विचार

सामाजिक पहिचान भ्रम मात्र
SHARES

साउन २३, २०७५

    किन मानिस तृप्त छैनन्?  

    आत्मा केन्द्र हो। शरीर आत्माको परिधि हो। चेतना केन्द्र हो। विचार र संवेदना चेतनाका परिधि हुन्। आत्मा अनन्त छ। चेतना अनन्त छ। शरीर सीमित छ। विचार र संवेदना पनि सीमित छन्। अनन्तमा केही चिज घट्नु र जोडिनुले केही फरक पर्दैन। अनन्तमा केही जोडिँदा र केही घट्दा पनि शेष आनन्द नै हुन्छ। सीमितमा सीमितकै जोड वा घटाउ गर्दा प्रतिफल सीमित नै हुन्छ। 

    अनन्त आत्मामा सीमित शरीरको जोडमा प्रतिफल अनन्त नै आउँछ। अनन्त चेतनामा सीमित विचारको र संवेदनाको जोडले परिणाम अनन्त नै आउँछ। अनन्त आफैँमा पूर्ण छ। सम्पूर्ण छ। त्यसैले आत्माको बोध र चेतनाको बोध भएको मानिस आफैँमा सम्पूर्ण छ। उनीहरूको जिन्दगीलाई पूर्ण बनाउन केही चिजको आवश्यक्ता हुँदैन। अहँ, आनन्द, खुसी र उत्सवको समेत आवश्यकता हुँदैन। अनि केही चिज खोसिँदा पनि उनीहरूको जीवन सम्पूर्ण छ। केही चिज खोसिनु र हराउनुले पनि उनीहरूलाई केही असर गर्दैन। उनीहरू स्वयंमा तृप्त छन्। परितृप्त छन्। वास्तवमा अनन्तमा केही चिज जोडिनु र घटाउनु नै असंभव छ तर आज मानिसहरू केन्द्रित छैनन्। केवल परिधिमा बाँचेका छन्। 

    आज आमधारणा विकास भएको छ कि शरीर, विचार र संवेदनाको संयोजन मात्रै सम्पूर्ण रूपमा मान्छे हो। सीमित शरीर, सीमित विचार र सीमित संवेदनाको संयोजन अनन्त हुन सक्दैन, सीमित नै हुन्छ। सीमित आफैँमा पूर्ण हुँदैन। त्यसैले शरीर, विचार र संवेदनाको संयोजित मानिस पूर्ण छैनन्। तृप्त छैनन्। केही चिजको अभाव छ। तिनको सीमित जिन्दगीमा हजारौँ सीमित चिजहरूका जोडले पनि कहिल्यै पूर्णता मिल्दैन। तिनको जिन्दगीमा धन, प्रतिष्ठा, ख्याति, इज्जत, विद्वता, शक्ति, सम्बन्ध इत्यादि कुनै पनि सीमित चिजको जोडले पनि तृप्तता दिँदैन। तिनको जिन्दगीमा त्यसैले चाह कहिलै मर्दैन। अनि गहिराइमा त्यो चाह सम्पूर्ण बन्ने चाह हो। परितृप्त बन्ने चाह हो। अनन्त त बन्ने चाह हो। मुक्तिको चाह हो। निर्वाणको चाह हो।

    सीमितताका कारण नै चाह छ। शरीर सीमित छ, त्यसैले शरीरलाई परिपूर्ति गर्नका लागि यौनको आवश्यकता भएको हो। संवेदना सीमित छ, त्यसैले प्रेम आवश्यक हो। अनि विचार सीमित छ, त्यसैले समाजिक पहिचानको आवश्यकता भएको हो। 

