|

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा यही साउन २४ मा उपकुलपति प्रा.डा. गणेश गुरुङको कार्यकाल समाप्त हुने भएपछि नयाँ उपकुलपतिको खोजी भइरहेको छ। प्रतिष्ठान ऐनअनुसार प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्रीको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले न्याम्सको उपकुलपतिको नियुक्ति गर्ने प्रचलन छ।

अबको चार वर्षसम्म उपकुलपति बन्न डा. भगवान कोइराला, डा. श्रीकृष्ण गिरी, डा. सीताराम चौधरी, डा. अनिल मिश्र,  डा. डिएन शाह,  डा. श्रवणकुमार चौधरी तथा निवर्तमान उपकुलपति प्रा.डा. गुरुङ पनि लागिपरेका छन्। दोस्रो कार्यकालका लागि लविङ गरिरहेका गुरुङमाथि ट्रमा सेन्टरको भ्रष्टाचार, सिटी स्क्यान मेसिन खरिदसम्मका प्रकरणमा सतर्कता केन्द्रले छानविन गरिरहेकाले उनको लविङ बलियो बन्न सकेको छैन।

डा. भगवान कोइरालाले गंगालाल हृदय रोग केन्द्र र त्रिवि शिक्षण अस्पतालको मनमोहन मुटु अस्पतालको नेतृत्व गरिसकेका  छन्। यस्तै, डा. श्रीकृष्ण गिरी हाडजोर्नीका वरिष्ठ डाक्टर हुन्। न्याम्सका पूर्वरजिष्ट्रार हुँदै स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख भएर अनुभव लिइसकेका गिरी शिक्षामन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन्।

अर्का आकांक्षी डा. सीताराम चौधरी न्याम्सकै पूर्वडिन हुन् भने डा. अनिल मिश्र वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्। डा. डिएन शाह आँखा रोग विशेषज्ञ हुन्।

यस्तै, भिसीको दौडमा वर्तमान स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका श्रीमान् डा. श्रवणकुमार चौधरीको समेत चर्चा रहेको छ। चौधरी वीर अस्पतालका पूर्वनिर्देशक हुन्। न्याम्सको रजिष्ट्रारमा भने वीरकै वरिष्ठ कलेजो रोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार तथा हालका मन्त्रिपरिषद्का चिकित्सक डा. दिलीप शर्माको चर्चा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.