|

उदयपुर : कटारी नगरपालिका उदयपुरको दोस्रो ठूलो नगरपालिकाका हो। कटारी नगरपालिकालाई सगमाथाको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ। 

कटारी नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेर प्रतिद्वन्द्वीभन्दा १७४ बढी मत पाएर विजयी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ अहिले कम्मर कसेर नगरको विकासमा लागिपरेका छन्। श्रेष्ठले जम्मा छ हजार ९०९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रमानसिंह राउतले छ हजार ७३५ प्राप्त गरी पराजित भएका थिए। अहिले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का जिल्ला नेता पनि हुन् उनी। कटारी नगरको विकास निर्माण, सम्भावना र चुनौतीबारे नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठसँग थाहाखबरकर्मी विदुर कटुवालले गरेको कुराकानी प्रस्तुत छ।

कटारी नगरपालिकालाई कसरी समृद्धिको बाटोमा अघि बढाइरहनुभएको छ?

मैले निर्वाचनको बेला जनतासँग गरेका प्रतिवद्धताका आधारमा अघि बढिरहेको छु। जनतासँग विकासका निम्ति जेजे कुरा गरेको थिएँ, त्यहीअनुसार काम गरिरहेको छु। नगरपालिकाको समग्र पूर्वाधारको विकासमा अघि बढ्ने काम जारी छ। जनताले जसरी विश्वासले मत दिएका थिए, त्यसरी नै काम गरिरहेको छु भन्दा फरक पर्दैन। 

उदाहारणका लागि, कटारी नगरलाई एउटा समृद्ध नगर बनाउन महाभारत क्षेत्रमा एउटा अस्पताल खोल्ने घोषणा गरेको थिएँ। त्यो कामका लागि हामी निरन्तर लागिरहेका छौँ। अब छिट्टै टेण्डर प्रक्रियाबाट कार्यान्वयमा ल्याउँदै छौँ। कृषि तथा वन विज्ञान पढाउन क्याम्पस स्थापनाका लागि बजेट विनियोजन गरेका छौँ। कटारी बजारलाई धुलोमुक्त क्षेत्र बनाउन हामी लागिपरेका छौँ। प्रत्येक वडा कार्यालयसम्म जाने बाटो निर्माण गरिसकेका छौँ।

चुनावी घोषणापत्रमा कटारी नगरपालिकाको महाभारत क्षेत्रमा अस्पताल खोल्छु भन्नुभएको थियो। अहिले त्यो अस्पताल खोल्ने काम कहाँ पुर्‍याउनुभयो त?

हामीले प्रदेश र संघीय सरकारलाई समेत त्यस योजनमा सहयोग मागेका छौँ। अस्पताल खोल्ने काम सुरु भइसकेको छ। बजेटको पनि व्यवस्था भइसकेको छ। अब टेण्डर प्रक्रियाबाट भवन लगायतका भौतिक पूर्वाधारको निर्माण हुँदै छ। त्यस भेगमा एउटा अस्पतालको आवश्यकता ठानेको छु। मैले नगरपालिकामा निर्वाचित भएपछि पहिलो बैठकबाट पनि निर्णय गराएको थिएँ। म अहिले चुवावी घोषणापत्रकै आधारमा काम गरिरहेको छु। त्यो अस्पताल मेरो पाँच वर्षे कार्यकालभन्दा अघि नै बनिसक्छ।

पर्यटन, शिक्षा, स्वास्थ्य, तथा रोजगारका क्षेत्रमा तपाईंले घोषणा गरेका के कति प्रतिवद्धता पूरा भए?

हामीले पूर्वाधारको क्षेत्रमा धेरै काम गरेका छौँ। मैरै घोषणापत्रको आधारमा भन्ने हो भने ६० प्रतिशत काम भइसकेका छन्। हामीले चुनावका बेला घोषणा गरेका प्रतिवद्धताहरू कार्यकालभरिका हुन्। तर, पहिलो चरणमै धेरै काम गर्न सफल भइयो। मैले मेरा आँखाले हेर्ने हो भने पूर्वाधारका क्षेत्रमा पर्याप्त काम भएको देख्छु। हामीले स्वास्थ्य, शिक्षा, सडक तथा कृषि क्षेत्रलाई विशेष जोड दिएका छौँ। 

शिक्षाको क्षेत्रमा हामीले प्रत्येक वडामा एउटा नमुना विद्यालय स्थापना गर्ने गरी काम गरिरहेका छौँ। रोजगारीका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने प्रयास गरिरहेका छौँ। स्वास्थ्यचौकीहरू स्थापनामा जुटिरहेका छौँ। पर्यटकीय क्षेत्रको पनि पहिचान गरी विभिन्न योजनाहरू ल्याएर काम गरिरहेका छौँ। आधुनिक बसपार्क पनि बनाउँदै छौँ। 

चुनावका बेला गरेका प्रतिवद्धताहरूमा परेका विशेष योजनाहरू पनि काम गर्न नसकेर थन्किएका होलान् नि!

