|

पर्वत : पेसाले शिक्षक रहेका पर्वतको फलेवास नगरपालिका-२ थापाठानाका गणेश शर्मा जिल्लाको शिक्षा क्षेत्रमा कहलिएको नाम हो। धेरै शिक्षकहरूको जागिर गर्ने समय बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म मात्र हो। तर शर्मालाई भने विद्यालयमा रमाउन पाएपछि जागिरे समय त के दिन र रात अनि बर्खे बिदा पनि केही होइन। 

उनी जागिरका लागि विद्यालय जाँदैनन्। उनको उद्देश्य छ– नमुना शिक्षक बनेर अहिलेसम्म जसरी प्रशंसापत्र, सम्मानपत्र कोठाभरि भरिएका छन्, तिनै सम्मानको इज्जत राख्न विद्यालयलाई नमुना बनाउनु। उनी हरेक दिन साँझ र बिहान पनि आफ्नो कर्मथलो थापाठाना माध्यमिक विद्यालयमा नै भेटिन्छन् उनी। 

मेरो त प्रशंसा गर्लान् तर म जन्मेको गाउँको विद्यालयले के पाउँछ? यो त सधैँ अँध्यारो हुन्छ। त्यसैले जन्मेकै गाउँमा बसेर विद्यालयको माध्यमबाट ज्योति छर्नु मेरो मर्ने बेलासम्मको चाहना हो’, उनी भन्छन्।

फलेवास नगरपालिका-२, थापाठानाको माक्रेमा २०३८ सालमा आमा कृष्णमाया र बुबा चन्द्रदत्तबाट जन्मिएका शर्माले वाणिज्यशास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन्। २०५९ सालबाट थापाठाना माविमा निमावि दरबन्दीमा रहेर अस्थायी सेवा सुरु गरेका शर्मा आफू स्थायी बन्नुभन्दा पनि विद्यालय र विद्यार्थीको बाटो उज्यालो पार्न नै लागिरहेका छन्। दर्जनौँ सम्मान पाइसकेका उनलाई राजनीतिले कहिल्यै पनि छुन सकेन। उनी भन्छन्, ‘म सामान्य मतदाता मात्र हुँ। समाजका आदर्श मानिने शिक्षकले नै दलीय झण्डा बोक्ने हो भने जागिर किन खाने?’ 

गणेश शर्मालाई विशेषतः गण्डकी प्रदेशमा नै कुशल पुस्तकालय व्यवस्थापकको रूपमा चिनिन्छ। विद्यालयमा रहेको पुस्तकालय बन्द हुन लागेको अवस्थामा उनले नियुक्ति पाए र २०६६ सालबाट उनलाई ‘लाइब्रेरियन’को रूपमा राखियो। उनको आगमनसँगै बन्द हुन लागेको पुस्तकालय अहिले गण्डकी–धौलागिरीकै नमुना पुस्तकालय बनेको छ। विद्यार्थीहरूलाई नै जिम्मेवार बनाएर पुस्तकालय संचालनको नयाँ अभ्यास सुरु गरेपछि मौलिक र बालमैत्री वातावरणबाट विद्यालय अगाडि बढ्यो।

 

पुस्तकालयको व्यवस्थापनमा पनि दर्जनौँ पुरस्कार पाएपछि तत्कालीन एसएलसी परीक्षाको सुधार गर्नकै लागि विद्यालयले उनकै नेतृत्वमा समूह निर्माण गर्‍यो, जसका कारण १० कक्षाको नतिजामा विद्यालयले राम्रो उपलब्धि पायो। 

विद्यालयलाई राम्रो बनाउन आफ्नो सम्पत्ति अर्पण गर्न पछि नपर्ने गणेशले आफ्नो तलबबाटै विद्यालयमा धेरै राम्रा कामहरूको सुरुवात गरेका छन्। उनकै अभियानमा विद्यालयमा खानेपानी आयोजना बन्यो। उनी दिनरात नभनी दाताको खोजीमा लागेर चन्दा संकलन गर्न सफल भए, जसका कारण अहिले विद्यालयका प्रत्येक कोठामा बेसिनसहितका धाराहरू निर्माण गरिएका छन्। शर्माको कामबाट विद्यालयले जिल्लामै नाम कमाउँदै विद्यालयका प्रधानाध्यापक विष्णु शर्मा पनि कम्ती खुसी छैनन्। उनी भन्छन्, ‘उहाँले आफ्नो तलबको केही हिस्सा गरिब, दलित विद्यार्थी, विद्यालय र सामाजका अन्य काममा पनि खर्च गर्नुहुन्छ।’ यति मात्र होइन, तत्कालीन गाविस कार्यालयमा निःशुल्क रूपमा फुर्सदमा सघाउने गरेका गणेश सरले अहिले पनि नगरपालिका र वडा कार्यालयका आफूले जानेका कामहरू निःशुल्क गर्दै आएका छन्। 