    यो विरोधावास जस्तै लाग्छ। सीमितले सम्पूर्णलाई ग्रहण गर्नै सक्दैन। अनि उसमा केही चिजको चाह पनि छ। त्यसैले हामी कसैलाई प्रेम गर्छौं तर सम्पूर्ण रूपमा उसलाई स्यीकार्न सक्दैनौँ। त्यसैले हामीले आफ्नो प्रेमी–प्रेमिकामा, साथीमा, परिवारका सदस्यमा, हामीले माया गरेका जो कोहीमा खोट देख्छौँ। कसैलाई प्रेमिमा रिसाउने बानी मनपर्दैन। कसैलाई साथीमा बिर्सने बानी त कसैलाई आफ्नै बुबाको जिउडाल मनपर्दैन। मानिसका सन्दर्भमा मात्र होइन, हामी सम्पूर्ण रूपमा कुनै पनि चिजलाई ग्रहण गर्नै सक्दैनौँ। हामीमा राष्ट्रियता हुन्छ तर यहाँको धुलोमैलो, गरिवी वा राजनीतिक अस्थिरता मनपर्दैन। सम्पूर्णलाई ग्रहण गर्न नसकेकै कारण मानिसले राष्ट्रका नाममा पृथ्वीलाई विभाजन गरेको छ। धर्मका नाममा मानिसलाई विभाजन गरेको छ। राजनीतिक विचारधाराको नाममा समाजलाई विभाजन गरेको छ। विचारको सीमितताकै कारण हामीलाई निश्चित समूह आफ्नो लाग्छ र बाँकी पराई। 

    हामी सबै एउटा निश्चित समुदायमा आवद्ध छौँ। हामीले हाम्रो स्वाभाविक अस्तित्व भुलेका छौँ। हामीलाई मान्छे बन्नु पर्याप्त छैन। त्यसैले हामी कोही आर्यन, कोही मंगोलियन हौँ। कोही अमेरिकी, कोही चिनियाँ, कोही भारतीय र कोही नेपाली हौँ। कोही कम्युनिस्ट त कोही कांग्रेस हौँ। कोही हिन्दु, कोही क्रिश्चियन र कोही मुस्लिम छौँ। हामी सिंगो मान्छे होइन कि कोही क्षेत्री र कोही बाहुन हौँ।समाजको मूलधारबाट वैराग्य भएकाहरूको पनि आफ्नै समूह छ। कोही हिप्पीका समूहमा छन्। साधुहरूको छुट्टै संघ छ। अपराध गर्नेहरूको पनि छुट्टै ग्याङ छ। तेस्रो लिंगीहरूको पनि आफ्नै संगठन छ।

    हामी सबै अपूर्ण छौँ। त्यसैले हामी भीडहरूमा एक्लो महसुस गर्छौं। हामीलाई ज्ञात छ गहिराइमा हामी खोक्रो छौँ। त्यही अपूर्णताको, एक्लोपनको, खोक्रोपनको क्षतिपूर्ति गर्न हामीलाई समाज आवश्यक भएको हो।  

    अनन्त आनन्दको पूर्ण खोज नै निर्वाणको चाह

    मनोवैज्ञानिकहरूको मत छ कि आमाको गर्भमा हामी अनन्त आनन्दमा बाँचेका हुन्छौँ। आमाको गर्भमा बोध गरिएको अनन्त आनन्दको पूर्ण खोज नै निर्वाणको चाह हो। तर यहाँ हामी चुकेको एउटा गहन विषय छ। हामीमा अनन्त आनन्दको लोभ छ। परितृप्त बन्ने लोभ छ तर हामीले बाटो बिरायौँ। आमाको गर्भमा हुँदा हामी एक्लै थियौँ। यो समाजसँग हाम्रो कुनै सरोकार नै थिएन। आमाको गर्भमा हामी विचारविहीन थियौँ। सम्पूर्ण रूपमा समाजसँग सरोकारविहीन थियौँ तर आज हामी अस्तित्वभन्दा पर केवल सामाजिक प्राणी हौँ। हामीले जे जति पाएका छौँ, सम्पूर्ण समाजबाटै पाएका छौँ।

    बुद्ध छ वर्ष, महावीर बाह्र वर्ष, मोहम्मद केही महिना अनि जिसस केही दिन एक्लै जगंलमा बसे। यी महामानवहरू समाजदेखि पर एक्लै बस्नु संयोग मात्रै होइन। अवश्य एक्लै बस्नुको निकै गहिरो महत्त्व छ। हामीले आमाको गर्भमा रहेको अवस्थाको अनुभूति गर्न चाहन्छौं भने आमाको गर्भमा जस्तै समाजसँग सम्पूर्ण रूपमा सम्बन्धबिच्छेद गरेर एक्लै बस्नै पर्छ। बुद्ध, महावीर र मोहम्मदले केही समय एक्लै बसेर नै पुनर्जन्म पाएका हुन्। एक्लै बसेर समाजमा फर्कंदा विल्कुलै नवजात शिशु जस्तै पवित्र भएर फर्किए। 