चुनावी घोषणापत्रमा गर्न नसक्ने कुनै पनि काम समेटिएको छैन। कटारीको समृद्धिका लागि जे कुराको आवश्यकता छ, त्यही कुरा घोषणापत्रमा सार्वजनिक गरिएको छ। जनताका चाहना असीमित छन्। स्थानीय सरकारले गर्नुपर्ने धेरै कामहरू छन्। हामीले प्रदेश र केन्द्र सरकारसँग पनि सहयोग माग गरेका छौँ। पाँच वर्षे कार्यकालभरि जनतालाई केही न केही कामहरू गरेर देखाउनु छ। जस्तै : सिरहाको मिर्चैया-कटारी हुँदै घुर्मी सडकखण्डलाई आधुनिक सडक बनाउन माग राखेका छौँ। भौतिक योजना तथा पूर्वाधार मन्त्रीलाई बोलाएर विभिन्न मागपत्र बुझाएका छौँ। 

त्यो हामीले मात्र गर्न नसक्ने भएकाले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराएका हौँ। कटारीको समृद्धिका लागि मिर्चैया-कटारी र घुर्मी सडक आधुनिक सडक बन्न जरुरी छ। हामीले त्यसलाई विशेष ध्यान दिएका छौँ।

नगरपालिकाको विकासमा हामीले दीर्घकालीन, अल्पकालीन र तत्काल गर्ने कामहरूको वर्गीकरणसमेत गरेका छौँ। नगरपालिकाको समग्र विकासका निमित्त सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विकासका योजनामा लागिपरेका छौँ।

तपाईंको भनाइअनुसार सिरहाको मिर्चैया हुँदै उदयपुरको कटारीबाट ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग वान वेबाट अब हाइवे बन्छ त?

पक्का बन्छ। कटारी नगरपालिकको सिंगो टिम लागिपरेको छ। कटारी नगरवासीको मुख्य चाहना पनि सिद्धिचरण लोकमार्गलाई वान वेबाट हाइ वे बनाउनु नै हो। त्यो नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारकै सहयोगमा बन्छ।

कटारी नगरपालिकाका प्रत्येक वडा कार्यलय पुग्ने सडक भनौँ तथा प्रत्येक टोल बस्तीमा पुगेका धुले सडक पिच वा कालेपत्रे पनि हुन्छन्?

पाँच वर्षभित्र कटारी नगरपालिकाका प्रत्येक वडामा पुग्ने सडक पिच वा कालोपत्रे बन्छन्। हामीले धुले सडक त पुर्‍याइसकेका छौँ। अब सडकलाई कालोपत्रे गर्ने मात्र काम बाँकी छ। त्यसका लागि नगरपालिकको विकासका निम्ति आएका जनप्रतिनिधिहरू लागिपरेका छौँ, जुन कुरा पूरा गर्ने हाम्रो प्रतिवद्धता पनि हो। वडा कार्यालय पुग्ने सडक व्यवस्थित हुन्छन्।

दोस्रो नगरसभा सम्पन्न गरिसक्नुभएको छ। दोस्रो नगरसभा सम्पन्न गरिसक्दा अनुभव गर्नुभएका समस्याहरू केके होलान्?

कटारी नगरभित्र समस्याहरू धेरै छन्। पहाडी क्षेत्रमा खानेपानीको समस्या छ भने बजारमा क्षेत्रमा ढलको समस्या छ। बाटोघाटोमा खाल्डाखुल्डीका समस्या छन्। त्यसका लागि वडादेखि नगरपालिकासम्म मिलेर काम गर्ने योजनाहरू ल्याएका छौँ। समस्याको निराकरण गरेर अघि बढ्ने कटारी नगरपालिकाले नै हो।

स्थानीय सरकार प्रमुख भएर काम गरिरहँदा नीतिगत र व्यावाहारिक रूपमा लागेका समस्याहरू केके छन्?

पहिलो वर्ष हामीले समस्याका बाबजुद काम गर्‍यौँ। संघ, प्रदेश सरकारबाट आउने पर्याप्त कानुन नआएको बेला थियो, जसले ठूलो सकस भयो। त्यस अवस्थामा हामी आफैँले संविधानमा उल्लेख भएका अधिकार प्रयोग गरेर स्थानीय सरकारका ऐन, कानुन, निर्देशिका बनायौँ। त्यसैले काम गर्दै गयौँ। 

कटारी नगरपालिकको समृद्धिमा सबैको साथ सहयोग अपरिहार्य छ। त्यसका लागि कटारीका राजनीतिक दलका अगुवा, बुद्धिजीवी र अन्य सरोकारवाला निकायसँग परामर्श गरेर काम गर्ने गरेको छु। त्यसो भएकाले सबैले सहयोग गरिरहनुभएको छ।

अझै पनि स्थानीय सरकार, प्रदेश र संघ सरकारका कतिपय अधिकारहरू बाझिएका छन्। कानुन नबनेकाले कार्यान्वयनमा आएका छैनन्। नीतिगत रूपमा भन्ने हो भने धेरै समस्या छन्। व्यावाहारिक रूपमा कर्मचारीको चरम अभाव छ। दरबन्दीअनुसार प्रत्येक वडामा कर्मचारी पुर्‍याउन सकेका छैनौँ। हामीले केन्द्र सरकारसँग माग गरेका छौँ। केन्द्र सरकारले हामीले माग गरेका कर्मचारीहरू अझै दिन सकेको छैन। कर्मचारीको अभावको कुरै नगरौँ। कटारी नगरपालिकामा मात्र होइन भनेर चित्त बुझाउने बाटो हो। हामीले आफूसँगै भएका जनशक्ति प्रयोग गरेर अहिलेसम्मका काम गरेका हौँ। गर्नुपर्ने बाध्यता पनि छ। 

कतिपय पुराना ऐन, कानुहरू प्रयोग गरिरहनुभएको छ? यस्तो ऐन कानुनले कतिको समस्या पारेको छ?

