|

पर्सा जिल्लाको दोस्रो सदरमुकामका रूपमा जिल्लामा चिनिएको पोखरिया नगरपालिका भारतीय सीमा क्षेत्रभन्दा खासै टाढा छैन। भारतसँग सीमा जोडिएको जिल्लाको मध्यभागमा पर्ने यो नगरपालिका कान्छो नगरपालिकाहरूमध्ये पर्छ। कुल ३९ हजार जनसंख्या रहेको यो नगरपालिका साविकका पोखरिया, वसन्तपुर, श्रीसिया, गोविन्दपुर, शिववर्वा र वैरियाविर्ता गाविस मिलेर बनेको छ। अधिकांश ग्रामीण भूगोल समेटिएको यो नगरपालिका कृषियोग्य जमिन भएका स्थानीय तहहरूमध्येमै पर्छ। पूर्वमा पर्साकै विन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिका, उत्तरमा जगरनाथपुर गाउँपालिका र दक्षिणमा पकाहा मैनपुर र धोविनी गाउँपालिका यो नगरपालिकाका चौघेराका पालिकाहरू हुन्।  

मुलुकको नयाँ संरचना निर्माण हुँदा कान्छो नगरपालिका बनेजस्तै यो नगरपालिकाको पहिलो नेतृत्व पनि दुई/दुई जना पूर्वसभसद्लाई पछि पार्दै २७ वर्षे ठिटोले कब्जा गरे। अविवाहितसमेत रहेका युवा, जसले अरू प्रत्यासीसँगै नेपाली कांग्रेस र एमालेबाट पूर्वसभासद् भइसकेका रामेश्वर रौनियार र प्रद्युमन चौहानलाई पनि पर्न सफल भए। निर्वाचनमा जनताले आफूहरूलाई कसले बढी साथ दिने भन्ने लाग्छ उसैलाई नेतृत्वमा पुर्‍याउने कुरा पोखरिया नगरपालिाकाका नगर प्रमुख दीपनारायण रौनियार (मन्टु)को हकमा पनि सावित भयो।

निर्वाचनपूर्व हरेक समय सर्वसाधारण जनताको साथमा रहन्छ भन्ने कुरा उनको जीतको एउटै आधार बनेको थियो। नगरपालिका कान्छो, नेतृत्वकर्ता कान्छो भएजस्तै उनको पार्टी नेपाल संघीय समाजवादी पार्टी पनि मुलुकभर फैलिई नसकेको कान्छै पार्टी भन्दा खासै फरक पर्दैन। नगरपालिका हाँक्ने नेतृत्वमा पुग्ने उनको पार्टीबाट रौनियार उदाहरणीय व्यक्ति पनि बनेका हुन्। निर्वाचनपूर्व अरूलेभन्दा जनताको काम गर्छ भन्ने विश्वास कमाएका पोखरिया नगरपालिाकाका नगर प्रमुख रौनियारको एक वर्षे अनुभव, नगरको समृद्धिका लागि नयाँ योजना जस्ता विषयलाई समेटेर थाहाखबरकर्मी तुलसी भण्डारीले उनीसँग गरेको कुराकानी प्रस्तुत छ। 

ठूला पार्टीका दुई पूर्वसांसदलाई पछि पार्दै नगरपालिकाको नेतृत्वमा पुग्नुभयो। एक वर्षको अनुभव कस्तो रह्यो?  

निर्वाचन जित्दा जति सहज महसुस गरिएको थियो, नयाँ संरचना निर्माणपछिको नेतृत्व संहाल्दा काम गर्ने क्रममा त्यति सहज त पक्कै भएको छैन। संघ र प्रदेशका कानुनी अस्पष्टताहरू अझैसम्म पनि ठोस रूपमा किनारा लागिसकेका छैनन्। नगरको विकासको अवस्था हेर्दा निकै दु:खलाग्दो छ। त्यो अवस्थाबाट नगरलाई माथि उठाउन नीतिगत तौरतरिकालाई बढी प्राथमिकतामा राखेर काम गर्दा जनताको अपेक्षाअनुसारको काम भने अलिक हुन सकेको छैन। तथापि, विकास र पूर्वाधारको आधार तयार गर्ने क्रम उच्च गतिमा भइरहेको छ। 

अहिलेसम्म खास कामचाहिँ केके गर्नुभयो? 

