|

 एसियाडको तयारीका लागि थाइल्यान्डमा रहेको नेपाली यू–२३ टिमले आफ्नो पहिलो अभ्यास खेलमा पराजित भएको छ। नेपालले पहिलो अभ्यास खेलमा स्थानीय क्लब पुलिस टेरोको ‘बी’ टिमसँग १–० को हार बेहोर्‍यो। नेपाल अभ्याससँगै केहि मैत्रीपूर्ण खेल खेल्न अहिले थाइल्यान्डमा छ।

मंगलबार स्थानीय क्लब पुलिस टेरोको ‘बी’ टिमसँग बोनयाचिन्दा स्टेडियममा खेलेको पहिलो अभ्यास खेलमा नेपाली टिमले पहिलो हाफमा गरेको आत्मघाती गोल नै हारका लागि पर्याप्त बन्यो। नेपालका डिफेन्डर आदित्य चौधरीले गोलको प्रयास बचाउनेक्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेपछि नेपाल १–० ले पछि परेको थियो। उक्त आत्मघाती गोल नै निर्णायक रह्यो। नेपालले सिनियर खेलाडीलाई भने आराम दिएको थियो।

नेपाली टिम एसियाड र साफ च्याम्पियनसिपको तयारीका लागि १० दिने विशेष प्रशिक्षणका लागि थाइल्यान्ड पुगेको हो। एन्फाले साफ र एसियन गेम्सका लागि २९ खेलाडीलाई थाइल्यान्ड अभ्यासमा पठाएको छ। दोस्रो अभ्यास खेलमा नेपालले शुक्रबार थाइल्यान्डको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट जकार्ता एसियाडका लागि इन्डोनेसिया प्रस्थान गर्नेछ।

१४ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा नेपालले समूह डीमा रहेर प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो समूहमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ। नेपालले पहिलो खेलमा १४ अगस्टमा जापानसँग र दोस्रो खेलमा १६ अगस्टमा भियतनामसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.