    हुनत मानिस केन्द्रित हुने सन्दर्भमा कि त सम्पूर्णलाई अपनाउनुपर्छ कि त सम्पूर्णलाई परित्याग गर्नुपर्छ तर हाम्रो लागि सम्पूर्णलाई अपनाउनु असंभव नै हुन्छ। किनकि सीमितले सम्पूर्णलाई ग्रहण गर्नै सक्दैन। तर हाम्रो लागि अर्को बाटो छ, सम्पूर्णलाई परित्याग गर्नु। यसका लागि हामी नितान्त एक्लै बस्नुपर्छ। टेलिभिजन, रेडियो, मोवाइल, पत्रपत्रिका, किताब वा तास जस्ता साधनबिना नितान्त एक्लै। एक्लै रहनुको उद्देश्य हामीले हाम्रो मस्तिष्कलाई विलय गराउनु हो। मस्तिष्क भनेको हामीभित्र समाजको प्रतिछाया मात्रै हो। जब हामी एक्लै पर्छौं, हामीले समाजकै प्रसंगहरूका सन्दर्भमा चिन्तन गर्न थाल्छौँ। तर निरतन्तर एक्लै बस्दै जाँदा क्रमशः समाजसँग हाम्रो बन्धन टुट्दै जानेछ। हो, केही समय अवश्य लाग्छ। 

    तर प्रारम्भमा एक्लै बस्नुमा निकै असहज हुन्छ। कष्टपूर्ण हुन्छ। आफ्नै घरको खाली कोठामा एक दिन बिताएर हेर्नुहोस्, एक्लै बस्नु जेलको बासभन्दा पनि कष्टकर छ। के छ त एक्लै बस्दा कष्ट हुनुको रहस्य?

    सामाजिक अस्तित्व, केवल परिधि हो

    हामी सबैको समाजसँग दोहोरो सम्बन्ध हुन्छ। हामीले समाजलाई दिएका मात्रै हुँदैनौँ, लिएका पनि हुन्छौँ। हाम्रो नाम, धर्म, पेसा, क्षमता, पद, प्रतिष्ठा, पहिचान, सामाजिक छवि सबै हामीले समाजबाटै पाएका हौँ। समग्र व्यक्तित्व समाजकै देन हो। जब हामी एक्लै हुन्छौँ, हामीले हाम्रो व्यक्तित्व गुमाउँछौँ। राजा होस् या भिखारी, सन्त वा अपराधी, धनी वा गरिव, विद्वान् वा मूर्ख, एक्लै बस्दा जोसुकै होस्। एक्लै बस्दा सबैको अस्तित्व उस्तै हुन्छ। किनकि हाम्रो पहिचान समाजकै देन हो। महाराज! भनेर सम्बोधन गरिदिने कोही नभइदिए राजा हुनुको के अर्थ? तपाईंले जानेको कुरा सुनिदिने कोही नभएमा विद्वताको के महत्त्व? खर्च गर्न नमिल्ने पैसाको के मूल्य?

    समाजले जे दिएको छ त्यो नै ‘म’ हुँ भन्ने भ्रमलाई सर्वोपरि ठानेर पृष्ठपोषण गर्दै बाँच्नु नै दुःखको कारण हो। हामीले पाएको दु:ख, तनाव, पीडा, छट्पटी, निराशा वा प्रेम, करुणा, सहयोग, उत्साह इत्यादि के सामाजिक देन होइन र? समाज छैन भने एक्लै हामी कोसँग रिसाउन सक्छौँ?

