|
फाइल फोटो

काठमाडौं : २०६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारका ऊर्जामन्त्री गोकर्ण विष्टले सिंहदरबारभित्र पनि बत्ती काट्न सुरु गरे। विद्युत प्राधिकरणको बक्यौता नतिरेका धेरै मन्त्रालयमा बत्ती काटियो।

बक्यौता नतिरेको कारण सिंहदरबारभित्र बत्ती काट्नुपर्ने अवस्था आउनुलाई अस्वाभाविक मानिए पनि देशैभर लोडसेडिङको समस्या हुँदा सिंहदरबारभित्र पनि कहिलेकाहीँ बत्ती जानु सामान्य मानियो।

तर देशैभर लोडसेडिङमुक्त हुँदा सिंहदरबारमा भने बेलाबखतमा बत्ती गइरहेको हुन्छ। मंगलबार पनि सिंहदरबार करिब एक घण्टा बत्ती गयो। बत्ती गएपछि मन्त्रालयहरूमा काम गरिरहेका धेरै कम्प्युटर, चलिरहेका पंखा र चलाइएको एसीलगायत बिजुलीको सहयाताले चलाउने उपकरण चलेनन्।

करिब दिउँसो १ बजेदेखि १:४५ सम्म बत्ती जाँदा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको काम प्रभावित भयो। उच्च स्तरका अधिकारी रहने सिंहदरबारभित्र किन बत्ती गयो भन्नेबारे १ घण्टासम्म धेरैलाई जानकारी नै भएन।

यस कारण काटिएको थियो बत्ती

बत्ती जानुको कारण थियो, सिंहदरबारभित्रै भएको आगलागी। वन मन्त्रालय अगाडिको पोलमा आगलागी हुँदा सिंहदरबारभित्र बत्ती गयो। दुई महिनाअघि पनि यस्तै समस्या सोही स्थानमा भएको थियो। सिंहदरबारभित्र आपसी सम्वन्वय र गर्नुपर्ने काम नगरेको कारण उही समस्या दुई महिनापछि दोहोरिएको हो।

'रूखमा तार रगडिका कारण आगलागी भएको हो, कहिलेकाहीँ ११ हजार भोल्ट पुग्दैन, इन्सुलेटर तार रूखमा घोटिँदा आगलागी भएको हो', नेपाल विद्युत प्राधिकरणका प्राविधिक इन्जिनियर किरण बन्जाडेले भने।

उनले सिंहदरबारभित्र लामो समय बत्ती काट्न नहुने भएका कारण अहिले सामान्य मर्मत गरिए पनि पुन: सोही समस्या देखिन सक्ने बताए। पोलमा पर्ने रूख काट्नुपर्ने भए तापनि प्राधिकरणको टोलीले रूखका केही हाँगा काटेर हिँड्यो।

हुँदैन सम्वन्वय

विद्युत प्राधिकरणले पोलमा ठोक्किने हाँगा काट्नका लागि दुई महिनाअघि पनि आग्रह गरेको थियो। त्यही समयमा वन मन्त्रालयलाई रूख काट्ने व्यवस्था मिलाउने भनियो। तर वन मन्त्रालयले आफूले रूख नकाटेर सिंहदरबार सचिवालय पुनर्निर्माण समितिलाई पत्र लेखेर काम गर्न निर्देशन दिएको जनाएको छ।

समितिले भने त्यो आफ्नो काम नभएको र कुनै निर्देशन नआएको दाबी गरिरहेको छ। 'हामीलाई रूख काट्ने सवालमा निर्देशन आएको छैन र समिति मातहतको काम पनि होइन', समितिकी सूचना अधिकारी विनिता पौडेलले भनिन्।

लागेको आगो छिटो निभाउने काम पनि समयमै र छिटो हुन सकेन। सिंहदरबारभित्रका अधिकारी नै आगो लागेपछि कसलाई फोन गर्ने भनेर अलमलिए। आगो लागेपछि 'नो लाइट'लाई कल गर्नुपर्ने थियो तर नो लाइटको नम्बर धेरैसँग भएन। धेरैलाई थाहा भएन र तीन अंकको नम्बर १०० मा कल भयो। दमकल आवश्‍यक पर्ने आग्रह गरिएको थियो तर सँगै नेपाल प्रहरीबाट नो लाइटमा पनि जानकारी गराएपछि विद्युत प्रधिकरणको टोलीले बत्ती काट्यो र दमकल आवश्‍यक परेन।

'कहिलेकाहीँ झुक्याउने काम पनि हुन्छ। आज पनि ठूलो आगलागी भनेर आत्तिएर दमकल बोलाउनुभएको थियो तर सामान्य अवस्था हो। यस्तो अवस्थामा आफ्नो वितरण केन्द्रको नो लाइटलाई कल गर्नुपर्छ', प्राधिकरणका एक अधिकारीले भने। उनले नो लाइटमा पनि तीन अंकको नम्बर आवश्‍यक भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.