|

काठमाडौं : पुष्प खड्कालाई फिल्म क्षेत्रका स्टार कलाकार मान्निन्छ। धेरै म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको मन जित्न सफल उनले २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘दर्पण छाया २’ बाट आफ्नो फिल्मी करिअरको सुरुवात गरेका थिए। ‘दर्पण छाया २’ बाट सफलता पाउन नसकेका पुष्पलाई उनको दोस्रो फिल्म ‘मंगलम’ले ठूलो राहत दिएको छ। मंगलम व्यापारिक रूपमा सफल भएको छ भने पुष्पको कामको पनि धेरै तारिफ भएको छ।

पुष्पमा सानैदेखि फिल्म खेल्ने चाहना थियो। सानैदेखिको सोच फिल्म खेल्नु भएकाले पनि उनले फिल्म खेल्नका लागि धेरै मिहिनेत गरेको बताउँछन्। उनी भन्छन्, ‘मेरो सानैदेखिको सोच फिल्म खेल्नु भएकाले मैले फिल्म खेल्न धेरै संघर्ष गरेको छु।’

पुष्पले पहिलो पटक क्यामेरा फेस एउटा विज्ञापनमा गरेका थिए तर विडम्बना! उनले अभिनय गरेको उक्त विज्ञापनमा उनको रोल काटियो। उनी सम्झन्छन्, 'मैले पहिलो पटक क्यामेरा फेस गरेको विज्ञापन बज्यो तर मेरो रोल भने देखाइएन।' त्यसबेला निकै दु:ख लागेको बताउँछन् उनी।

जब उनले अभिनय गरेको पहिलो विज्ञापनबाट आफ्नो रोल काटियाे, त्यसपपछि सोचे, 'मैले गरेको मिलेन होला र त काटियो। म अभिनयका लागि होइनरहेछु।' तर पनि उनलाई साथ र हौसला दिने केही साथी थिए, जसले उनलाई फेरि केही गर्न प्रेरणा दिए। साथीहरूले उनलाई अभिनय सिक्न सुझाए। पुष्पले पनि त्यो कुरालाई स्वीकार्दै अनुप बरालसँग अभिनय कक्षा लिए।

अभिनय सिकेर पनि सकियो, काम गर्न सक्छु भन्ने पनि छ तर काम छैन। धेरै निर्माता/निर्देशकसँग भेटिसकेका थिए उनले- फिल्म वा म्युजिक भिडियो खेल्नका लागि। सबैले उनलाई आफ्नो प्रोजेक्टमा लिने आश्वासन दिन्थे तर कसैले दोहोर्‍याएर कुरा गर्दैनथे।

आलोक नेम्वाङले दिए भिडियोमा चान्स 

भौँतारिँदै गर्दा उनको भेट म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङसँग भयो। आलोकसँग सामान्य चिनजान गरेर पुष्पले नम्बर लिए। केही समयपश्चात् पुष्प पुन: आलोकलाई भेट्न गए। भेटमा आलोक र गायक हेमन्त शर्मा सँगै थिए। पुष्प त्यहाँ पुगे। ‘एउटा सानो रोल छ गर्छौ?’, आलोकले पुष्पलाई सोधे। पुष्पले हत्तारिएर 'हुन्छ' भने।

उनको पहिलो म्युजिक भिडियोको रूपमा हेमन्त शर्माले स्वर दिएको गीत 'के माया गर्न हुन्न र?’ थियो। भिडियोमा गायक शर्मा आफैँ प्रमुख रूपमा प्रस्तुत भए पनि पुष्पको कामको चर्चा नै भयो।

पुष्पले पुनः अलोककै दोस्रो म्युजिक भिडियोमा काम गरे। दोस्रो भिडियोबाट पनि उनले सफलता नै पाए। यसपछि उनको चर्चा झनै चुलियो। यो भिडियोपश्चात् उनलाई धेरै मात्रामा म्युजिक भिडियोको अफर आयो। उनले लगातार अफर आएका भिडियोहरू गर्दै गए।

संख्यात्मक रूपमा उनले अभिनय गरेको म्युजिक भिडियो धेरै भइसकेका थिए तर पुष्पलाई फिल्म खेल्नु थियो। भन्छन्, 'जति पनि म्युजिक भिडियोमा काम गरेँ, त्यो फिल्म खेल्नका लागि थियो।'

