|

विराटनगर : विराटनगर जुटमिल्स सञ्चा‍लक समिति अध्यक्षको विवाद सतहमा आएको छ। जुटमिल्सको आधिकारिक अध्यक्ष दावी गर्दै पक्ष-विपक्षले वक्तव्यबाजी र पत्रकार सम्मेलन गरेपछि विवाद छताछुल्ल भएको हो। 

गत साउन १६ गते अध्यक्ष वसन्त वनले पत्रकार सम्मेलन गरी मुकुन्दप्रसाद नेपाल पक्षमाथि दोषारोपण गरे। त्यसको झण्डै १ हप्ता पछि मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफू अध्यक्ष रहेको दाबी गर्दै मुकुन्द नेपाल पक्ष धरले वनमाथि विभिन्न आरोप लगाएकाे छ। पत्रकार सम्मेलनमा बोल्दै जुटमिल्सका सञ्चा‍लक समिति सदस्य फूलकुमार लालबानीले वैशाख २० गतेदेखि नै वसन्त वन पदमा नरहेको भए पनि जालसाँजी र किर्ते गर्न थालेको आरोप लगाए।

‘अर्थमन्त्रालयबाट कम्पनी रजिष्ट्रारको कार्यालय हुँदै सो निर्णय प्राप्त भएपछि हामीले सरकारको ६८ प्रतिशत पुर्‍याउनका लागि साविकको ४६.५२ प्रतिशत पुर्‍याउन आवश्यक भएकोले साविकको ६६ हजार ६७८ शेयर भन्दा पछि जारी भएका सबै शेयर खारेज गर्ने निर्णय गरेका हौं,’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ,‘शेयर खारेज हुने वित्तिकै स्वतः वसन्त वन पदमुक्त भए। त्यसपछि वनले जालसाँजी र किर्ते गर्न थाले र अफवाह फैलाउँदै नेपाल सरकार र आम नेपालीलाई भ्रममा पार्न थाले।’ 

नेपाल पक्षले भने अझै पनि सरकारको शेयर ६८ प्रतिशत कायम भइनसकेको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै लालबानीले जुटमिलको कुनै पनि पदमा नरहेको मानिसले ६८ प्रतिशत शेयर कायम गरे भन्नु अचम्मित भएको बताए। ‘अदालतबाट अवैधानिक भनिएका सञ्चा‍लक समिति सदस्यहरू डा. इन्दिरा पराजुली र देवचन्द्र चौधरीको उपस्थितिमा मनखुसी लेखेर मैले कम्पनीको लागि यसो गरें भन्दै हिंड्नु कति झुट,फटाइ र विधि माथिको चुनौति हो?,’ विज्ञप्तिमा उल्लेख छ, ‘निजले गरेको यस्तो जालसाजीपूर्ण र किर्ते कामविरद्ध पनि कानुन अनुसारको कारबाही हामी अगाडि बढाउँछौं।’

सो समूहले हाल सञ्चा‍लक समिति अध्यक्ष नेपालको दाबी पनि गरेको छ। ‘विराटनगर जुटमिल्स लिमिटेडको सञ्चा‍लक समितिले कम्पनी ऐन २०६३ को दफा ९७ को उपदफा ४ र ५ ले स्पष्ट तोकेको प्रावधान अनुसार वैधानिक रुपमा नेपाललाई अध्यक्ष छनाेट गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त प्रमाणित प्रतिवेदनअनुसार नीलहरि काफ्लेको सञ्चा‍लक सदस्य पदमा कुनै प्रश्न नउठाइएको हुनाले वैठकले अदालतको अर्को आदेश नआउन्जेल उनको सञ्चा‍लक सदस्य पदलाई निरन्तरता दिने निर्णय गरिएको हो।’ 

यता वसन्त वन पक्षले भने नेपाल समूहले ७ जनाको सञ्चा‍लक समिति हुँदाहुँदै २ जनाको बैठक बसेर आफूलाई हटाएको र  नेपाललाई अध्यक्ष बनाएको प्रपोगाण्डा गरेको दाबी गर्दै आएको छ। ‘जुटमिलमा विगतदेखि सिन्डिकेट चलाइरहेकाहरूले विभिन्न अफवाह फैलाएर म र जुटमिलमाथि अत्याचार गरिरहेको छ,’ वनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अच्युतराज श्रेष्ठबाट खरिद गरी लिएको १५० कित्ता र निलहरि काफ्लेबाट खरिद गरेको २०० कित्ताबाट नेपाल सरकारको ६८ प्रतिशत शेयर कायम गरी बाँकी हुन आएको ७९ कित्ता गरी जम्मा २२९ कित्ता शेयर मेरो नाममा रहेको छ।’

शेयर धनीको हैसियतमा गत ०७४ वैशाख ४ गतेको विशेष साधारणसभाबाट कायम भएर २०७४ साउन ८ गते आफू अध्यक्ष भएको वनद्वारा यसअघि जारी विज्ञप्तिमा उल्लेख थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.