तीन चरणका सरकारका नीतिगत अड्चनलाई मिलाउँदै जिल्लाको मध्यभागमा रहेको नगरपालिकाको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, सडक संजाल र कृषि क्षेत्रको विकासका आधारहरू तयार गर्ने काममा खटेको छु। विकासको पहिलो सूचकका रूपमा रहेको सडक संजाललाई व्यवस्थित गर्न १३ देखि २० फुटे सडकहरूमा चार किलोमिटर नाला निर्माण गर्‍यौँ। यो क्रम निरन्तर नै छ। नगरपालिकाको सडक ढलान र पिच गर्नुभन्दा पहिले नाला निर्माण गरेर सडकको पूर्णता दिँदा दीर्घकालीन हुन्छ भन्नेमा केन्द्रित रहेर थप काम गरिँदै छ। पूर्वसांसद भइसकेका नेताका घरसम्म गाडी जाने बाटोसमेत पहिले थिएन। अहिले ती पूर्वसांसदका घरसम्म जाने बाटोदेखि लिएर अरू बाटोसमेत केही ढलान, केही ग्राभेल र केही कच्ची बनाई नगरपालिकासम्म मानिसको आवागमनलाई सहज बनाइँदै छ। 

शिक्षातर्फ २४ वटा विद्यालय रहेको नगरभित्र दुईवटालाई उच्चमावि बनाइएको छ। साह्रै जीर्ण अवस्थाको जगतपुर आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिएको छ। नगरपालिका क्षेत्रभित्र विद्यालयबाहिर रहेका २५० जना बालिकाहरूलाई आवश्यक आधारभूत शिक्षा दिई १ देखि ५ कक्षासम्म भर्ना गरिएको छ। उनीहरूको विद्यालय पोसाक, किताब सबै नगरपालिकाले व्यवस्था गरिदिएको छ। वृद्ध, असहाय, दलित, गरिब र मुस्लिमहरूका लागि पोखरिया जिल्ला अस्पतालमा ओपिडी टिकेटदेखि ल्याव टेस्ट, एक्स­रेलगायत परीक्षणमा समेत विशेष छुट दिएर उपचार गराइरहेका छौँ।

लामो समयसम्म पूर्णकालीन संचालनमा नरहेको पोखरिया अस्पताललाई पूर्णकालीन गर्दै एक्स­रे, भिडियो एक्स­रेको व्यवस्था गरिएको छ। समाजलाई जोडेर राख्ने धार्मिक र साँस्कृतिक सम्पदाको संरक्षणका लागि २०० वर्ष पुरानो शिववर्वाको दुर्गा मन्दिर, सातोमाई मन्दिरलगायत मठ मन्दिरको मर्मत सम्भार र मूर्ति स्थापना, मुस्लिम समुदायको इदगाह⁄ कब्रस्तानलाई कम्पाउण्डसहित व्यवस्थित गर्ने काम सम्पन्न गरिएको छ। 

कृषिबाट अतिरिक्त लाभ लिई आधुनिक प्रविधिमा आधारित खेती गरी नगरबाट निर्यातमुखी अर्थतन्त्रको सिर्जना गर्न अहिलेबाटै कामको सुरुवात हुँदै छ। यसको साथै नगर क्षेत्रभित्र हुने अरू करहरू पनि यो नगरको आन्दानीको स्रोत हुनेछन्। 

यसका अतिक्ति ४० वर्ष पुरानो पोखरिया नगर विकास परियोजनालाई कार्यान्वयन तहमा ल्याएर व्यवस्थित बजारका लागि अलग्गै बसपार्क, अलग्गै तरकारी बजार, जस्ता प्रारम्भिक कुराहरू अगाडि बढाइएको छ। 

जिल्लाबाहिर उति चर्चामा समेत नरहेको पार्टीबाट निर्वाचन जित्नुभयो। काम गर्ने सन्दर्भमा ठूला पार्टीको नेता कार्यकर्ताको साथ कतिको पाउनुभएको छ? 

सत्ता र शक्तिमा पहिले बसिसकेका केही व्यक्तिहरूले सुरुका दिनमा काममा अवरोध गर्ने प्रयास गरे पनि गाउँ समाजको हितमा निर्वाचनपूर्व पनि लागेको र अहिले पनि निरन्तर लागिरहेकाले उनीहरू आफैँ पछि हटेर गएका छन्। काम गर्ने मानिसलाई त्यस्ता कुराले उति अप्ठ्यारो होला जस्तो लाग्दैन। त्यस्ता कारणले जनताका काम गर्न कुनै गाह्रो भएको छैन। 

जिल्लाको बीचमा अवस्थित नगरपालिकाको आम्दानीको स्रोतचाहिँ कसरी परिचालन गर्ने लक्ष्य राख्नुभएको छ? 

