउनेको संख्या धेरै छ। सर्पदंशबाट दुई महिनामा ६ जनाको मृत्यु भइसकेको छ। सर्पदंश उपचार केन्द्रमा औषधि र उपकरण अभावका कारण मृत्यु हुने गरेको पीडितका परिवारको भनाइ छ।

सर्पले टोकेर कटारी नगरपालिकामा-४ जना, बेलका र चौदण्डी नगरपालिकामा एक-एक जनाको मृत्यु भइसकेको छ। सदरमुकाम गाईघाटको भुल्केमा सेनाले सञ्चालन गरेको सहित चार सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा छ। सेनाको उपचार केन्द्रमा औषधि पर्याप्त भए पनि अन्य केन्द्रमा अभाव छ। जेठयता ताराघारी केन्द्रमा सर्पले टोकेको आशंकामा ६५ जना उपचारका लागि पुगिसकेका छन्। बेल्सोत केन्द्रमा ७६, बेलका नगरपालिकाको उपचार केन्द्रमा ७८ र भुल्केमा ८० जनाले उपचार गराएको ती केन्द्रको तथ्यांकले देखाउँछ।

सर्पदंश उपचार केन्द्रमा पर्याप्त औषधि छैन

ताराघारीस्थित सर्पदंश उपचार केन्द्रमा सेनाले ३० देखि ४० भाइल स्नेक एन्टिभेनम उपलब्ध गराउने गरेको छ। ताराघारीस्थित सर्पदंश उपचार केन्द्र व्यवस्थापन समिति सदस्य अमित श्रेष्ठले सर्पले टोकेका बिरामीलाई नै पाँचदेखि १० भाइलसम्म प्रयोग हुने औषधि पर्याप्त नहुँदा समस्या हुने गरेको जानकारी दिए। वेलका नगरपालिका आफ्नै पहलमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। बेलका नगरपालिकामा गएको वर्षबाट सञ्चालनमा ल्याइएको सामुदायिक सर्पदंश उपचार केन्द्रले अहिले सर्वसाधरणलाई राहात दिएको छ।

कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले अझै आफ्नो शाखा जिल्ला स्वास्थ्य कार्यालय मातहत रहेकाले जिल्ला स्वास्थ्यमार्फत विभाग र केन्द्रमा स्नेक एन्टिभेनम माग गर्नु पर्ने बाध्यता रहेको बताए। मुख्य रुपमा कटारीमा सर्पदंशको उपचार प्रभावकारी नहुँदा सर्वसाधारण चिन्तित बनेका छन्। 

भित्री मधेसमा सर्पको विगविगी

अघिल्ला वर्षहरूमा सर्पको टोकाइको कारण सर्वसाधरण ज्यान गुमाउँदै नआएका होइन। उदयपुरको कटारी, सिन्धुलीको कमलाखोँच क्षेत्रमा यो वर्ष पनि सर्पको बिगबिगी बढेको स्थानीयको भनाइ छ। सिन्धुलीको दुधौली नगरपालिका, उदयपुरको कटारी, त्रियुगा, चौदण्डी र वेलका नगरपालिका चुरे जंगल र महाभारतको काखमा पर्ने भित्री मधेसमा पर्दछ। विशेष गरेर यही भित्री मधेसमा सर्पदंशको त्रास फैलिएको छ। 

पर्याप्त पूर्वाधार सहितको उपचार केन्द्र सञ्चालन गरिनु पर्ने सर्वसाधारणको माग छ। सरकारी स्तरबाटै घर वरपर सर्प आउन नदिन विभिन्न प्रकारका विषादी प्रयोग गर्न सके सर्पको डसाईमा कमी आउने स्थानीयको गुनासो छ। विज्ञहरूका भनाइ अनुसार नेपालमा ७९ प्रकारका सर्पहरू पाइन्छन्। जसमा अधिकांश सर्प उदयपुर र सिन्धुलीको भित्री मधेसमा पाइने गरेका छन्। करेट र गोमन सर्पको टोकाइले धेरै ज्यान लिने गरेको सर्वसाधारण बताउँछन्। करेट र गोमन सबैभन्दा विषालु सर्पमा पर्दछन्।

कटारी अस्पतालमै सर्पदंश उपचारको व्यवस्था मिलाउन सांसदको माग

उदयपुरको कटारी अस्पतालबाटै सर्पदंशको उपचार गर्ने व्यवस्था मिलाउन निर्वाचन क्षेत्र २ का सांसद सुरेशकुमार राईले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई आग्रह गरेका छन्। उदयपुरको कटारीमा रहेको आर्मी क्याम्पमा सर्पदंशको उपचार हुने गरे पनि दक्ष जनशक्ति र विषमापन गर्ने प्रविधि नरहेको कारण समस्या आउने गरेको भन्दै सांसद राईले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएका हुन्। उपचारका लागि भेन्टिलेटरसहितको एम्बुलेन्स, औषधि,अक्सिजन कन्सन्टेटरलगायतका आवश्यक सामग्रीको माग गरेको संसद राईले जानकारी दिए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.