राहतमा विभेद, १२ मध्ये नौ परिवारले मात्र पाए

|

दमक (झापा) : कमल गाउँपालिका–२ मा गतको वर्ष बाढीबाट विस्थापितहरूले एक वर्ष बिते पनि घर बनाउन सकेका छैनन्। उनीहरु बाँस र जस्तापाताबाट बनाइएको टहरामै छन्।

बाढीबाट विस्थापितहरू क्रमिक रुपमा पीडाबाट तङ्ग्रिने प्रयासमा छन्। पीडितमध्ये केही स्वरोजगारीमुलक सीप सिक्दैछन्। केही सीप सिकेर आयआर्जनमा लागेका छन्। विस्थापित परिवारकी २१ वर्षीया भूमिका आङ्देम्बेले सिलाई कटाईको तालिम लिईन्। तालिमपछि उनलाई घरैमा बसेर पनि आम्दानी गर्ने बाटो खुलेको छ। ‘सिक्न त पहिला पनि अलि अलि सिकेको थिएँ तर बाढीले घर लगेपछि थप सिकेर घरैमा सिउन थालेकी छु,’ जस्तापाताको अस्थायी छाप्रोभित्र लुगा सिलाउँदै गरेकी उनले भनिन्, ‘धेरै नभए पनि अलि अलि आम्दानी हुन थालेको छ, यसले पनि घर व्यवहारमा निक्कै सहयोग पुग्न थालेको छ।’

यस वस्तीका अधिकांशको पेशा भनेकै मजदुरी हो। खेती नभएको र जागिरे पनि कोही नभएकाले मजदुरी गरेर गुजरा चलाउने गरेको नेत्र भुजेलले बताए। ‘मिस्त्री काम गरेर अलिअलि कमाइ गर्दैछु,’ उनले भने, ‘अब आफ्नो खेती भए पो खेतीपाती गरौं है भन्नु, केही छैन। अनि जे भेटिन्छ, त्यही काम गरिन्छ।’

खानै मुस्किल

गत वर्षको साउन अन्तिम साता कमलखोलामा आएको बाढीले कमल गाउँपालिका–२ का १२ परिवारको घरसहित सबै बगाएपछि उनीहरुको बिचल्ली भयो। 

‘सुकुमबासी परिवारको भएको सम्पत्ति नै त्यही घर थियो, घरै बाढीले लगे पछि के नै रह्यो र,’ बाढी पीडित परिवारकी वृद्धा सीता भुजेलले दुखेसो पोखिन्, ‘आँफै घर बनाउँ भने केही उपाय छैन, सरकारहरुले देलान् कि भनेर पर्खेको, पर्खिँदा पर्खिँदै फेरि बाढी आउन थालिसक्यो।’

टहराको बसाइमा ठूला मान्छे जसोतसो बसे पनि स–साना बालबालिकालाई जोगाउन मुस्किल रहेको उनीहरुको गुनासो छ। अढाई वर्षकी काखे नानीकी आमा जमुना आङ्देम्बेलाई यस्तै हैरानी छ। ‘अस्तीको जाडोमा पनि नानीहरु जोगाउनै कठिन भयो, जसोतसो हिउँद त काटियो अब बर्खामा के गर्नु हो,’ उनले भनिन्, ‘खोलाको डिलैमा घर छ, नानीहरु कहिले बाहिर निस्किएर कहाँ पुग्छ थाहै हुँदैन। पानी पर्न थाल्यो कि पीर भइहाल्छ।’

बाढी पीडितहरु अस्थायी छाप्रोको चिसो भुइँमा गुजरा गरिरहेका छन्। उनीहरूलाई केही संस्थाले सहयोग गरे पनि आर्थिक अभावका कारण घर बनाउन नसकेको स्थानीय बासिन्दा यज्ञ भुजेलले बताए। 

पीडितको अस्थायी वसोवासका लागि गाउँपालिकाले केही सहयोग गरेको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए। सरकारको तर्फबाट र केही दाताले दिएको सहयोगले घर निर्माणको काम सुरु भए पनि पूरा नभएको उनको भनाइ छ। 

पीडितको गुनासो 

वस्तीका १२ पीडित परिवारमध्ये नौ परिवारले मात्र राज्यबाट पाउने २५ हजार रुपैयाँ सहायता पाएका छन्। राहत पाउनेलाई त्यसले केही भरथेग गर्न र घर बनाउन सहयोग भयो। तर, बाँकीले त्यो पनि नपाएको बस्ती पुनर्निर्माण समितिका संयोजक प्रताप सुब्बाले बताए।

‘१२ मध्ये नौ परिवारले मात्र पूर्ण विस्थापित भनेर रेडक्रसले भनेछ, त्यसैलाई सदर मान्दा बाँकीले राहत पाउन सकेनन्,’ उनले भने, ‘मैले नै पाइन नि, पीडा सबैको उस्तै छ। कम्तीमा सरकारी राहतमा चाहिँ विभेद नगरिदिएको भए हुन्थ्यो।’

वस्ती पुनस्र्थापनाका लागि विभिन्न संस्थाहरुले सहयोग गरेका छन्। घर र चर्पी निर्माणका लागि विश्व लुथरन फेडरेशन मार्फत लुथरन सामुदायिक कल्याण समाज, एनएमबी बैंक, विदेशमा बस्ने नेपालीलगायतले सहयोग गरे पनि पर्याप्त नभएको पुनर्निर्माण समितिका संयोजक सुब्बाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.