नगरपालिकाको अधिकांश भूभाग ग्रामीण परिवेशले ओगटेको छ। यहाँ कृषिको सम्भावना अत्यधिक छ। त्यस कारण प्रमुख रूपमा माछाको उत्पादन र त्यही पोखरी वरिपरि वृक्षरोपण गरी पर्यटकलाई लोभ्याई आधुनिक प्रविधिमैत्री मत्स्यपालन व्यवासाय गर्ने कुरालाई केन्द्रमा राखेको छु। यसका लागि पढालेखा युवाहरूलाई पनि विभिन्न किसिमका तालिम उपलब्ध गराउने व्यवस्था अगाडि बढाइँदै छ। कृषिबाट अतिरिक्त लाभ लिई आधुनिक प्रविधिमा आधारित खेती गरी नगरबाट निर्यातमुखी अर्थतन्त्रको सिर्जना गर्न अहिलेबाटै कामको सुरुवात हुँदै छ। यसको साथै नगर क्षेत्रभित्र हुने अरू करहरू पनि यो नगरको आन्दानीको स्रोत हुनेछन्। 

समृद्ध पोखरिया बनाउने योजना चाही केही छैन?  

मुलुकको समृद्धि गाउँको समृद्धिसँग जोडिएको हुन्छ। यसका लागि नगरपालिकाको समग्र विकास गर्न गुरुयोजना बनाइँदै छ। यसमा नगरभित्र चिल्ड्रेन पार्कदेखि लिएर विभिन्न पार्कहरू, स्तरीय नगर सभागृह, कन्या उच्चमावि, राष्ट्रियस्तरको स्विमिङ पुल र शिक्षाका लागि प्रदेश २ मै नमुना कृषि महाविद्यालय बनाउने प्रमुख योजना छ, जुन महाविद्यालयमा मुलुकका अरू ठाउँबाट पनि कृषिसम्बन्धी अध्ययन गर्न विद्यार्थीहरू आउने अवस्था सिर्जना गर्ने लक्ष्य छ। जिल्लाको केन्द्रमा अवस्थित पोखरिया नगरपालिकालाई जिल्लाकै नमुना स्थानीय तह बनाउने योजनासाथ काम अगाडि बढिरहेको छ। यसका लागि सुरुका दिनमा केही आर्थिक सहयोगका लागि केन्द्र सरकार र प्रदेश सरकारका जिम्मेवार मन्त्री र मन्त्रालय तथा सचिवहरूसँग निरन्तर छलफल अगाडि बढाइरहेका छौँ। वहाँहरू पनि सकारात्मक हुनुभएको छ। 

पर्यटन विकासका लागि देश विदेशका पर्यटक भित्र्याउने रणनीति पनि छ कि?  

पोखरिया नगरपालिकाको शिववर्वामा २०० वर्ष पुरानो चर्चित शिव मन्दिर छ। यो धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण पर्यटकीयस्थल हो। नगरपालिका क्षेत्रभित्र अरू पनि विभिन्न धार्मिकस्थलहरू छन्। यी सबैको मर्मत सम्भार र निर्माणले जिल्लाका मात्र नभई छिमेकी मुलुक भारतका पनि लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ। त्यसैअनुरूप नगरपालिकाले दीर्घकालीन योजनाका साथ काम गरिरहेको छ। 

निर्वाचनपूर्व जनतासँग गरिएका प्रतिवद्धता पूरा नभएको जनताको आरोप छ नि! 

निर्वाचनपूर्व जनता सामु जुन प्रतिबद्धता लिएर गएको थिएँ, त्यो अहिले नै देखिएको त छैन तर आगामी चार वर्षभित्र सबै कुरा सम्पन्न गर्ने गरी त्यसै प्राथमिकताका साथ कामलाई चरणबद्ध रूपमा प्राथमिकीकरण गरेको छु। एकै वर्षभित्र त नगरबासीले देखिने गरी खासै काम गर्न सकिएन तर आगामी वर्षबाट हामीले गरेका काम देखिन थाल्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.