उनको लक्ष्य फिल्म खेल्नु भएकाले पनि म्युजिक भिडियोमा व्यस्त हुँदा पनि ध्यान फिल्ममा नै थियो। उनी धेरै निर्माता निर्देशककहाँ पुगेका छन्। स्क्रिप्ट सुनेका छन्। मैखिक रूपमा फाइनल पनि भएका छन् तर फिल्ममा अभिनय गर्ने मौका भने पाएका थिएनन्। 

एउटा ठूलो व्यानर अनि राम्रो निर्देशकले पनि उनलाई यस्तो आश्वासन दिएको छ। 'मलाई एउटा ठूलो व्यानरको चर्चित निर्देशकले फिल्म खेलाउने पक्का गर्नुभएको थियो। त्यस फिल्मको क्यारेक्टरका लागि मैले एक महिना वर्कसप पनि गरेँ', उनी भन्छन्, 'एक महिनापछि त अर्कै हिरो फाइनल भएर सुटिङमा गएछ।'  

यो परिस्थितिलाई झेल्न निकै गाह्रो भएको पुष्प बताउँछन्। 'मलाई त थाहा पनि थिएन अर्को हिरो फाइनल भयो भन्ने', उनी थप्छन्, 'मलाई अरू कसैले भन्यो। त्यो समय मलाई निकै गाह्रो भएको थियो।' उनी सपनाको नजिक पुग्दै थिए तर पनि उनले सपना पूरा गर्न सकेनन्। यस्ता घटना अरू पनि धेरै भए। उनी भन्छन्, 'धेरैले आश्वासन दिएको भएर होला, मलाई फिल्म खेल्ने आश मरिसकेको थियो।'
बल्ल पाइयो फिल्म

धेरैको झूटबाट वाक्क थिए पुष्प। आश्वासन दिने तर फिल्ममा रोल नदिने। यस्तै चलिरहेको थियो। त्यही समयमा तुलसी घिमिरेले ‘दर्पण छाया २’ बनाउने कुरा आयो। कलाकार चाहिएको उनले थाहा पाए। 'पिलायो साथीले' हेरेका तुलसीले पुष्पलाई अडिसनका लागि बोलाए। उनी गए पनि। टिमले मेकअपबिनाको चार फोटो माग्यो। 'मलाई मेकअपबिनाको चार फोटो लिएर आउनु भन्नुभयो', उनी भन्छन्, 'यति भनेपछि मलाई विश्वास लागेन कि मैले फिल्ममा काम पाउँछु। त्यही भएर फोटो लिएर गइनँ।'

केही दिनपछि टिमबाट उनलाई फोन आयो, 'खै त फोटो? तुलसीजीले खोजिरहनुभएको छ।' भित्रभित्रै दंग परेर उनी फोटोसहित तुलसी घिमिरेको अफिस पुगे। तुलसीले फोटो हेरेर केही बोलेनन्। तुलसीले पुष्पलाई केही दिन लगातार अफिस आउन भने। तीन-चार दिन पुष्प लगातार गए पनि। उनी सम्झन्छन्, 'आऊ भन्नुभएको थियो, त्यही भएर गइरहेँ।'

'कत्ति झुलाउनु हो पुष्पलाई', निर्देशक घिमिरेले भने, 'सबुजी, उहाँलाई एग्रिमेन्ट गरेर पठाइदिनुस्।'

पुष्पको खुसीको सीमा रहेन। भेट्रान निर्देशक अनि सफल फिल्मको सिक्वेल दुवै उनका लागि अवसर बनेका थिए। पुष्पले सम्झौतापत्रमा हस्तक्षर गरेर फर्किए। 'घर फर्कंदा कति ठाउँमा बाइक रोक्दै फोन गरेर आफन्तसँग यो खुसी साटेँ', मुहार चम्काउँदै उनले भने।

पुष्पले फिल्ममा काम त पाए तर हलमा दर्शक पाएनन्। यो कुराबाट दुखी थिए उनी। 'पहिलो फिल्म नै असफल भइदियो। निकै दु:ख लागेको थियो।' तर पुष्प फिल्म 'दर्पण छाया २' प्रदर्शनमा आउनुपूर्व नै 'मंगलम'मा अनुबन्धित थिए। मंगलमको सुटिङ पनि सकिसकेका थिए। पुष्पलाई आश भने थियो, मंगलमको।

मंगलम प्रदर्शनमा आएपश्चात् उनको कामको निकै प्रशंसा भयो। दर्शकसँगै फिल्मकर्मीले पनि उनलाई वाहवाही दिए। उनले निर्वाह गरेको भूमिका र उनको कामको निकै चर्चा भयो। भन्छन्, 'मंगलमले मेरो केही सपना पूरा गरिदिएको छ।'

फोटो : विवेक बस्याल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.