|

काठमाडौं : थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक युनिभर्सिटी थाइल्यान्ड जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल जुडो संघले स्वागत गरेको छ। अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो।

प्रतियोगितामा नेपाल समग्रमा तेश्रो भयो। आयोजक थाइल्यान्ड ७ स्वर्णसाथ टिम च्याम्पियन बन्यो भने जापान २ स्वर्ण र ३ रजतसाथ तेश्रो स्थानमा रह्यो। प्रतियोगितामा १४ राष्ट्रका १ सय पुरुष र ६९ महिला खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले स्वागत गरेका थिए। पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए। १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरे। उनले थाइल्यान्डका २ तथा युएई र जापानका खेलाडीलाई हराए।

११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनीताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई हराइन्। महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन्। पुनमले लाओसकी खेलाडीलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसंग चुकिन्। त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन्। गत संस्करणमा नेपालले उक्त प्रतियोगितामा २ कांस्य जितेको थियो। इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.