विद्यालयमा राम्रो काम गरेको देखिपछि आफूलाई जिल्ला र जिल्लाबाहिरका धेरै विद्यालयबाट जागिरका लागि अवसर आएको भए पनि आफूलाई त्यसमा मज्जा नआउने उनको भनाइ छ। अरूले नै विकास गरिदिएको राम्रा र रमाइला ठाउँमा जाँदा आफ्नो कमजोर गाउँ झनै पछाडि पर्ने भएकाले आफूलाई आएका दर्जनौँ राम्रा अवसरलाई पनि छाडेको उनी सुनाउँछन्। ‘पैसा मात्र कमाऊँ भन्ने सोचेको भए लखपति बन्न सक्ने थिएँ तर मलाई पैसाको लोभ छैन। आधा तलब त घर नै लैजान्नँ। सबै सामाजिक काममा खर्च हुन्छ’, उनी थप्छन्, ‘कामका लागि धेरै अवसर आए तर मलाई अन्यत्रको स्वर्गभन्दा मलाई मेरै गाउँको नर्क प्यारो लाग्छ।’

जहाँ गए पनि काम नगरी खान नपाइने भएकाले आफ्नै गाउँको विद्यालयमा रहेर गाउँका सन्तानलाई उज्यालो दिनुमा सबैभन्दा आनन्द लाग्ने उनको भनाइ छ। ‘अर्काको ठाउँमा गएर सुधार गरेमा फलानो आएको थियो, यस्तो राम्रो गर्‍यो, गयो त भन्लान्, मेरो त प्रशंसा गर्लान् तर म जन्मेको गाउँको विद्यालयले के पाउँछ? यो त सधैँ अँध्यारो हुन्छ। त्यसैले जन्मेकै गाउँमा बसेर विद्यालयको माध्यमबाट ज्योति छर्नु मेरो मर्ने बेलासम्मको चाहना हो’, उनी भन्छन्।

थापाठानाका वडाध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘हरेक गाउँमा एउटा ज्यूँदो मान्छे चाहिने रहेछ, जसलाई केहीको पनि लोभ नहोस्। स्कुलको काम पर्दा कति समय यहीँ पुस्तकालयमा बसेर घर नगएको मैले देखेको छु। उहाँकै कारण गाउँको विद्यालय जिल्लाकै नमुना बनेको छ। उहाँ यो वडाकै गौरवको पात्र हुनुहुन्छ।’

भाग्यमा भन्दा बढी कर्ममा विश्वास गर्ने शिक्षक गणेश शर्माले बजारमा आएका नयाँ पुस्तक आफ्नै पैसाले किनेर अध्ययन गर्छन् अनि विद्यार्थीहरूलाई निःशुल्क रूपमा बाँड्ने गर्छन्। उनी दैनिक शिक्षण क्रियाकलापमा आवश्यक पर्ने शैक्षिक सामग्रीहरू आफैँले निर्माण गर्छन्। त्यसैले पनि उनको विषयको नतिजा हरेक परीक्षामा उत्कृष्ट आउने गर्छ। शत्रु नभएसम्म प्रगति हुन नसक्ने बताउने उनले अरूले आफ्नो कामको विरोध गर्दा समेत सकारात्मक तरिकाले बुझाउने गरेका कारण विरोध गर्नेहरूले पनि आफ्नो काममा सघाइरहेको अनुभव सुनाउँछन् उनी।

शिक्षक शर्माले व्यवस्थापन गरेको पुस्तकालय हेर्न गण्डकी प्रदेशका ठूला कलेजदेखि प्रध्यापकहरू पनि पुग्ने गरेका छन्। शिक्षक शर्माकै महत्त्वपूर्ण देनका कारण शैक्षिक भ्रमणको एउटा रोजाइ उनको विद्यालय पनि बनेको छ। पर्वतमा आएका जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारी सायदै होलान्, जसले उनलाई सम्मान नगरेका हुन्। 

उनले विद्यालय र समाजका लागि दिएको योगदानका कारण नै विद्यालय उत्कृष्ट शिक्षक, जिल्ला उत्कृष्ट शिक्षक, उत्कृष्ट पुस्तकालय अध्यक्ष सम्मान, धौलागिरी उत्कृष्ट पुस्तकालय व्यवस्थापन सम्मान, रुम टु रिड सम्मान, जिल्ला शिक्षा पुरस्कार, भिवाससीसी पुरस्कार, साविकको गाविस सम्मान, वर्तमान वडा तथा नगर सम्मानलगायतका दर्जनौँ सम्मान र पुरस्कारहरू प्राप्त गरेका छन्। यसबाहेक उनले सन् २०१५ मा ‘युनिभर्सल पिस फेडरेसन’बाट ‘एम्बासडर फर पिस अवार्ड’ पनि प्राप्त गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.