    समाजले हाम्रो आफ्नै सन्दर्भमा जे जति पहिचान दिएको छ, हामीले आफैँलाई त्यति नै चिनेका छौँ। हामीले आफैँलाई चिन्नलाई पनि अरूको नजरिया चाहिन्छ। समाज छैन भने ‘म’ भन्ने चिजको पनि अस्तित्व छैन। हाम्रो समाजिक पहिचान, समग्र व्यक्तित्व नै समाजबाट ग्रहण गरिएको हो। ‘म’ भन्नु पनि अरू र आफूबीचको विभाजन नै त हो। ‘म’ भन्नुको अर्थ आफूलाई अरूभन्दा विशेष सम्झनु हो। त्यसैले अरू छैन भने ‘म’ भन्नुको पनि अस्तित्व हुँदैन। आफैँलाई विशेष सम्झने यस्तो भाव नै अहं हो। मानिसलाई सबैभन्दा चोट त्यो बेला पर्छ, जब उसको अहंमा ठेस पुग्छ। यसका कारण हामी एक्लै बस्दा छट्पटाउँछौँ। राम्रो मात्र होइन, नकारात्मक छविका सन्दर्भमा पनि एक्लै बस्नु उत्तिकै कष्टकर विषय हो। एक्लै बस्दा भिखारी, मूर्ख वा अपराधीलाई पनि उत्तिकै समस्या पर्छ किनकि जस्तोसुकै होस्, सामाजिक पहिचानबिना हामीले हाम्रो अस्तित्व पाउँदैनौँ। जन्मिँदादेखि आजसम्म हामीले गरेका सम्पूर्ण प्रयासको प्रतिफल नै सामाजिक व्यक्तित्व हो। सामाजिक पहिचान हो। ‘म’ हुनुको भाव हो। 

    समाजबाट हामीले जे पाउँछौँ त्यो हाम्रो बाहिरी आवरण मात्रै हो। त्यो केन्द्र होइन। त्यो अरूले दिएको मात्रै हो। त्यहाँ आफ्नो केही छैन, जुन झूट हो। सामाजिक पहिचान वा ‘म’ हुँ भन्ने भाव नै समुच्च मानव समुदायको महाभ्रम हो। जब हामी एक्लै बस्छौँ, यो भ्रम टुट्छ। समाजले दिएका बाहिरी आवरणहरू एकएक गरी बिलाउँदै जाँदा हामी सर्वांग रूपमा आफैँलाई देख्नुपर्छ भन्ने डरका कारण नै एक्लै बस्नु कष्टपूर्ण भएको हो। अस्तित्वगत हामी सबै एकै हौँ। जब हामी एकै हौँ भन्ने महसुस हुन थाल्छ, हाम्रो अहंमा निकै चोट पुग्छ।

    समाजले जे दिएको छ त्यो नै ‘म’ हुँ भन्ने भ्रमलाई सर्वोपरि ठानेर पृष्ठपोषण गर्दै बाँच्नु नै दुःखको कारण हो। हामीले पाएको दु:ख, तनाव, पीडा, छट्पटी, निराशा वा प्रेम, करुणा, सहयोग, उत्साह इत्यादि के सामाजिक देन होइन र? समाज छैन भने एक्लै हामी कोसँग रिसाउन सक्छौँ? अनि समाज छैन भने हामी एक्लै कसलाई माया गर्न सक्छौँ? त्यसैले मस्तिष्क (जुन हामीभित्रको सामाजिक प्रतिछाया हो)लाई छोडिदिएर हामी नितान्त एक्लै भयौँ भने हामीले यस्ता संवेदना वा भावहरूमाथि पनि विजय प्राप्त गर्नेछौँ। 

    समाजविहीन जीवन जिउने रूपान्तरणका विधिहरू

    मानसिक रूपमा बिक्षिप्त भएकाको उपचार गर्ने सन्दर्भमा एउटा प्रचलित विधि छ। मानसिक रूपमा बिरामी परेकालाई एक्लै खाली कोठामा राखिन्छ। त्यहाँ बाहिरी संसार नियाल्ने झ्यालसम्म हुँदैन। प्रकाशको निश्चित मात्रा मिलाएको हुन्छ। दिन भयो कि रात भन्नेसम्मको जानकारी बिरामीलाई हुँदैन। बिरामीलाई आवश्यकता पर्ने खाना र पानी राखिदिने ठाउँ हुन्छ। यसरी खाना राखिदिने मानिसलाई पनि सम्बन्धित बिरामीले देख्न पाउँदैन। बन्द कोठामा, मानसिक बिरामी भएकालाई तबसम्म त्यसरी राखिन्छ, जबसम्म ऊ जोडसँग कुनै जंगली जनावर जसरी चिच्चाएर शान्त हुँदैन। नितान्त शान्त हुँदैन। अवस्थाअनुसार बिरामी निकै बेर चिच्चाउन सक्छ। तर यो चिच्चाउने, कराउने सन्दर्भमा ऊ शान्त हुनुअगावै एकचोटि निकै नै जोडले चिच्चाउँछ। यसरी चिच्चाउँदा बिरामीको मुखबाट आफैँ निकै नै ठूलो र भयानक आवाज निस्कन्छ।