समस्या परेको छ। जस्तो : खरिद ऐनकै कुरा गरौँ। अहिले काम नयाँ योजना मुताविक हुन्छ, खरिद ऐनहरू पुराना छन्, जसले गर्दा जुन रफ्तारमा काम गर्ने अठोट थियो, त्योअनुसार काम हुन सकेको छैन। तर पनि जसरी चल्दा, चलाउँदा जनताको काम हुन्छ, जुन ऐन कानुन प्रयोग गरेर जनताको काम गर्न सकिन्छ, त्यसरी नै काम गरिरहेका छौँ। पुराना एेन कानुनले दिएका समस्याहरूको कुरै नगरौँ।

कतिपय अधिकारहरू प्रदेश, केन्द्र र स्थानीय सरकारमा बाझिएका छन्। जस्तो : राजस्वका कतिपय कुराहरू अझै मिलेका छैनन्। यस्तो अवस्थामा कसरी काम गरिरहनुभएको छ?

धेरै प्रकारका राजस्वका रकमहरू स्थानीय तहमा आइपुगेको छैनन्। मलपोत कार्यालयमा उठाइने राजस्व, जिल्ला समन्वय समितिले संकलन गरेको राजस्वलगायतका पैसा हामीले अझै पाएका छैनौँ। स्थानीय सरकार भनेका छन्, हामीले हस्तक्षेप गर्ने अधिकार पनि छैन। त्यस्तो खालको कानुन पनि छैन। तर, हामीले माग्ने काम भने जारी राखेका छौँ। ऐन कानुनले दिएका अधिकार प्रयोग गरेर पत्राचार गर्ने काम भइरहेको छ।

कटारी नगरपालिकामा तपाईंले गरेका हेर्न मिल्ने र चट्ट देखाउने कामहरू केही छन्?

मैले अघि नै पनि भनिसकेको छु- यस कटारी बजारलाई धुलोमुक्त बनाउने अभियान जारी छ। कटारी बजारभित्र २०७५ को अन्तिममा धुलोमुक्त बनाएरै छाड्ने छौँ। बजार चिट्टिक्क बनाएर सजाउनका लागि सडक, ढल व्यवस्थित गर्ने पिच गर्ने कामहरू निरन्तर रूपमा भइरहेका छन्। सबैको नजरमा कटारी बजार पर्ने भएकाले विशेष रूपमा यसैलाई सिँगार्न लागिपरेका छौँ।

पाँच वर्षभित्र कटारी नगरको कायापलट गर्ने काम हाम्रो हो। शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन क्षेत्रको विकासमा निरन्तर लागिपरेका छौँ।

नगरपालिकामा तपाईंकै पार्टीको बहुमत छ, नगर कार्यपालिकामा भएका र त्योभन्दा बाहिर रहेका राजनीतिक दलसँग कसरी समन्वय गरिरहनुभएको छ?

कटारी नगरपालिकको समृद्धिमा सबैको साथ सहयोग अपरिहार्य छ। त्यसका लागि कटारीका राजनीतिक दलका अगुवा, बुद्धिजीवी र अन्य सरोकारवाला निकायसँग परामर्श गरेर काम गर्ने गरेको छु। त्यसो भएकाले सबैले सहयोग गरिरहनुभएको छ। हामीले निर्माण गरेका नीति, नियमहरू, योजना तथा बजेट बाँडफाँटमा समेत सबैको सहमति लिएर मात्र गर्ने गरेका छौँ।

पाँच वर्षपछि कटारी नगरपालिकालाई कस्तो नगरपालिकाका रूपमा देख्न पाइन्छ त?

‘समग्र कटारी नगरको समृद्धिको आधार : शिक्षा, स्वास्थ, रोजगारी र पर्यटनको पूर्वाधारसहितको कटारी नगर’ भन्ने नगरपालिकाको नारा बनाएका छौँ। यसका लागि नगर क्षेत्रमा साना तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना भएको हुनेछ। नगरपालिका क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रवन्ध भएको, स्वास्थ्यमा सबै नागरिकको पहुँच भएको, नगरपालिकाको माथिल्लो महाभारत क्षेमा १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको, कृषिमा आत्मनिर्मर बनाउन वैज्ञानिक कृषि प्रणालीको व्यवस्था भएको हुनेछ। काम गर्न कठिन छ तर असम्भव छैन। हामी सबै कठिनाइहरूको समाधान गर्दै जनताको सेवा गर्न तत्पर छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.