|

रुकुम : रुकुम चौरजहारी अस्पतालमा एक बिरामीको उपचारको क्रममा मृत्युभएपछि मृतकका आफन्त आक्रोशित बनेका छन्। आइतबार उपचारका क्रममा एक मृगौला संक्रमित बिरामीको मृत्यु भएपछि मृतकका आफन्त दुर्इ दिनदेखि आन्दोलित बनेका छन्।

आक्रोशित बनेका आफन्तले अस्पताल तोडफोडमा उत्रियपछि भीड नियन्त्रण गर्न रुकुम प्रहरीले नौ राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको छ। आइतबार मात्र भीड नियन्त्रण गर्न तीन राउण्ड हवाई फायर गरेको थियो। जाजरकोट भेरी नगरपालिका-१३ निवासी २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारको आइतबार अस्पतालमा मृत्यु भएको थियो।

मृगौला संक्रमणको समस्या हुँदा चार दिनअघि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी मल्ल रोकायको एक्कासी मुटको धडकन बढेर उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। तर मृतकका आफन्तले अस्पतालको गलत सुइका कारणले गर्दा मृत्यु भएको आरोप लगाएका छन्।

रोकायको मृत्युपछि आक्रोशित बनेका आफन्तले अस्पतालमा ढुंगामुढा गर्दा झ्यालका सिसा, ढोका र केहि फर्निचरहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। उनका अनुसार मृतक परिवार र अस्पताल प्रशासनबीच बार्ता र सहमतिबाट समस्या समाधान गर्न पहल गरिए पनि टुंगोमा पुगेको छैन।

अस्पतालमा भइरहेको आन्दोलनका कारण अस्पतालमा भर्ना भएका अन्य बिरामीहरूको उपचार प्रभावित बनेको छ। रुकुम, सल्यान र जाजरकोटको सहज पहुँचमा रहेको चौरजहारी अस्पतालमा दैनिक बिरामीहरुको भीड लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.