    उसले केहीबेरलाई ब्यम्पायरले जस्तै निकै नै डरलाग्दो प्रतिक्रिया दिन्छ। बिरामीले केही गरेको हुँदैन, जे हुन्छ आफैँ हुन्छ। मानौँ, सिंगै प्रक्रिया कुनै अलौकिक शक्तिबाट स्वचालित भएको छ। यस्तो भयानकतापछि ऊ शान्त हुन्छ। नितान्त शान्त। अनि शान्त भएपछि जब उसलाई खाली कोठाबाट निकालिन्छ, यतिबेला पुरानो मानिसको अस्तित्व हुँदैन। जो कोठाबाट निस्कन्छ, ऊ अर्कै मान्छे बनेर निस्कन्छ। रूपान्तरित भएर निस्कन्छ। पुनर्जन्म पाएर निस्कन्छ। यसरी कोठामा एक्लै बस्ने विधिलाई ध्यानको रूपमा पनि प्रयोग गर्न मिल्छ।

    यस्तै, एक्लै बस्ने सन्दर्भमा अर्को ध्यान विधि पनि हुन्छ। यस्तो ध्यान विधिमा साधक यस्तो ठाउँमा जानुपर्छ, जहाँबाट कुनै वस्ती देखिनुहुँदैन। कुनै घर वा रूखसम्म पनि देखिनुहुँदैन। त्यस्तो ठाउँमा साधक गएर केवल बस्नुपर्छ। हाम्रो मन बढो चतुर छ। हामीले निर्जीव वस्तुसँग समेत केही मानसिक सम्बन्ध स्थापित गर्न सक्छौँ। त्यही भएर यस्तो ध्यान विधिमा समाजको सम्झना आउने कुनै पनि वस्तु आफूसँगै हुनुहुँदैन। यदि त्यस ठाउँबाट पर कुनै छाप्रो मात्र देखियो भने पनि हामी त्यो छाप्रोमा बस्ने मानिसको सन्दर्भमा चिन्तन गर्न थाल्छौँ अनि त्यस्तै त्यहाँ रूख छ भने हामीले रूखसँग सम्बन्ध स्थापित गर्ने सक्छौँ। पानी नपर्दा रूख सुक्ने भयो भनेर रूखमा पानी हालिदिने। घाम लाग्दा रूखको छहारीमा बसेर रूखलाई धन्यवाद दिने जस्तो काम गरेर रूखसँग सम्बन्ध स्थापित गर्छौं। यसरी रूख र हामीबीच नयाँ समाज स्थापित हुन सक्छ, जसका कारण रूपान्तरण संभव हुँदैन। तसर्थ यस्तो ध्यान विधिमा मानिस छाप्रोसम्म नदेखिने र रूखसम्म नभएको ठाउँमा बस्नुपर्छ।

    जो मानिसले समाजसँगको सम्पूर्ण सम्बन्धलाई विस्थापित गर्न सफल हुन्छ, उसले आफूभित्रको समाजको प्रतिछाया मस्तिष्कलाई निर्मूल पार्दै पार्दै चेतनामा केन्द्रित हुन्छ। मस्तिष्कको सम्बन्ध समाजसँग हुन्छ भने चेतनाको सम्बन्ध अस्तित्वसँग। मस्तिष्क खण्डित छ। सबैको आआफ्नै छुट्टै मस्तिष्क छ तर चेतना अनन्त छ। त्यहाँ विभाजन हुँदैन। अस्तित्वगत रूपमा सम्पूर्ण चराचर जगतको चेतना विभाजनरहित एकै हो। मस्तिष्कबाट विचार जन्मन्छ। चेतनाबाट बोध जन्मन्छ। यो समाजले दिएको व्यक्तित्व ‘म’ होइन भन्ने बोध नै बुद्धत्व हो। सबैको अनन्त आत्मा एकै हो भन्ने बोध नै बुद्धत्व हो। 

    आजको अस्तव्यस्त जीवनलाई क्रमशः तनावरहित पार्दै लैजान चाहनुहुन्छ भने एकान्तमा रमाउनुहोस्। कुनै पनि कार्यमा व्यस्त नभई निस्क्रिय भएर केही अन्तरालमा केही अवधिका लागि एक्लै बस्नुहोस्। आजीवन यसलाई आफ्नो रुटिन बनाउनुहोस्। परिवर्तन अवश्य हुन्छ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]